काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्रीले संसदमा विप्लव समुहविरुद्ध आक्रामक अभिब्यक्ति दिएको र विप्लव समुह चन्दा उठाउन सक्रिय बनेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
कान्तिपुर दैनिकले नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग मोटो रकम माग गर्दै विप्लव समुहले पत्र थमाउन थालेको विषयलाई मुख्य समाचार बनाएको छ ।
उसले रकम बुझाउनु पर्ने मिति नै तोकेर पाँचलाखलेखि ५० लाखसम्म रकम माग गरेको समाचारमा जनाइएको छ । बुलिङटार गाउँपालिकालाई चैत १४ भित्र साढे १० लाख बुझाउन विप्लव समुहले उर्दी जारी गरेको छ । चन्दा नदिए जे पनि हुनसक्ने भन्दै विप्लव समुहले धम्कीसमेत दिएको कर्मचारीहरुले बताएका छन्।
यता सरकारले भने आर्थिक साहायता गरे कारबाही गर्ने चेतावनी दिएको छ । चन्दलाई आथिक तथा भौतिक सहयोग नगर्न अपिल गर्दै केन्द्र सरकारले विध्वंसात्मक गतिविधि गर्नेलाई सहयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको कान्तिपुरले लेखेको छ । गृहमन्त्रालयले विप्लव समुहको धाक धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारसँग ब्याक गियर छैन भन्दै विप्लव समुहविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
संसद्मा विशेष सम्बोधन गर्दै उनले चन्दाका नाममा लुटपाट नगर्न धेरैपटक आग्रह गर्दा पनि नमाने पछि सरकार नियन्त्रण गर्न लागेको बताएका थिए । यसै खबरलाई अन्नपूर्णले मुख्य समाचारका रुपमा छापेको छ भने कान्तिपुर र नयाँ पत्रिकाले पनि महत्वका साथ छापेका छन् ।
आजको अन्नपूर्णले प्रधानमन्त्रीको सम्बोधन र विप्लवविरुद्ध सरकार झन कठोर बनेको विषय बाहे लगानी सम्मेलनमा ३१ खर्बको परियोजना आउन लागेको विषयलाई पनि महत्वका साथ छापेको छ ।
आगामी शुक्रबार र शनिबार हुन लागेको सम्मेलनमा ४० देशबाट ६ सय ५० विदेशी लगानीकर्ता सहभागी हुने भएका छन् । यस्तै सरकारले लगानी सम्मेलनमा सार्वजनिक निजी साझेदारीका ५० र निजी क्षेत्रका २३ परियोजनामा लगानीका लागि आवह्वान गर्ने भएको समाचारमा उल्लेख छ ।
दुर्लभ मानिएको एक सिंगे गैडा चालु आर्थिक वर्षको ९ महिनामा चितवनमा मात्रै ४१ मरेको विषयलाई पनि अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा छापेको छ । नागरिक दैनिकले पनि यो विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।
आजको नागरिक दैनिकले मुख्य समाचारको रुपमा भने विद्रोहको मुडमा छैन रोल्पा शीर्षकको खबरलाई छापेको छ ।
यस्तै मनगढन्ते उजुरीले अख्तियारलाई सकस परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । अख्तियारले उजुरी परेका मध्ये ३ प्रतिशतको मात्रै विस्तृत छानविन गर्दै आएको समाचारमा उल्लेख छ ।
वैदेशिक लगानीमा नेपाल १४५ औं स्थानमा शीर्षकमा मुख्य समाचार छापेको आजको नयाँ पत्रिकाले भने हालसम्म मुलुकमा आएको वैदेशिक लगानीको अवस्था बारे खबर लेखेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४