काठमाडाैं - सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ । सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ।
‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिन आज सूचना प्रविधिसम्बन्धी सत्रमा नेपालको सूचना प्रविधिको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गरेको हो।
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि नीतिको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढेको र सूचना प्रविधिसम्बन्धी अन्य कानून पनि निर्माण भइसकेको जानकारी दिए। सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ। सरकारले डिजिटल सम्पर्क सञ्जालमा सुधार गरेको उल्लेख गर्दै उनले नेपालमा पछिल्लो पटक इन्टरनेट र सूचना प्रविधिको प्रयोग बढ्दै गएको तथा फोरजी सेवासमेत सुरु गरेको अवगत गराए।
विद्युतीय सुशासनका लागि आवश्यक संरचना तयार गरी कार्यान्वयनतहमा पुगेको बताउँदै मन्त्री बाँस्कोटाले डिजिटल नेपाल परियोजनाले मुलुकको समग्र विकास, दिगो सामाजिक तथा आर्थिक वृद्धिको आधार तयार हुने विश्वास व्यक्त गरे।
“उक्त परियोजनामा ठूलो लगानीको आवश्यकता छ, सरकारले आवश्यक कानून बनाई वैदेशिक लगानीको उचित वातावरण तयार पारेको छ, व्यापारिक राहदानी प्रक्रियालाई सहज बनाएका छौँ, लगानी सुरक्षाको ग्यारेन्टी गर्छौं।” मन्त्री बाँस्कोटाले भने। लगानीका लागि प्रशासनिक प्रक्रियालाई सरलीकरण गरेको बताउँदै मन्त्री बाँस्कोटाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।
सम्मेलनको उक्त सत्रमा वक्ताका रुपमा अमेजन इन्टरनेट सर्भिस कम्पनी भारतका चन्द्र बलानी, जापानको सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता, माइक्रोसफ्टको एशिया प्यासफिक क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बसिर कविर, नेपालको सफल पाटनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारी सहभागी थिए।
सञ्चार मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले नेपालमा सूचना प्रविधिको क्षेत्रमा भएका गतिविधिबारे प्रस्तुति दिँदै यस क्षेत्रको लगानीमा सरकार उदार रहेको र सरकारले सहज नीति लिएको उल्लेख गरे। उनले नयाँ स्थापित हुने उद्योगका सम्बन्धमा कर छुटको प्रावधानका बारेमा जानकारी गराउँदै नेपालमा मोबाइल फोन र डिजिटलाईजेसनको विकास तीव्र गतिमा भइरहेको तथ्य पेश गरे। प्रविधिको क्षेत्रमा लगानीका लागि ठूला परियोजना हाल नभएको अवस्थामा ठूलो लगानीको आवश्यकता र सम्भावनाको बारेमा समेत उनले प्रस्तुति दिएका थिए।
अमेजन कम्पनी भारतका बलानीले सरकारले नेतृत्वका साथ काम गरे प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनसक्ने उल्लेख गर्दै आइटी कम्पनी सञ्चालनका लागि सुरुमा लगानी चाहिने र पछि मात्रै कम्पनीले प्रतिफल प्राप्त गर्ने उल्लेख गरे। सूचना प्रविधिको क्षेत्रमा गरिएको लगानी र प्रतिफलका बारेमा बङ्गलादेश र भारतबाट धेरै कुरा सिक्न सकिने उनको भनाइ थियो।
जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने उल्लेख गरे। उनले दिगो विकासका लक्ष्य हासिल गर्न पनि सूचना प्रविधिको प्रयोग आवश्यकता रहने भन्दै नेपालाई आफू पनि सहयोग गर्न तत्पर रहेको बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४