भैरहवा - नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध सधैं सुमधुर भएको बताएका छन्। नागरिक समाजका अगुवाको संस्था बिएमजी ग्रुप भैरहवासँग सोमबार अन्तरक्रिया गर्दै उनले भने, ‘म र प्रधानमन्त्रीबीच सम्बन्ध राम्रो नभएको, सधैं झगडा पर्ने गरेको भनेर हल्ला गरिएको छ। त्यो सही होइन। केही असहमति छन् र होलान् तर झगडा भएको छैन।’
रुपन्देही क्षेत्र नं ३ का सांसदसमेत रहेका भुसालले भने, ‘मेरो प्रधानमन्त्रीसँग विकासको ओरियन्टेसनका विषयमा केही असहमति छन्।’ आफ्नो पार्टीको सरकार भयो भन्दैमा गलतलाई पनि ठिक भन्न नहुने उनले बताए। उनले माक्र्सवादी सिद्धान्तअनुसार पार्टी, सरकार र नेताहरुलाई गुण दोषका आधारमा समर्थन र विरोध गर्दा तथा विमति राख्दा प्रतिपक्षीले झैँ व्यवहार गर्यो भन्नु न्यायिक नहुने पनि बताए।
सो अवसरमा नागरिक समाजका अगुवा तथा बिएमजीका अध्यक्ष ओमकार गौचनले लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा बुद्ध जीवनी झल्किने डिजीटल संग्रहालय बनाउनुपर्नेमा जोड दिए। वरिष्ठ साहित्यकार बनमाली निराकारले नगरभित्र हरियाली पार्क आवश्यक रहेको बताए। होटल एसोसिएसन सिद्धार्थनगरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले डन्डामा बोटिङसहित पर्यटकीय करिडोर निर्माण गर्नुपर्ने बताए।
कार्यक्रममा बिएमजीका राजेन्द्रप्रसाद श्रेष्ठ, राजुनारयण श्रेष्ठ, नेवाःखलका सुर्वणमनि शाक्य, बौद्धिक अपांगता महासंघका बाबुराम केसी, पर्यटन व्यवसायी विष्णु गौतमलगायतले नेपाल सरकारको आसन्न बजेटमा भैरहवालाई प्राथमिकता दिने गरी योजनामा समावेश गर्न सांसद भुसालको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४