काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक काठमाडौं आइपुगेका छन् । उनी आइतबार राति अकस्मात् काठमाडौं आएपछि सुरक्षा निकायमा समेत निकै खैलाबैला मच्चिएको थियो । अमेरिकी सेनाको विशेष विमानमा आएका राष्ट्रपति ट्रम्प मध्यराति त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।
ट्रम्पले आफू काठमाडौं आउने जानकारी नेपाली समयअनुसार आइतबार अपराह्न दुई बजे दिएका थिए। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार राष्ट्रपति ट्रम्प दिउँसो ४ बजेको विशेष विमानबाट काठमाडौँ चाहेका थिए। तर सुरक्षा थ्रेट हुने भन्दै उनलाई मध्यराति आउन नेपाल सरकारले आग्रह गरेको थियो।
ट्रम्प आउने खबर आएपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा तत्काल सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका थिए। उनले ट्रम्पलाई दिने सुरक्षाका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल समयलाई बताए।
राति १ बजे ट्रम्प काठमाडौं उत्रिँदा एयरपोर्टमा सेनाको कमान्डमा विशेष सुरक्षा व्यवस्था गरिएको थियो । ट्रम्प आउनुभन्दा एक घन्टाअघि नै विमानस्थलबाट हुने आन्तरिक एवम् बाह्य उडान स्थगित गरिएको थियो । विमानस्थलमा उत्रिएका ट्रम्पलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सीधै बालुवाटार लगिएको थियो । ट्रम्प चढेको हेलिकोप्टरलाई अन्य चारवटा हेलिकोप्टरले स्कर्टिङ गरेका थिए ।
बालुवाटारमा ओली र ट्रम्मबीच करिब डेढ घन्टा वार्ता भएको थियो। वार्तापछि राष्ट्रपति ट्रम्पले नेपाललाई ७० अर्ब डलर सहयोगको घोषणा गरेका छन् । अमेरिकाले ऊर्जा पूर्वाधार, प्रविधि, उद्योग, सडक निर्माणलगायतका शीर्षकमा उक्त सहयोग रकम उपलब्ध गराउन लागेको हो । यो रकम राशि करिब ७० खर्ब रुपैयाँ हुन आउँछ। अहिले नेपालको कुल बजेट १३ खर्ब १५ अर्ब छ। सहयोगसम्बन्धी सम्झौतामा सोमबार नेपालको परराष्ट्र मन्त्रालयका सचिव र अमेरिकाकी राजदूतले हस्ताक्षर गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्पबीच नेपाली युवालाई अमेरिकामा रोजगारीका अवसर सिर्जन गर्ने विषयमा गहन छलफल भएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्री केपी ओलीले अमेरिकी सहयोगप्रति ट्रम्पलाई विशेष धन्यवाद दिएका छन् । राष्ट्रपति ट्रम्पले भने आफू नेपालको वर्तमान शक्तिशाली सरकारका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिएका थिए । नेपाल सरकारको समृद्ध नेपाली सुखी नेपाली नारालाई सार्थक बनाउनका लागि अमेरिकाले सहयोग गरेको उनको भनाइ थियो ।
ट्रम्पले आइतबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । शीतल निवासमा एक घन्टासम्म भएको छलफलमा राष्ट्रपति ट्रम्पले भण्डारीसँग नेपाललाई गर्न लागेको आर्थिक सहयोगका विषयमा जानकारी गराएका थिए। दुई राष्ट्रपतिबीच आगामी दिनमा उच्चस्तरीय भेटलाई निरन्तरता दिने सहमति भएको छ ।
किन गोप्य राखियो ट्रम्पको नेपाल भ्रमण
अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले नेपालको भ्रमण गर्ने इच्छा धेरै पहिलेदेखि नै गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। उनको भ्रमण सार्वजनिक गर्दा नेपालसँगका छिमेकी देशहरुले समेत चासो राख्ने भएकाले यसलाई गोप्य राखिएको थियो । ट्रम्पको भ्रमण राति नै तय गर्नुमा भने सुरक्षा थ्रेट मुख्य कारण रहेको बताइएको छ।
सरकारले उनलाई बस्नका लागि होटल सोल्टीमा विशेष सुरक्षासहितको व्यवस्था गरेको छ । ट्रम्पका लागि सोल्टी होटलको क्राउन प्लाजा सबै खाली गरिएको छ ।
ट्रम्पले सोमबार दिनभर होटल सोल्टीमा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग भेट गर्नेछन् । उनीसँग पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराईले भेट गर्ने कार्यक्रम छ । ट्रम्पसँग भेटघाट गर्ने भएपछि जिल्ला भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार मध्यरातमै राजधानी फर्केका थिए ।
दिनभरको भेट सकेपछि ट्रम्प सोमबार मध्यराति फर्कने कार्यक्रम छ । ट्रम्पको विशेष सुरक्षाका लागि अमेरिकी सेनाका थप दुई जहाज पनि काठमाडौं आएका छन् ।
नोट : अप्रिल फुल विशेषका लागि यो सामग्री तयार गरिएको छ । मनोरञ्जनका लागि तयार गरिएको यो सामग्रीमा आम पाठकमा कुनै भ्रम नपरोस् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४