काठमाडौं- आज चैत २० गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
बाराको वेदना
बाराबासी भीषण हावाहुरीले मच्चाएको वितण्डाको वेदनामा छन्। आइतबार साँझ केही मिनेटको हावाहुरीका कारण बारामा सयौं घरबार विस्थापित भएका छन् भने कतिपयले आफन्त गुमाएका छन्।
फेटा गाउँपालिका–१ रामसुरत दास जिल्ला बाहिर थिए। गाउँमा भीषण आँधीबेरी गएको थाहा पाएपछि भोलिपल्ट गाउँ फर्किए। उनी घर पुग्दा श्रीमती मतिश्वरी देवी र बुहारी रीना देवी संसारबाट बिदा भइसकेका थिए।
पूर्वी तराईको बारा र पर्सा जिल्लामा हालै आएको हावाहुरीका पीडितलाई राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गर्यो। उक्त निर्णयको सबै पक्षबाट स्वागत भयो।
प्रदेश सरकारको उक्त निर्णय सार्वजनिक भएसँगै सुदूरपश्चिमकै केही घट्नालाई लिएर भने प्रदेश सरकारको आलोचना सुरु भएको छ। आफ्नो प्रदेश भित्र भएका घनाहरुमा प्रदेश सरकारले सहयोग त के नागरिकका पीडामा मल्हम लगाउनसमेत कुनै चासो नै नदिने गरेको भनेर टिकाटिप्पणी सुरु भएको छ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ । बुधबारदेखि यहाँ सुरु भएको दुई दिने भेलामा हावाहुरीबाट प्रभावित बस्तीमा जिल्ला सभापतिका तर्फबाट गर्ने सहयोग र राहतका विषयमा छलफल भएको रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए। आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट दुई दर्जन बढी व्यक्तिको निधन भएको थियो भने सयाैं घाइते भएका थिए।
धनगढी उपमहानगरपालिकामा करेन्ट लागेर दुईको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ मिलनचौकमा पर्शुराम बानियाको घरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियका ५ वर्षीय छोरा आयुश बानिया र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीकी ५ वर्षीया छोरी अनामिका चौधरीको मुत्यु भएको हो।
‘मनाङको त्यो कमजोर फिनिसिङ’
एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेडसँग पराजित हुनुको मुख्य कारण फिनिसिङ कमजोर भएको मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन् । उनले पाएको अवसरलाई कमजोर फिनिसिङकै कारण सहि सदुपयो गर्न नसक्नुनै आजको खेलको मुख्य कमजोरी रहेको प्रशिक्षक छिरिङ ले बताएका हुन् ।
एसियाली विकास बैंक (एडीबी) ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ। चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध र अस्तव्यस्त ब्रेक्जीटका कारण आर्थिक जोखिम बढेको बैंकको निष्कर्ष छ।
एसिया–प्रसान्त क्षेत्रका ४५ मुलुकहरु विकासशील एसियाली समूहमा रहेका छन्। एसियाली विकास बैंकको आर्थिक परिदृश्य प्रतिवेदनमा यस वर्ष यी मुलुकहरुको आर्थिक वृद्धि ५ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने उल्लेख छ। यस क्षेत्रमा सन् २०१८ मा ५ दशमलव ९ र सन् २०१७ मा ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरिएको थियो।
न्यायाधीश सिफारिस विवादले न्याय क्षेत्रमा जटिल रुप लिएको छ। यही प्रकरणले बुधबारदेखि सुरु भएको न्यायाधीश सम्मेलनसमेत विवादमा तानिएको छ।
आफन्त र कार्यकर्ता वकिललाई न्यायाधीशमा सिफारिस गर्ने न्यायापरिषद्को निर्णयप्रति विरोध जनाउँदै केही वरिष्ठ कानुन व्यवसायीहरुले न्यायाधीश सम्मेलन बहिष्कार गर्ने भएका छन्। सत्तारुढ नेताहरुको निजी भागबन्डामा न्यायपरिषद्ले मंगलबार सर्वोच्च र उच्च अदालतका लागि २३ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो।
बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि जाजरकोटबाट राहत सामग्री पठाइएको छ। नेपाल निजामती कर्मचारी संगठन जाजरकोट र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जाजरकोटको सहयोग तथा सहकार्यमा संकलन भएको २३ हजार बढी रुपैयाँ २ नम्बर प्रदेशमा पठाइएको छ।
संकलित २३ हजार ५ रुपैयाँ २ नम्वर प्रदेश मुख्यमन्त्री राहतकोषको खाता नम्बरमा जम्मा गरिएको निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बरबहादुर बिष्टले जानकारी दिए।
प्रदेश २ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई शौचालयसहितको चार कोठे घर बनाइदिने घोषणा गरेको छ। बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले हावाहुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकारले बनाउने बताएका छन्।
प्रदेश सरकारले आगामी चार महिनाभित्र प्रभावितहरुको घर बनाइदिने यादवको दाबी छ। मन्त्री यादवले हावाहुरी पीडितहरु कष्टकर जीवनयापन गर्न बाध्य रहेको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए। त्रिपालमुनी रहेका पीडितहरु गर्मीका कारण समस्यामा रहेको भन्दै मन्त्री यादवले केही दिनमै उनीहरुलाई टेन्टभित्र सारिने बताए।
एएफसी कप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले खराब सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा मनाङ अबहानी लिमिटेडसँग १–० ले पराजित भएको हो।
अबहानीको जितमा खेलको एक मात्र निर्णायक गोल मासिया साईघानीले गरे। उनले २९ औं मिनेटमा खेलको एक मात्र गोल गर्दै अबहानीलाई सुरुवाती अग्रता मात्र हैन प्रतियोगितामा सुखद सुरुवात नै दिलाए।
नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो। वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
पत्रकार बिन्दुकुमार चौहानकी छोरी ममता चौहानको अपहरण भएको छ। १८ वर्षीय ममता पूर्ण रुपमा अपांग हुन्। उनलाई मंगलबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका १० मुगलाहस्थित घरबाटै करिब १२ बजेतिर अपहरण गरिएको हो।
प्रहरी र आफन्तको खोजतलासीको क्रममा उनी लुम्बिनी तौलीहवा सडकखण्डको दक्षिणी क्षेत्रमा रहेको गहुँको खेतमा बुधबार बिहान ९ बजे फेला परेकी छन्। ममताका बुबा विन्दुले उनलाई गहुँको खेतमा लडीरहेको अवस्थामा फेला पारेको बताए। 'उनी राती १२ बजेसम्म सुतिरहेकी थिइन्। बोल्न नसक्ने, हिँडडुल गर्न नसक्ने मान्छे बिहान हेर्दा थिइनन् त्यसपछि हामीले प्रहरीलाई खबर गर्याैं', विन्दुले भने।
नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिको गोप्य भेला काठमाडौंको ठमेलस्थित चाक्सीबारीको होटल काठमाडौंको छैटौं तलामा जारी छ। बैठकमा ५० भन्दा बढी जिल्लाका असन्तुष्ट पक्षका सभापतिहरुको छलफल चलिरहेको छ।
बैठक हलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन।
भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी असन्तुट सभापतिहरुले गरेका छन्। बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका हुन्। उनीहरुले केन्द्रीय सदस्य पनि चुनाव लडेर जितेपछि मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राख्न र समानुपातिक कोटा एकै व्यक्तिले पटकपटक लिन नपाउने व्यवस्था राख्न माग गरेका छन्।
आगामी बैशाखदेखि सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको लागि चन्दा मागेर क्रिकेट मैदान निर्माण थालिएको छ। खेल मैदानको अभावमा आयोजकले सहयोगदाताहरुबाट चन्दा उठाएर क्रिकेट मैदान निर्माण गर्न थालेको हो।
आयोजक कर्णाली क्रिकेट एकेडेमीले प्रतियोगिता सञ्चालनका लागि वीरेन्द्रनगरस्थित कालुङचोक खेलमैदानलाई थप मर्मत सुधार गर्न जुटेको छ। एकेडेमीले अहिले तत्काल ६ लाखको लागतमा मर्मत सुधार गर्न लागेको एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। ‘छोटो समय भएकाले तत्काल एक लाखको तयारी गरी खेलमैदान निर्माणमा जुटेका छौं।’ उनले भने, ‘निर्माण थालेको छ दिन भयो, करिव ६ लाख लाग्ने अनुमान छ।’खेलमैदान अभावकै कारणले प्रदेशमा प्रतियोगिता सञ्चालन गर्नसमेत समस्या हुँदै आएको अध्यक्ष शाहीको भनाइ छ।
संखुवासभामा चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको पाँचखपन नगरपालिका ९ को सुनार गाँउमा चट्याङ लाग्दा दुइ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
दिउँसो साढे दुइ बजे आएको चट्याङबाट स्थानि सीता विक र सुकुमाया लिम्बुको मृत्यु भएको हो । ४० वर्षीया बिक र ५० वर्षकी लिम्बुको उपचारको क्रममा वाना स्वाथ्य चौकि लाने क्रममा मृत्यु भएको हो । स्थानिय जलजला स्वाथ्य चौकिमा उपचार सम्भव नभएपछि उपचारका लागि वाना लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
राष्ट्रिय विकास परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । योजना आयोगले तयार पारेको पन्ध्रौं आवधिक योजनाबारे छलफल गर्न परिषद्को बैठक बसेको हो ।
दुई दिन चल्ने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडो, रुद्राक्ष र बोधिचित्तको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । बैठकमा मन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सांसद्हरु सहभागी छन् ।
सरकारकै कारण नेपाल विद्युत् प्राधिकरण अप्ठेरोमा फसेको छ। देशभरबाट महसुलबापतको १४ अर्ब ७ करोड रुपैयाँ बक्यौता उठाउन नसकेको प्राधिकरणलाई सरकारले मात्रै ५ अर्ब ८४ करोड रुपैयाँ तिर्न बाँकी छ।
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सरकारी कार्यालय र मन्त्रालयले मात्रै ५ अर्ब ८४ करोड १२ लाख ७९ हजार ३ सय ८ रुपैयाँ महसुल तिरेका छैनन् । नीति निर्माण गर्ने र देश चलाउने मुख्य केन्द्र मन्त्रालयले मात्रै ३१ करोड ५१ लाख ४६ हजार ५ सय १९ रुपैयाँको बिल भुक्तानी गरेका छैनन् ।
दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्।
मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ । बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्कनुभएका उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको तर्फबाट घर निर्माण गर्ने जानकारी दिए । उक्त घटनामा परेर बाबु र आमासहित परिवारका ४ सदस्य गुमाएका फेटा नगरपालिका–६ का १४ वर्षीय साहेव अन्सारीलाई आयोगका तर्फबाट निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गर्ने पनि उनले बताए ।
प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् । पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।
तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।
टिपरको ठक्करबाट एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएपछि स्थानीयले उपत्यकाको फोहोर विसर्जनमा अवरोध पुर्याएका छन् । मंगलबार भएको घटनाको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्याएका हुन् ।
काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । उक्त घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीले पुर्याएको अवरोध बुधबार पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।
न्यायपरिषद्ले यसपटक गरेको न्यायाधीशहरुको सिफारिस विवादमा तानिएको छ । नेता, मन्त्री र पहुँचदारका भाइ, भतिज, ज्वाइँ, भान्जीलगायतका आफन्तलाई भागबन्डाका आधारमा न्यायाधीशका लागि सिफारिस गरेपछि विवादमा तानिएको हो ।
दलिय भागबन्डाको पुरानो रोग यसपटक पनि थाति नै छ । मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ५ र उच्च अदालतका लागि १७ जनाको नाम सिफारिस गरेको थियो । जसमा अधिकांश दलिय भागबन्डा र पहुँचदारका नकिट ब्यक्तिहरु परेका छ ।
संयुक्त राज्य अमेरिका मिचिगन राज्यको फिलिन्ट मिचिगन पुस्तकालयमा ५१ वर्षपछि एक किताब फिर्ता भएको छ। जोन फोस्टर्रको ‘लाइफ अफ चार्ल्स डिकेन्स’ नामक किताब सन् १९६८ मे १६ मा ‘चेक आउट’ भएको थियो। उक्त किताब बुधबार अर्थात मार्च २७ सन् २०१९ मा ‘चेक इन’ अर्थात फिर्ता गरिएको थियो।
किताब लाने व्यक्तिकै सन्तानले उक्त किताब फिर्ता गरेका हुन्। फिलिन्ट पब्लिक लाइब्रेरीले फोटो टविट् गर्दै उक्त पुस्तक फिर्ता गरेको सार्वजनिक गरेको थियो। लाइब्रेरीयन कार्मेल वाल्करसमक्ष एक महिला आइन् र किताब थमाइन्। उनले उक्त किताब १८ पटक चेक गरेपछि आफ्नै पुस्ताकालयबाट लगिएको किताब भएको ठम्याए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४