शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर बम काण्ड : पूर्वराज्य मन्त्री संजय साहसहित सातजनालाई जन्मकैद

जनकपुर बम काण्ड : पूर्वराज्य मन्त्री संजय साहसहित सातजनालाई जन्मकैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुर - पाँच जनाको ज्यान जानेगरी जनकपुरमा गराइएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजय साहसहित सात जनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कुमार कटुवालको एकल इजलाशले शाहलाई जन्मकैदको फैसला सुनाएको हो।

जन्मकैदको सजाय सुनाइएका पूर्वमन्त्री साह बमकाण्डका साथै जनकपुरका सञ्चारउद्यमी अरुण सिंहानिया हत्याकाण्डमा पुर्पक्षका लागि हिरासतमा छन्।

घटनाको सात वर्षपछि जिल्ला अदालत धनुषामा १० चैतदेखि सुनवाइ सुरु भएको थियो। बमकाण्डमा प्रमुख योजनाकार भनिएका साहसहित घटनामा संलग्न भनिएका अन्य ६ जनालाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ।

अदालतले बम विस्फोट गराउन सहयोग गरेको भन्दै जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दिपेन्द्र झालाई पनि जन्मकैदको सजाय सुनाएको छ। यसैगरी घटनामा संलग्न रहेको भन्दै राजन मुक्ति भनिने रंजित झा र मुकेश चौधरीलाई पनि जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए। रंजित झा हत्यासम्बन्धी विभित्र मुद्दाहरुमा जन्मकैदको सजाय काटीरहेका छन्।

घटनाका अन्य अभियुक्तहरु मध्ये ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय सुनाइएको छ भने सुजितकुमार पाण्डेयलाई अदालतले सफाइ दिएको छ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो भने अन्य ४० जना घाइते भएका थिए। शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो।

घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याको लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए।

ओमप्रकाश यादव पक्राउ परेको सूचना पाए लगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौं भागेका थिए। आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गर्दै आएका संजयलाई बिस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।

तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपश्चात अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बिस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए। पछि सरुवा भएर जनकपुर पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अर्याल समितिमा सदस्य रहेका तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा बिस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अपरेशन नै चलाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।