सुर्खेत – चैत्र २२ को शुक्रबार। साँझको करिव ५ बजेतिर आकाश निकै रिसायो। कालो निलो हुँदै हावाको बेगसँगै आएको बम–गोला भन्दा ठूलो आवाजमा गड्यागुड्डुङ गर्न थाल्यो। क्षणभरमै टाउँको फुट्ने गरी असिनाको वर्षा भयो। यही असिना पानीसँगै सुरु भयो कर्णाली राजमार्गको पीडा।
चैते झरीलेनै राजमार्ग अवरुद्ध भन्दा र सुन्दा विश्वास नलाग्छ। तर, घटना वास्तविक नै हो। यही असिना पानीले कर्णाली राजमार्गका विभिन्न ठाउँमा ठूलै पहिरो ल्यायो। रत गगने खोलामा ड्राइभरले ब्रेक लगाउनु पर्यो।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षाका कारण पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रमणकुमार महत्तराले दिएको जानकारी अनुसार पहिरो पन्छाउनेकाम जारी रहेको छ। ‘बिहानैदेखि पहिरो पन्छाउने काम भैरहेको छ।’ इन्जिनियर समेत रहेका महत्तराले भने ‘पानी परेन भने आज रातीसम्म पहिरो पन्छाउँछौं।’ शुक्रबार रातीदेखि गएको पहिरो दुईवटा स्काभेटरले पन्छाई रहेका छन्।
राजमार्ग अवरुद्ध भएपछि मुगु, जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र काठमाडौंजाने सयौं यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्। पहिरोले गन्तव्य रोकिएपछि यात्रुहरु जितेगडा, हुल्मबजार, दहीखोला र गगनेखोला आसपासका बिश्राम लिएका छन्। पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले डोजर र स्काभेटर लगाएको छ। सडक डिभिजनको टोलीलाई जिल्ला प्रहरी कार्यालय कालिकोट खटिएको प्रहरी टोलिले समेत सहयोग गरिरहेको छ।
गगने खोलामा हरेक वर्ष झण्डै ४० मिटर लामो पहिरो जाँदै आएको छ। भिरालो जमिन भएकै कारण वर्षाैदेखि गगन खोलाको पहिरोले यात्रुहरुलाई दुःख दिँदै आएको छ। तर, यसको सही व्यवस्थापनका लागि भने लाखौं रकम खर्च हुने सडक डिभिजन कार्यालयको भनाई छ।
उसो त कर्णाली राजमार्गमा आउने बाढी र पहिरो पन्छाउन राज्यले वर्षेनी करौडौं रकम खर्च गर्दै आएको छ। सुर्खेत–जुम्ला २ सय ३२ किलोमिटर खण्डमा पहिरो पन्छाउने र ममर्त सुधारमा आजसम्म लागेको रकमको हिसाव किताव निकै लामो छ।
साघुरो रोडका कारण कर्णाली राजमार्गको दहीखोला र गगनेखोलासँगै कालेखोला, सेरी घाट, सुनार खोला, मान्म ताडीको डाँडा, सिम्लेगाड, पिली, खल्लागाड, राचुलीलगायत दर्जनबढी ठाउँमा पहिरोले सास्ती दिँदै आएको छ।
कर्णालीको आर्थिक समृद्धिसँग जोडिएको यो राजमार्ग अन्तः कर्णालीवासीका लागि सधै पीडाको विषय बन्दै आएको छ। साँघुरो बाटो त्यहीमाथि वर्षायाममा आउने पहिरोले जोखिम मोलेर कर्णालीवासी यात्रा गर्न बाध्य छन्। उसो त दर्जनबढी खोलाहरुमा पुलहरु बन्न सकेका छैनन्। जसले गर्दा भेल आएको समयमा अलपत्र पर्नुको विकल्प हुँदैन यात्रुहरुका लागि।
सुर्खेतदेखि जुम्लासम्म एक दिनको बाटो वर्षायाममा भने हप्तादिनसम्म लाग्ने गरेको छ। त्यही मौकामा होटल व्यवसायीले खानका नाममा यात्रुबाट चर्कों मूल्य अशुल्दै आएका छन्।
तर, कर्णाली राजमार्गलाई नेताहरुले भने वर्षाौंदेखि चुनावी मसला बनाउँदै आएका छन्। राजमार्गको स्तरोन्तीको विषय नेताहरुले प्रमुख चुनावी एजेण्डा बनाए पनि वर्षाौंदेखि राजमार्गको हालत भने उस्तै रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४