जनकपुरधाम – माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको विरोधमा प्रदेश २ का विभिन्न जिल्लाहरुमा प्रदर्शन भएको छ। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश राजधानी जनकपुरसहित विभिन्न स्थानमा टायर बालेर विरोध गर्नुका साथै सवारी साधनमा तोडफोडसमेत गरेका छन्।
परीक्षा स्थगित भएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले धनुषाको सपहीमा प्रदेश सरकारका एक राज्यमन्त्रीको गाडीमा ढुंगामुढा गरेका छन्। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका हुन्।
ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको डीआइजी हरिबहादुर पालले जानकारी दिए। आन्दोलनरत विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रदर्शनमा गरिरहेका छन्। आन्दोलनकारीले आफूहरुको आन्दोलनलाई बेवास्ता गरेर यात्रा नगर्न आग्रह गरेपनि जबर्जस्ती जाँदा गाडीमाथि आक्रमण भएको उनले बताए।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले प्रश्नपत्र बाहिरिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको भन्दै प्रदर्शनमा नउत्रिन विद्यार्थीहरुलाई आग्रह गरेको छ। प्रशासन कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दैै घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्मा संयोजकत्वको टोलीले छानबिन गरिरहेको भन्दै बन्द हड्ताल, चक्काजाम, तोडफोडजस्ता उत्छृंखल गतिविधि नगर्न आग्रह गरेको छ।
यसैगरी सप्तरीमा आक्रोशित विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेर प्रदर्शन गरेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खचुहिया चक्काजाम गरेर प्रदर्शन गरेका हुन्। आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुतला जलाएका छन्। शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले पुतला जलाएका हुन्।
एसइई परीक्षा स्थगित भएपछि बाराका विद्यार्थीहरु पनि आन्दोलनमा उतरेका छन्। आन्दोलनमा उतरेका विद्यार्थीहरु तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप भएको छ। झडमा एक प्रहरी जवान र केहि विद्यार्थीहरु घाइते भएका छन्। आन्दोलित विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन्। उनीहरुले प्रहरीको ना १ झ ७१२ नम्बरको गाडीमा आगजनी गरेका छन्। प्रहरीमाथि ढुंगामुढा हुनथालेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको प्रदेश प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४