काठमाडाैं - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः लोडसेडिङ ब्युँताउने खेल सुरु भएको बताएका छन्। घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको बताए।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको आरोप लगाए। ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्', उनले भने, 'हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ।’
विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार गरिरहेको आरोप घिसिङले लगाए। विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै उनले प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर आफ्नो छवि धमिल्याउने प्रयास भैरहेको बताए। उनले विगतमा प्राधिकरण डुबाएका व्यक्तिले सहज रुपमा आफूलाई काम गर्न नदिइरहेको आरोप लगाए। ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्', उनले भने, 'उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन।’
गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै आफूविरुद्ध दुष्प्रचार भएको उनले बताए। घिसिङले भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो।’ प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्ने घिसिङले बताए।
आफूविरुद्ध प्राधिकरणभित्रकै केही कर्मचारीको लागिपरेको उनको दाबी छ। आफ्नो काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको कसैकसैलाई नपचेको बताए। प्राधिकरणलाई ध्वस्त पार्ने गिरोहलाई नछोडिने घिसिङले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४