काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नयाँ पत्रिकाले मेलम्ची खानेपानी आयोजनामा सवा २ अर्ब भ्रष्टाचार भएको विषयलाई मुख्य समाचार बनाएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको हो । महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ ।
आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि महालेखाले औँल्याएको छ । महालेखाका अनुसार मेलम्ची आयोजनामा परामर्श सेवाका लागि मात्र पाँच अर्ब २६ करोड ६० लाख खर्च गरिएको छ । मेलम्चीका नाममा अहिलेसम्म २५ अर्ब २० करोड खर्च भएको छ । त्यसमध्ये आयोजना निर्माण (सिभिल वर्क)मा भने १७ अर्ब ९८ करोड मात्र खर्च गरिएको छ । प्रशासनिकतर्फ ७२ करोड ५४ लाख खर्च भइसकेको छ ।
यस्तै प्रयोग भएका निर्माण सामग्री र निर्माण कार्यसमेत तोकिएको मापदण्डअनुसार नभएको महालेखाको ठहर छ । मेलम्ची आयोजनामा दुई अर्ब २० करोड भ्रष्टाचार र १६ करोड २८ लाख अनियमितता भएको निष्कर्षसहितको लेखापरीक्षण प्रतिवेदन महालेखाले राष्ट्रपतिलाई बुझाउने तयारी गरेको नयाँ पत्रिकाले लेखेको छ ।
यस्तै नयाँ पत्रिकाले प्रहरी प्रशासन लगाएर वीर अस्पतालको सेवा सञ्चालन गरिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । आन्दोलनरत डाक्टरहरुमाथि प्रशासनले बल प्रयोग गरेर अस्पताल खुलाउन लगाएको हो । प्रशासनले माइकिङ गरेर बोलाएपछि जम्मा भएका डाक्टरले आँगनमै बिरामी हेरेको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकले भने उडानमा भद्रगोल शीर्षकमा मुख्य समाचार छापेको छ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडानमा एकपछि अर्को गर्दै चरम लापरबाही देखिन थालेको छ ।
नोटाम जारी भएको १७ मिनेटपछि समेत फ्लाई दुबईलाई उडान अनुमति दिइएको छ । यस्तै ट्याक्सी वेमा पुगेको जेटको विमानमा पाइलटले इन्धन अभाव भएको जनाउँदै पुनः पार्किङमा ल्याई तीन यात्रु थप्न दिइएको छ। नेपाल वायु सेवा निगमको २७४ यात्रुसहित दुबई उड्नु पर्ने वाइडबडी ११ घण्टा पछि उडेको छ। यी सबै घटनाक्रमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कति धेरै लापरबाही हुन थालेको छ भन्ने प्रष्ट पारेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने अन्तरिक्षमा रहेको भूमरी अर्थात ब्याल्याक होलको तस्बिर लिन बैज्ञानिकहरु सफल भएको विषयलाई मुख्य समाचार बनाएको छ। यसको खोजीमा सन् २०१२ देखि २ सय बैज्ञानिक लागि परेका थिए ।
यस्तै अन्नपूर्णले सरकारले आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको विषयलाई पनि प्राथमिकता साथ छापेको छ ।
बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका चुनौती एवं खतरा रहेको उसको विश्लेषण छ। तिनको नियन्त्रणका लागि सरकारले राष्ट्रिय सुरक्षा मजबुत बनाउने र एकताको भावना बढाउने पहल थालेको समाचारमा उल्लेख छ ।
मुलुकमा हुन सक्ने हवाई आक्रमणलाई पनि सार्वभौमिकता र स्वतन्त्रताको चुनौतीरखतरामा राखिएको छ। खुला सीमालाई पनि अर्को खतराका रूपमा सरकारले लिएको छ। जातीय, क्षेत्रीय र धार्मिक अतिवादलाई पनि सरकारले सुरक्षा खतराका रूपमा लिएको छ। अन्तर्रासष्ट्रय र क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तनलाई पनि सुरक्षा खतराका रूपमा चित्रण गर्दै त्यसमा सहकार्य आवश्यक रहेको बताइएको छ।
नागरिक दैनिकले भने भने भारतमा आज पहिलो चरणको मतदान हुन लागेको र चिकित्सकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल चिकित्सक संघले वृहत छलफल गर्न लागेको विषयलाई प्राथमिकताका साथ छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४