काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक डाक्ने भएका छन् । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बिहीबार भएको छलफल पछि परिषद्को बैठक डाक्ने सहमति भएको हो ।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुको सुझावलाई मध्यनजर गर्दै यस्तो बैठक बोलाउन लागेको बालुवाटार स्रोतले बतायो। यस्तो बैठकमा स्थानीय निकाय, प्रदेश र केन्द्रको सहभागिता रहने छ। प्रधानमभन्त्रीले बैशाख १२ गतेभित्र समन्वय परिषदको बैठक बोलाउने आश्वासन दिएको प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले पत्रकारहरुलाई जानकारी दिए।
। मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् प्रदेश १ का मुख्यमन्त्री राईले पत्रकारहरुसँग भने, ‘अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ बुँदे सहमति भएको थियो । त्यसको कार्यान्वयन एकदमै कमजोर देखियो । ती निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ज्यूले पहल लिनुर्पयो भनेर हामीले ध्यानाकर्षण गरायौं ।’
गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।
यस्तै आजको बैठकमा आगामी बजेट र नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर छलफलको आयोजना गरेको उनको सचिवालले जनाएको छ ।
प्रधानमन्त्रीले बारा र पर्सामा आएको हुरी बतासबाट पीडित भएकाहरुलाई राहत तथा बसोबासको आवश्यक ब्यबस्था मिलाउनका लागि मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । त्यसैगरी मुख्यमन्त्रीहरुले केन्द्र सरकारको बजेटको ३३ प्रतिशत प्रदेशलाई उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए।
छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४