काठमाडौं- न्यायपरिषद्ले यसपटक गरेको न्यायाधीशहरुको सिफारिस विवादमा तानिएको छ । नेता, मन्त्री र पहुँचदारका भाइ, भतिज, ज्वाइँ, भान्जीलगायतका आफन्तलाई भागबन्डाका आधारमा न्यायाधीशका लागि सिफारिस गरेपछि विवादमा तानिएको हो ।
दलिय भागबन्डाको पुरानो रोग यसपटक पनि थाति नै छ । मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ५ र उच्च अदालतका लागि १७ जनाको नाम सिफारिस गरेको थियो । जसमा अधिकांश दलिय भागबन्डा र पहुँचदारका नकिट ब्यक्तिहरु परेका छ ।
सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जनामा उच्च अदालतका दुई न्यायाधीश र दलिय भागबन्डाका आधारमा तीन कानुन व्यवसायी परेका छन् । जसमा प्रकाशकुमार ढुंगाना र सुष्मलता माथेमा उच्च अदालतबाट आएका हुन भने कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा कानुन व्यवसायीबाट तानिएका हुन् ।
अधिवक्ता कुमार रेग्मी कांग्रेस निकट कानुन व्यवसायी हुन । कांग्रेसको महासमिति सदस्यसमेत रहेका उनी खुमबहादुर खड्काका नजिकका पात्र मानिन्थे । पछिल्लो समय रेग्मी नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्छ भन्ने अभियानमा सामेल थिए ।
यस्तै कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हरिप्रसाद फुयाल नेकपा निकट मानिन्छन् । उनले २०७३ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उनको महान्यायाधीवक्ता भएर काम गरेका थिए । उनी तत्कालिन एमालेको अनुशासन समितिमा समेत सामेल थिए ।
यसपटकको सिफारिसमा सबैभन्दा विवादित मानिएका मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । शर्मा प्रधानन्यायाधीश भएका बेला शर्मा अतिरिक्त न्यायाधीशमा सिफारिस भएका थिए । उनीको नेकपाका नेताहरुसँग बाक्लो उठबस भएका व्यक्ति हुन् ।
उच्च अदालतको न्यायाधीशमा को को सिफारिस ?
उच्च अदालतमा नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण र मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला न्यायाधीश राजेशकुमार काफ्ले, रौतहट जिल्ला न्यायाधीश लेखनाथ ढकाल सिफारिसमा परेका छन्।
यस्तै चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजाद, ललितपुर जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी र पर्सा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका साह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया र अञ्जु उप्रेती छन्। उप्रेतीलाई आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी न्यायाधीश सिफारिस गरिएको छ।
उच्च अदालतमा सिफारिस भएका मध्ये अधिकांश दलिय भागबन्डा र पहुँचदारका आफन्तहरु परेका छन् । उच्चमा सिफारिस रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । उच्चमै न्यायाधीश सिफारिस नवराज थपलिया परिषद् सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन् । नीलम पौडेल उपप्रधानमन्त्री ईश्वर पोखरेलकी भान्जी हुन् ।
यसरी दलिय भागबन्डाका आधारमा पहुँचदारका आफन्तहरुलाई न्यायाधीशमा सिफारिस गरेपछि कसरी न्याय सम्पादन गतिलो हुन्छ भन्दै वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएका छन् । उनीहरुले अदालत पुरै कब्जा लिने र बाडिचुडी खाने प्रवति न्याय मर्ने हो की भन्ने चिन्ता ब्यक्त गर्न थालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४