काठमाडाैं - ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’ का केही दफा संविधानको मर्म र भावनाविपरीत हुनेगरी आएको भन्दै संशोधन गर्न माग गरिएको छ। प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ को शुक्रबार बसेको बैठकमा बोल्ने सांसदहरुले केही दफा तत्काल सच्याउन सरकारसँग माग गरेका हुन्।
प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र महेश्वरजंग गहतराजले उक्त विधेयकमा ‘गाई वा गोरु मारेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद गर्ने र अन्य चोट पुर्याएमा ५० हजारसम्म जरिवाना हुनेछ’ भन्ने प्रावधान संविधानविपरीत आएको उल्लेख गर्दैै तत्काल हटाउन माग गरे। यस्तै समितिका अर्का सदस्य प्रेम सुवालले जबरजस्ती करणी गर्नेमाथि कडा कारबाही हुनुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय निरुपणमा समस्या देखिएको भन्दै उक्त विधेयकलाई चाँडै पारित गरिदिन संघीय संसदका सांसदहरुलाई आग्रह गरे।
समितिले विधेयमाथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णयसमेत गरेको छ। विधेयकमाथि परेका संशोधनका सम्बन्धमा छलफल गरे पनि राष्ट्रियसभाबाट पारित विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने निर्णय भएको छ। समिति सभापति कृष्णभक्त पोख्रेलले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पठाउने निर्णय भएको बताए। साथै सो विधेयकमा परेका संशोधनका सम्बन्धमा समितिको आगामी बैठकबाट सरकारलाई केही निर्देशन दिने उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४