जनकपुरधाम – प्रत्येक वर्षझैँ यसवर्ष पनि फागु पर्वको पूर्व सन्ध्यामा जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना गरिएको छ। सम्मेलनमा यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह महामूर्ख घोषित भएका छन्।
मेयर साहलाई बुधबार मिथिला नाट्यकला परिषद (मिनाप) ले आयोजना गरेको महामूर्ख सम्मेलनमा एक कार्यक्रमकाबीच महामूर्ख घोषणा गरिएको हो। फागुको अवसरमा विशिष्ट व्यक्तिहरुलाई मिनापले हरेक वर्ष महामुर्खको उपाधि दिँदै आएको छ। गत वर्ष यस उपाधिबाट राष्ट्रियसभाका सदस्य वृषेशचन्द्रलाई सम्मानित भएका थिए।
उक्त अवसरमा मिनापले महामुर्खका साथै अन्य मानपदवीको समेत घोषणा गरेको छ। मिनापले राजनीतिज्ञ, समाज सेवा, व्यवसायीलगायतका व्यक्तिहरुलाई पटमुर्ख, हराशंख, बज्रकीटजस्ता मानपदवी दिएर सम्मानित गरेको छ।
महामुर्ख सम्मेलनको अवसरमा मैथिली क्षेत्रका कवि, साहित्यकारहरुले राजनीति, राजनीतिज्ञ, समाजिक कुरुतीजस्ता विषयहरुमा कवितामार्फत गरेको व्यङ्ग्यात्मक प्रस्तुतिबाट उपस्थित दर्शकहरु हाँस्न बाध्य भएका थिए।
आधुनिकताको प्रभावले पारम्परिक होलीको मौलिकता हराइ रहेकोले महामूर्ख तथा होली महोत्सवजस्ता कार्यक्रमको आयोजना गरिएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। नयाँ पुस्तालाई होलीको अवसरमा प्रयोग गरिने ‘डम्फा’, ‘जोगिरा’ जस्ता शब्दबारे जानकारी गराउने उद्देश्यले पनि यस्तो आयोजन गरिएको उनको भनाइ छ। यस्ता कार्यक्रममार्फत मिनापले पारम्परिक होलीको मौलिकता जोगाउन केहि हदसम्म भएपनि मद्त गर्ने मल्लिकको विश्वास छ।
होलीको अवसरमा व्यङ्ग्य र ठठ्यौलीको रुपमा जनकपुरमा हरेक वर्ष महामूर्ख सम्मेलनको आयोजना हुने गरेको छ। वास्तविक जीवनमा कोहिपनि आफूलाई महामूर्ख कहलाउन चाहँदैन्। तर, होलीको अवसरमा दिइने ‘महामूर्ख’ को उपाधि पाउन जनकपुरमा तछाडमछाड हुने गरेको छ। होलीको अवसरमा दिइने महामूर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठात्रे गर्दछन्। महामूर्खका उपाधि पाउन जनकपुरमा तछाडमछाड हुने गरेको छ।
२०६१ सालदेखि मिथिला नाट्यकला परिषदले महामूर्ख सम्मेलनको आयोजनालाई निरन्तरता दिँदै आइरहेको छ। महामूर्खको उपाधि पाउने पहिलो व्यक्ति हुन् मैथिली कवि नरेश ठाकुर। २०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्रले महामूर्खको उपाधि पाएका थिए।
यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडि, २०६९ मा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा तत्कालीन जिल्ला सभापति रामसरोज यादव, २०७० मा तत्कालीन तमलोपाका पूर्वसांसद डा.विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुध्न महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामुर्खको उपाधि पाएका थिए। २०७३ मा मधेश आन्दोलनले गर्दा कार्यक्रम हुन सकेको थिएन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४