जनकपुरधाम – महोत्तरीको बर्दिवास नगरपालिकामा मेडिकल कलेज निर्माण गर्न पूर्वाधार निर्माण कार्यालय स्थापना भएको छ। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बर्दिवासमा मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना भएको हो।
कलेज स्थापना गर्न आवश्यक जग्गाको सिफारिससमेत भइसकेपछि मन्त्रालयले बर्दिवासमा पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरेको बताइएको छ। बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीका अनुसार मेडिकल कलेज स्थापनाका लागि ७५ रोपनी जग्गा सिफारिस गरिएको छ।
बर्दिवास चोकभन्दा पश्चिम र राजमार्गभन्दा उत्तरतर्फ करिब ७५ रोपनी जग्गा सिफारिस भएको उनले बताए। अहिले सिफारिस गरिएको जग्गामा व्यवधान आउन सक्ने सम्भावनालाई हेर्दै जग्गाको वैकल्पिक व्यवस्थासमेत गरिएको कार्कीको भनाइ छ।
हरेक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीतिअनुसार आर्थिक वर्ष २०७३/७४ मा कार्यक्रम आएको थियो। तर, प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन्। गत आर्थिक वर्षमासमेत सरकारले यससम्बन्धी कुनै काम अगाडी बढाउन सकेको थिएन्। तर, चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाउँदै कार्यविधि पारित गरेको छ।
कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले चालु आर्थिक वर्षमा अर्थमन्त्रालयले ८७ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए। कलेजको पूर्वाधार तयार पार्न पाँच वर्ष लाग्न सक्ने उनको अनुमान छ।
विश्वविद्यालय अनुदान कोषअन्तर्गत महोत्तरीको बर्दिवास, सुर्खेत र बुटबलमा मेडिकल कलेज स्थापना गर्न सकारले १०÷१० करोड रुपैयाँ छुट्याइ सकेको सुवेदीले बताएका छन्। शिक्षण अस्पतालका साथै बर्दिवासमा तीन सय शैय्याको अस्पतालसमेत निर्माण हुने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४