बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • त्रासमा कर्णालीका कैदीबन्दी : भवन जीर्ण, संख्या दोब्बर

त्रासमा कर्णालीका कैदीबन्दी : भवन जीर्ण, संख्या दोब्बर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- गत मंगलबार राति डोल्पा कारागारको पर्खाल भत्किँदा कारागार प्रशासनलाई सुरक्षा चुनौती थपियो । तर कैदीबन्दीलाई भने भवन भत्किएर मरिएला भन्ने त्रासले सतायो । कैदीबन्दी रातभर जाग्राम बसे । वर्षाका कारण पर्खाल भत्किएको थियो । पानी रोकिएपछि उनीहरू त्यहीँ सुते ।

कैदीमा त्रास हटेको छैन । हावाहुरी चल्दा होस् या आकाशमा कालो बादल मडारिँदा कैदीलाई भवनकै चिन्ता छ । २०२५ सालमा भनेको भवन निकै जीर्ण छ । ठाउँ–ठाउँमा चिरा परेको भवन कतिबेला भत्किने हो कुनै ठेगान छैन ।

जीर्ण भवनमा अटाइ–नअटाइ बस्नुपर्ने बाध्यतामा छन् कैदीबन्दी । जिल्ला कारागार कार्यालयका प्रमुख जेलर दिनेशकुमार रावतका अनुसार २० जना क्षमताको कारागारमा ३१ जना छन् । त्यसैले उनीहरूलाई खान, बस्न र सरसफाइमा समस्या छ ।

सुर्खेत कारागारको अवस्था पनि उस्तै छ । भवन अभावमा वर्षांदेखि त्रिपालमुनि बस्न बाध्य छन् कैदीबैन्दी । त्रिपाल झुप्राले पुसमाघ जाडो, जेठवैशाख गर्मी र असारेझरी छेक्न हम्मेहम्मे पर्छ । पानी परेको दिन त सुत्ने ठाउँ नै भिजेको हुन्छ । शौचालयको लाइनदेखि खाना र बस्न समस्या उस्तै छ । तर ४६ वर्षदेखि कारागारको स्तरोन्नति हुन सकेको छैन ।

२०२९ सालमा निर्माण भएको सुर्खेत कारागारमा कैदीबन्दीको संख्या दिनप्रतिदिन बढ्दो छ । तर भवन निर्माणमा भने राज्यको ध्यान पुग्न सकेको छैन । ५० जनाको क्षमता भएको कारागारमा अहिले दुई सय २६ जना कैदीबन्दी छन् । कारागारमा ४० जना पुरुषको क्षमता हो तर अहिले ५३ जना थुनुवा र एक सय ४७ जना कैदी गरी दुई सय बस्न बाध्य छन् । १० जना महिला अट्ने कारागारमा ३ जना थुनुवा, २१ जना कैदी र २ जना नाबालकसहित २६ छन् ।

सल्यान कारागारको अवस्था पनि त्यो भन्दा कम छैन । भवन मात्रै होइन चर्पीसमेत अभाव छ । कारागारभित्र ८६ जना पुरुष कैदीबन्दीले एउटै चर्पी प्रयोग गर्नुपर्छ । पुरुष र महिला बन्दीका लागि छुट्टाछुट्टै २ वटा चर्पी छन् । ३ जना नाबालकसहित ३० जना महिला बन्दीका लागि पनि एउटा मात्रै शौचालय छ ।

कर्णालीका अधिकांश कारागारको अवस्था उस्तै छ । जहाँ जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदी बस्दै आएका छन् । क्षमताले धान्नै नसक्ने गरी कैदी हुँदा पिउने पानीदेखि जिउने आवासको अभाव छ ।

कुन जिल्लामा कति छन् कैदी ?

कर्णालीका जीर्ण कारागार भवनमा कैदीको संख्या प्रायः सबै ठाउँमा क्षमताभन्दा दोब्बर छ । जाजरकोटका कारागारका जेलर तेजविक्रम शाहका अनुसार २० जना क्षमताका कारागारमा अहिले ४३ जना थुनुवा र कैदीबन्दी छन् । जाजरकोटमा पनि भवनको अवस्था उस्तै जीर्ण छ । कारागारभित्र सानो ठाउँसमेत नहुँदा केही दिनअघि स्थापना गरिएको पुस्तकालय एउटा घुम्तीमा राख्नुपर्ने बाध्यता छ ।

रुकुम पश्चिमको अवस्था पनि जाजरकोट समान रहेको छ । कारागारका जेलर लोकबहादुर घर्तीका अनुसार २५ जना क्षमताको कारागारमा अहिले एक सय थुनुवा र कैदी छन् । सल्यानका निमित्त जेलर डम्बर विष्टका अनुसार २५ जना क्षमताको कारागारमा तीन नाबालकसहित एक सय १६ जना थुनुवा र कैदी छन् ।

कालिकोटमा पनि क्षमताभन्दा दोब्बर कैदी छन् । २५ जना क्षमताको कालिकोटमा ५ जना महिला र ५९ जना पुरुष गरी ६४ जना कैदी छन् । २० जनाको क्षमता भएको डोल्पामा ३१ जना, ५० जनाको क्षमता रहेको सुर्खेतमा २ सय २६ कैदी छन् । मुगु र हुम्लाका कारागार नै छैन भने दैलेख र जुम्लामा कैदीलाई केही सहज छ ।

प्रदेशकै उत्कृष्ट मानिने दैलेख कारागारमा ८० पुरुष र २० जना महिला गरी एक सय जनाको क्षमता छ । दैलेखका प्राविधिक सहायक ओम रेग्मीका अनुसार १ सय ९ पुरुष र १६ महिला र ३ जना नाबालकसहित १ सय २८ जना थुवा र कैदीबन्दी छन् ।

जुम्लाका कैदीलाई पनि केही सहज छ । जिल्ला कारागार जुम्लाका निमित्त जेलर शुक्रराज शाहीका अनुसार १ सय २० क्षमताको कारागारमा अहिले ८८ जना कैदीबन्दी छन् ।

कारागारको अवस्था यस्तो दयनीय हुँदा पनि भवन निर्माणमा भने राज्यले उचित कदम चालेको छैन । ठेगेदारको लापरबाहीका कारण सुर्खेत र डोल्पा कारागार भवन निर्माण अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि कारागारको भवन निर्माण गर्न तीन करोड ४३ लाख रकम विनियोजित गरेको छ । सल्यान, सुर्खेत, कालिकोट, रुकुम पश्चिम र जुम्लामा कारागार भवन निर्माणका लागि अहिलेसम्म टेन्डर भएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।