काठमाडौं- निजी विद्यालयहरुले मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्मले बढाउने भएका छन् । काठमाडौं महानगरपालिकाले २७ प्रतिशतसम्म शुल्क बढाउन स्विकृति दिएपछि विद्यालयहरुले शुल्क बढाउन लागेका हुन् ।
महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन पाउनेगरी नयाँ शुल्कदर तोकेको हो।
नयाँ शैक्षिक सत्र वैशाख २ गते सुरु हुनेछ। महानगरभित्र सञ्चालित ६४५ निजी विद्यालयमा अब नयाँ शुल्कदर कार्यान्वयन हुने महानगर शिक्षा विभागकी प्रमुख निर्मला केसीले बताइन्। काठमाडौं महानगरभित्र ७३६ विद्यालय सञ्चालनमा छन्।
संघीय सरकारले मुलुकमा निजी र सरकारी शिक्षा समायाजन गरी एकैखाले शिक्षाको व्यवस्था गर्न संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको वेला स्थानीय सरकारले निजी विद्यालयलाई शुल्क बढाउन छुट दिएपछि विरोधाभाष देखिएको छ।
नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४