काठमाडाैं - पीडामा रहेका बारा र पर्साका हावाहुरी प्रभावितले राहत कुर्दै दोस्रो रातसमेत खुला आकाशमुनि विताएका छन्। संघीय सरकारले राहत कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएपनि हालसम्म सम्पूर्ण पीडितहरुले सरकारको राहत पाउन सकेका छैनन्।
खानका लागि ठाउँठाउँमा मेस चलाइएपनि रात काट्न प्रभावितहरुलाई समस्या भएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाहरुले दुःखको सामना गरिरहनु परेको छ। कतिपय पीडितहरुले राहत स्वरुप पाएको एक पोका चाउचाउको भरमा रात काटेका छन्। सरकारलगायतका विभिन्न संघसंस्थाहरुले पीडितका लागि त्रिपालको व्यवस्था गरेको बताएपनि केहीले मात्रै त्रिपालमुनि रात विताएपनि अधिकांशले खुला आकाश र चिसो भुइँमै रात कटाए।
हावाहुरी प्रभावितका लागि भन्दै संघीय सरकारले ४ सय ६८ थान त्रिपाल र टेण्ट, ४ हजार १ सय ३८ थान सर्ट पाइन्ट, २ रोल कपडासहित ३ ट्रक राहत सामग्री पठाएको बताएको थियो। तर, अधिकांश प्रभावितहरुले आफुले राहत नपाएको गुनासो गरेका छन्। यस्तै गृह मन्त्रालयले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको बताएको छ।
विपतमा परेकाहरुलाई थुप्रै क्षेत्रबाट सहयोगसमेत घोषणा भैरहेका छन्। सत्तारुढ नेकपाका सांसदहरुले एक दिनको तलब दिने घोषणा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले दुई दिनको तलब दिने घोषणा गरेका छन्।
यस्तै नेपाली कांग्रेस पार्टीले प्रभावितलाई २५ लाख दिने घोषणा गरेको छ। मंगलबार प्रभावित क्षेत्र पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावितलाई २५ लाख दिने घोषणा गरेका छन्। यस्तै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आधा महिनाको तलब दिने घोषणा गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राहतसहित प्रभावित क्षेत्र पुगेका छन्। उनले प्रभावितलाई राहत सामग्री हस्तान्तरण गर्नुका साथै ५० हजार प्रदान गरे।
प्रदेश सरकारबाटसमेत सहयोग रकम प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेश र प्रदेश ३ सरकारले नगद १ करोड सहयोग गर्ने घोषणा गरेका छन्।
राजनीतिक क्षेत्रबाट मात्र होइन विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाटसमेत राहत तथा नगद प्रदान भइरहेको छ। नेपालको चर्चित सांगीतिक व्याण्ड नेपथ्यलेसमेत प्रभावितलाई ५१ हजार प्रदान गरेको छ। यस्तै नेपाल प्रहरी श्रीमती संघले प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ।
आइतबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण २७ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका थिए। जसमध्ये पुरुष १० जना, महिला ११ जना तथा ६ जना बालबालिका रहेका गृह मन्त्रालयले जानकारी दिएको छ।
हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो। तथ्याङ्क संकलन जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४