शुक्रबार, वैशाख १४, २०८१

यसरी बग्छ वाग्मतीमा प्रतिसेकेण्ड ४० लिटर पानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – हरेक साता वाग्मती नदीको सफाइ अभियान चल्छ। सफाइका लागि विभिन्न सङ्घसंस्था तथा स्वयंसेवीसमेत परिचालित हुन्छन्। फोहर सङ्कलन भएको टनटनको हिसाब पनि सार्वजनिक हुने गरेको छ। तर वाग्मती सधैँ उस्तै फोहोर नै छ। नदीका रुपमा भन्दा पनि ढलका रुपमा वाग्मती नदीले आफ्नो परिचय दिँदै आएको छ। 

अव्यवस्थित शहरीकरणका कारण ढलको पानी सिधै नदीमा मिसाउने प्रचलनका कारण नदीले नदीको परिचय दिन सकेको छैन। नदीमा पानीको मात्राभन्दा फोहरको मात्रा बढी रहेको छ। जसका कारण हरेक साता आयोजना हुने सफाइ अभियानले तात्विक फरक पार्न सकेको छैन। स्वच्छ पानी अभाव र मानवीय ज्यादतिका कारण नदीले फोहोरबाट मुक्ति  पाउन सकेको छैन। 

नदी मानव सभ्यतासँग जोडिएको छ। संसारका धेरैजसो शहर र सभ्यता नदीसँग सम्बन्धित हुन्छन्। काठमाडौं उपत्यकको मानव सभ्यतासँग जोडिएको वाग्मती मानव अतिक्रमणको चपेटामा परेका कारण फोहर मात्रै भएको छैन, सभ्यता नै हराउने चिन्ता पनि बढ्दै गएको छ। हरेक साता आयोजना गरिने सफाइ अभियानले सफलता पाउन नसक्नुका कारण पनि नदीमा वैकल्पिक पानीको स्रोत नहुनु पनि हो। 

ढल प्रशोधनका लागि सरकारले कार्यक्रम अगाडि नबढाएको पनि होइन तर हालसम्म वाग्मती नदीको अवस्था फेरिन सकेको छैन। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता कार्यकर्तादेखि कलाकार, स्वयंसेवीसमेत नदी सफाइमा जुटेका छन्। तर नदी किनारमा अव्यवस्थितरुपमा निर्माण भएका बस्तीका कारण सफाइ अभियान चल्दै गर्दा पनि नदीले आफ्नो स्वरुप पाउन सकेको छैन। फोहोर थुप्रने क्रम जारी छ। उपत्यकावासीको फोहोरी संस्कृतिमा कुनै परिवर्तन देखिएको छैन। 

प्राणीको जीवन मात्र होइन, उनीहरुका धर्म, संस्कृति र  परम्परा पानीसँगै जोडिएको छ। छठ, शिवरात्रिजस्ता पर्वमा समेत फोहर पानीमा नै धार्मिक कार्यक्रम गर्नुपर्ने बाध्यता छ। वर्षौदेखि हिन्दू धर्मका आराध्य देव पशुपतिनाथ आफ्नै काखबाट बग्ने नदीको दूरावस्था हेरेर बस्नुपरेको छ। 

यस्तो विषम अवस्थाको अन्त्यका लागि सरकारले वाग्मती नदी जलाधार संरक्षण आयोजना अगाडि बढाएको छ। काठमाडौँको गोकर्णेश्वेर नगरपालिका वडा नं १ को धापमा वाग्मती नदीमा नियमितरुपमा स्वच्छ पानी बगाउने लक्ष्यका साथ काम भइरहेको छ। कूल रु ५१ करोड लागतमा सो आयोजना निर्माणको चरणमा रहेको छ। बाग्मतीमा स्वच्छ पानी बगाउने अभिप्रायले काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा पर्ने धाप भन्ने स्थानमा १४ हेक्टर क्षेत्रफलमा फैलिएको पोखरी निर्माण भइरहेको छ। सो पोखरीमा वर्षायामको पानी जम्मा पार्ने र हिउँदको समयमा प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मती नदीमा बगाउने सरकारको योजना छ। 

सुन्दरीजलबाट सडकमार्ग हुँदै २१ किलोमिटर दूरी तय गरेपछि समुन्द्री सतहबाट दुई हजार ९५ मिटरको उचाइमा रहेको धापमा पुग्न सकिन्छ। जेठ, असार, साउन र भदौमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने सो क्षेत्रमा तीन हजार मिलिमिटर वर्षा हुने गरेको छ। वर्षाको पानी सङ्कलन गर्ने र त्यसलाई हिउँदको समयमा नियमित पानी बगाएर वाग्मती नदीको मुहार फेर्ने योजनामा सरकारको छ। सो पोखरीमा १२ लाख ८५ हजार घन मिटर पानी जम्मा हुनेछ। कूल २४ मिटर उचाइको बाँध निर्माण हुनेछ। पोखरीमा एउटा ठूलो पोखरी र अन्य मझौला खालका दुई वटा पोखरी निर्माण भइरहेको छ। सो परियोजनाको काम गोन्जाऊ–लामा–रमन जेभीले गरिरहेको छ। 

वाग्मतीमा स्वच्छ पानी बगाउने लक्ष्यका साथ भइरहेको कामको प्रगति बुझ्न शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सिँचाइ सचिव डा सञ्जय शर्मा, सिँचाइ विभागका उच्च अधिकारी र आयोजना प्रमुखले आयोजनास्थलको स्थलगत निरीक्षण गरे। 

निर्माण व्यवसायीले डिजाइन पनि आफैँ गरेको छ भने निर्माणको काम पनि सँगसँगै गरिरहेको छ। आयोजनाको हाल करीब ६० प्रतिशत निर्माण सकिएको छ। निर्माण व्यवसायीले वाग्मती नदीको महत्वलाई आत्मसात् गरेर कामलाई तीव्रता दिएको छ। तर सुरुको डिजाइनमा केही परिवर्तन भएका कारण निर्माण सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको छ। निर्माण व्यवसायी रमन कन्स्ट्रक्सनका रमन महतोले सन् २०२० को फेब्रुअरीसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 

भूकम्पले ध्वस्त पारेको धरहरासमेत पुनःनिर्माण गरिरहेको रमन कन्स्ट्रक्सनले मानव सभ्यतासँग जोडिएको वाग्मती नदीको जलाधार क्षेत्रमा काम गर्न पाउनु आफूहरुका लागिसमेत खुशीको विषय भएको बताएको छ। आयोजना प्रमुख नवराज सुवेदीले आयोजनाको काम युद्धस्तरमा बढिरहेको जानकारी दिए। नेपालमा नै पहिलोपटक कङ्क्रिट रक फिल ड्याम निर्माण भइरहेको र यो हालसम्मकै नयाँ प्रविधि भएको बताए। 

स्थलगत निरीक्षणपछि मन्त्री पुनले भने, 'तोकिएको समयमा आयोजना पूरा गर्नुस् र वाग्मतीमा स्वच्छ पानी बग्ने वातावरण बनाउनुस्।' मन्त्री पुन मन्त्रालयअन्तर्गतका जलविद्युत् परियोजना र सिँचाइका आयोजनाको निरीक्षणका लागि बिदाको दिनसमेत अनुगमनमा निस्कँदै आएका छन्। 

उनले आयोजनाको अवस्था र मन्त्रालयकोतर्फबाट गर्नुपर्ने सहयोगका बारेमा आयोजनाका अधिकारीसँग छलफल गर्नुभयो। मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भने, 'वाग्मती मानव सभ्यतासँग जोडिएकाले यो आयोजना समयमा सम्पन्न गर्नुपर्ने हुन्छ। यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौँ।' मन्त्री पुनले जिम्मेवारी पूर्ण तरिकाले काम गर्न निर्देशनसमेत दिए। आयोजनामा सबैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्नसमेत निर्देशन दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।