शनिबार, वैशाख ८, २०८१

गुटबन्‍दीले दलदलमा फस्दै कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - चैत २० र २१ गते काठमाडौंको ठमेलस्थित होटल काठमाडौंमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला सम्पन्‍न भएको छ। बुधबार ३४ जना सभापतिहरु जम्मा भएको भेलामा भोलिपल्ट अर्थात् २१ गते ५४ जना सहभागी भएका थिए। भेलामा सहभागी सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा महासमितिका निर्णय उल्ट्याएको भन्दै निर्णय नसच्‍याए पार्टीको विषेश महाधिवेशनका लागि हस्‍ताक्षर अभियान सुरु गर्ने चेतावनी दिएका छन्। 

११ औं  महासमिति बैठकको समापन कार्यक्रममा पुस ९ गते सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्यालले केन्द्रीय सदस्य समेत वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने तथा समानुपतिक सहभागिता एकपटकका लागि मात्र लागू हुने भद्र सहमतिले कांग्रेस र आमकार्यकर्तामा एक किसिमाको उत्साह थपियो। तर,  देश बिदशबाट सहभागी करिब २ हजार महासमिति सदस्यको अगाडि जनाइएको प्रतिबद्धता दुई महिनासम्म पनि टिक्न सकेन।

कांग्रेस केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्‍न पाउने समावेशी सहभागिता पुरानै व्यवस्थाअनुसार हुने निर्णयसँगै कांग्रेसमा विवाद उत्पन्न भएको छ। महासमिति सदस्य समेत रहेका जिल्ला सभापतिहरुले मंसिर ९ गते सम्पन्न महासमिति बैठकमा घोषणा भएका विषय केन्दीय समितिले उल्ट्याएको भन्दै निणय नसच्याए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने सम्मको चेतावनी दिँदै चैत २३ गते बस्ने केन्द्रीय समिति बैठकमा लिखित ध्यानाकर्षण गराउने जनाएका छन्।

उता संस्‍थापन पक्षले भने यो बैंठकलाई पार्टीको बिधिविधान विपरितको भेला भन्दै अनुशासन भंग गरेको अरोप लगाएको छ। यो किचलोले पार्टीमा थप गम्‍भिर रुप लिने भन्दै कार्यकर्तामा निरासा छाइरहेको छ।

यसै बीचमा नेपाल समयले पछिल्लो समय काठमाडौंको होटलमा भेला भएका जिल्ला सभापतिहरुलाई पार्टीको विधानविपरीत किन भेला गर्नुभयो भन्दै प्रश्न गरेको छ :

सञ्जय गौतम जिल्ला, सभापति बर्दिया

पार्टीको जिल्ला सभापतिको बैठक गर्ने हाम्रो पुरानो परम्परा हो। गिरिजा बाबुको पालादेखिकै हो। हेटांैडादेखि ककनीसम्मको बैठक तपाईंलाई थाहा छ। महासमिति बैठकमा विशेष गरी जिल्ला सभापतिहरुले नै दुईवटा विषय उठान गरेका थियौंं। केन्द्रीय सदस्य पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने तथा समानुपातिक सहभागिता एक पटकका लागि मात्र पाउने। यी दुई एजेन्डालाई देशभरबाट आउनुभएका साथीहरुले समर्थन गर्नुभयो। महासमितिले पनि त्यसलाई स्वीकार गर्‍यो। महासमिति बैठकले नै अपनत्व ग्रहण गरेको विषय केन्द्रीय समितिले एकाएक हटायो। त्यसले कांग्रेसका आमकार्यकर्ताको साथै देशभर एउटा तरंग उत्पन्न गरेको छ। 

यस विषयमा विभिन्न चरणमा समीक्षा बैठक पनि भएका छन्। मुलुक संघीय संरचनामा गइसके पनि कांग्रेसको त्योअनुरुपको संरचना बनिसकेको छैन। नेविसंघ विघटित अवस्थामा छ। महिला संघ खोज्नुपर्ने हालतमा छ। किसान संघको हालत पनि उस्तै छ। कांग्रेसको शुभेच्छुक संस्थाको उपस्थित पनि सन्तोषजनक छैन। संगठनलाई धारिलो बनाएर लैजानुपर्ने अवस्थामा पार्टीमा विवाद देखिनु राम्रो होइन। यिनै विषयलाई सही रुपमा कसरी अगाडि बढाउन सकिन्छ र केन्द्रीय नेतृत्वलाई कसरी दवाब सिर्जना गर्न सकिन्छ भन्नेबारे हामीले  छलफल गरेका हौं।

 भुवनप्रसाद श्रेष्ठ, सभापति गुल्मी

यो भेला कुनै गुटउपगुटको हैन। हामीले सबै जिल्लाका सभापतिहरुलाई भेलामा बोलाएका थियौं। अधिकांश जिल्ला सभापतिहरु उपस्थित हुनुभएको छ। केही उपस्थित हुन नसकेकाहरुले समेत बैठकमा ऐक्यबद्धता जनाउनुभएको छ। यो बैठकले अनुशासनको पार्टीको कुनै विधिविधान उल्लंघन गरेको छैन बरु महासमितिले पारित गरेका एजेन्डा केन्द्रीय समितिले उल्टाएको छ। के त्यो अधिकार उहाँहरुलाई छ ? अनुशासनको कारबाही उहाँहरुलाई पनि त लाग्ला नि।  

त्यसैले हामीले पार्टीलाई कमजोर पार्ने हैन थप मजबुत कसरी पार्न सकिन्छ भनेर छलफल अगाडि बढाएका हौं। नेपाली कांग्रेस प्रजातन्त्रको पर्यायवाची पार्टी हो। प्रजातान्त्रिक संस्कार र पद्धति के शीर्ष नेतृत्वले मान्नु पर्दैन। जिल्लामा कहिले आउनु नपर्ने ? जिल्लाका कार्यकर्ता जनताले देख्न र चिन्नसमेत नपाउने, सधैं केन्द्रमा बसेर नेता बनिरहने यो कस्तो पद्धति हो ? लोकतान्त्रिक पार्टीको यो संस्कार जायज हो ? हामीले पार्टीलाई विधिविधानअनुसार चल्न दबाब दिने उद्देश्यले भेलाको आयोजना गरेको हौं।

जगदीश्वर नरसिंह केसी, नुवाकोट सभापति

यो हाम्रो भेलाको विषय बाहिर कसरी प्रस्तुत भएको छ त्यो हामीलाई थाहा छैन। संस्थापन इतर वा पक्षीय भन्ने कुरा हैन। हाम्रो उद्देश्य नेपाली कांग्रेसलाई कसरी सुदृढ गर्ने र सबै सभापतिहरुबीचमा कसरी एकता स्थापित गर्ने भन्ने हो। यसमा हामीले यो गुट त्यो गुट भनेर चिनेका पनि छैनौं, त्यसरी बुझेका पनि छैनौं तर हामीले उठाएका एजेन्डाका विषयविपरीत केन्द्रीय समितिले निर्णय गर्‍यो भनेर सभापतिहरुले कुरा उठाउनुभयो। 

बहुमतका आधारमा हामीले उठाएका निर्णय केन्द्रीय समितिले जसरी लत्याउने काम गर्‍यो त्यसपछि हामी देश भरका सभापतिहरु बाध्य भएर एक ठाउँमा बसौं, छलफल गरौं भनेर भेला भएका हौं।  २० र २१ गते गरि ५४ जना जिल्ला सभापतिहरुको उपस्थिति भयो र हामीले निचोडमा फागुन २१ गते ५६ जिल्लाका सभापतिहरुले निकालेको वक्तव्यमा विशेष महाधिवेशनसम्म जाने भन्ने पनि थियो। तर केन्द्रीय समितिले हाम्रा दुईटै एजेन्डा विपरीत गरेका निर्णय नसच्याए विशेष महाधिवेशनमा जान पर्ने परिस्थिति सिर्जना नहोस् भन्ने बैठकको निचोड रह्यो।

पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि कारबाही गर्ने हो भने त हरेक टोलमा हुने यस्ता छलफलमाथि पनि कारबाही होला। मलाई त्यस्तो लाग्दैन यो कारबाही गर्ने कुरा कसैले भनेको छ जस्तो मलाई लाग्दैन। अनुशासनको कारबाही सबैलाई हुनुपर्छ। ओलाङचुङगोलामा बस्ने साधारण सदस्य र कांग्रेसको स्वयं सभापतिले समेत पार्टीको विधिविधान मिचे कारबाही गर्नुपर्छ। ५४ जिल्लाका सभापतिले पार्टीको हित कसरी गर्न सकिन्छ भनेर संगठनका लागि छलफल गर्दा के को अनुशासनको कारबाही ? हामीले के अनुशासनविहीन काम गर्‍यौं ?

सुवुज बानियाँ काठमाडौं, जिल्ला सभापति कांग्रेस

हाम्रो यो बैठक कसैको पक्ष विपक्षमा हैन। यसमा संस्थापन पक्ष र विपक्ष भन्नु गलत हो यो। कुनै पक्षलाई कमजोर बनाउन र कसैलाई बलियो बनाउने विषयमा भएको भेला हैन। बरु यो भेला नितान्त पार्टीका वर्तमान समस्या समाधान गर्न  पार्टीलाइ थप ऊर्जाशील बनाउन गिरेको साख माथि उकास्न गरिएको बैठक हो। हामीले विगतका तिनै तहको निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौं। यत्रो इतिहास बोकेको पार्टी, जसले विगतदेखि वर्तमानसम्म आन्दोलनको नेतृत्व गर्‍यो र ऐतिहासिक संविधान दियो। तर जनमतमा जाँदा पार्टी किन पछाडि पर्‍यो? 

यसमा जिल्ला नेतृत्व गरेका हामी जस्ताको पनि कमजोरी होला। हामीले पनि केही गर्न सकेनौं होला ? नेतृत्व तहबाट पनि केही कमजोरी भयो भन्ने बुझाइलाई स्पष्ट पार्न र पार्टी भोलिका दिनमा सुदृढ भएर अगाडि बढोस्। भोलि आउने पुस्ताले पनि यसलाई ग्रहण गरोस्, नेतृत्वले हामीलाई दिएका जिम्मेवारीलाई हामीले पनि सहज रूपमा ग्रहण गर्ने वातावरण निर्माणका लागि त्यसको खोजी गर्ने उद्देश्यले यो बैठक आह्वान गरिएको हो। यसमा कुनै पूर्वाग्रह राखेर पार्टीका शीर्ष नेतृत्वलाई निस्तेज पार्नका लागि वा पार्टीलाई अवरुद्ध पार्नका लागि गरिएको हैन बरु यो बैठक पार्टीलाई थप मजबुत पार्न गरएको हो।

केही सञ्चारमाध्यमले यसको गलत प्रचार गरेका छन्। भेलामा ७७ जिल्लाका जिल्ला सभापतिलाई बोलाइएको थियो। पार्टी अधोगतिमा गइरहेका बेला यसलाई रोक्नुपर्छ र त्यसको समाधान गर्नुपर्छ भनेर हामीले छलफल अगाडी बढाएका हौं।

जितनारायण श्रेष्ठ, चितवन जिल्ला सभापति

आमकार्यकर्ताको भावनाअनुसार केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचन भएर आउनुपर्छ र आरक्षण कोटामा एकजनलाई एकपटक मात्र मौका दिनुपर्छ भन्ने विषय ११ औं महासमिति बैठकमा पटकपटक उठ्यो। यस विषयलाई पार्टीका शीर्ष नेतृत्वले समेत प्रतिबद्धता दियो। हामी नेताले भनेका कुरा ढुंगाको अक्षर ठान्छ‌ौं। कांग्रेसको इतिहास पनि त्यही हो। 

नेताहरुले महासमिति बैठकमा प्रतिबद्धता जनाउनुभयो र हामीले त्यो पारित भएको ठान्यौं तर त्यो निर्णयलाई पार्टीको केन्द्रीय समितिले एकाएक उल्ट्याउने काम गर्‍यो, जुन नेपाली कांग्रेसका आमकार्यकर्ताको भावनाविपरीत थियो। हामी कुनै असन्तुष्ट पक्षकाहरुले बैठक गरेका होइनौं। महासमिति बैठकले पारित गरेका ऐजेन्डाहरु केन्द्रीय समितिले अक्षरसः पालना गर्नुपर्छ। महासमिति भन्दा केन्द्रीय समिति ठूलो हैन, महाधिवेशन पछाडिको कांग्रेसको सबैभन्दा ठूलो निकाय महासमिति बैठक हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।