होली रङको रमाइलो पर्व हो। यसमा विभिन्न प्रकारका रङको प्रयोग हुन्छ। रङको प्रयोगमा सावधानी पुगेन भने त्यसले समस्या पनि ल्याउन सक्छ। किनभने बजारमा पाइने रङमा मिसावट हुन्छ। त्यसमा छाला र स्वास्थ्यलाई हानी गर्ने केमिकल पनि मिसाइएको हुनसक्छ । त्यसले हाम्रो आँखा, छाला, कान, कपाल, फोक्सो र शरीरमा अनेक रोग निम्त्याउन सक्छ। होलीको रङमा रंगिँदा छालाको सुन्दरता गुम्ने खतरा पनि हुन्छ। त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ।
रङको असरबाट कसरी बच्ने ?
होलीमा रमाइलो गर्नुअगाडि तयारी गर्न जान्यौं भने रङमा पाइने रसायनबाट बच्न सकिन्छ। छाला रोग विशेषज्ञ डाक्टर धमेन्द्र कर्णका अनुसार कालो रङमा लिड अक्साइड, रातोमा पारो (मर्करी), हरियोमा नीलोतुथो करी सल्फेट र सिल्भरमा अल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यस खालका रासायनिक तत्त्वले छालामा नराम्रो असर गर्छ। एलर्जी र क्यान्सरसम्मको जोखिम हुन्छ।
यसैगरी हरियो रङले आँखामा एलर्जी, अनुहार पोल्ने, फुल्ने र अन्धोपन ल्याउने सम्भावना बलियो हुन्छ। सिल्भर रङले छालाको क्यान्सर र नीलो रङले एलर्जी र छालामा फोका जन्माउँछ। गुलाफी र रातो रङले छालामा खासै नराम्रो असर पार्दैन। अरु रङको तुलनामा यी दुई रङ प्रयोग गर्दा नराम्रो भने हुँदैन। सकेसम्म गुलाफी र रातो रङको मात्र प्रयोग गर्नुपर्छ।
होलीका लागि तयारी
होलीको अघिल्लो दिन नुहाएर शरीरमा तेल, बडी लोसन वा मोस्चराइजर क्रिम लगाउनुपर्छ। नङ र कपाल छोटो बनाउनुपर्छ। मोस्चराइजर, तेल र भ्यास्लिन लगाएको छालामा रङले नराम्रो असर गर्दैन। होलीको दिन पनि मोस्चराइजर, तेल वा भ्यास्लिन लगाएर मात्र रङ खेल्न निस्कनुपर्छ।
बजारमा पाइने रासायनिक तत्त्व मिसिएको रङको प्रयोग सकेसम्म गर्नु हुँदैन। प्राकृतिक रङको प्रयोग गनुपर्छ। चन्दन र गुलाब जलबाट निकालिएको रङहरु प्राकृतिक हुन्। तर बजारमा प्राकृतिक रङ पाउन धेरै गाह्रो हुन्छ।
सकेसम्म सुख्खा पाउडर रङको प्रयोग गर्ने, क्रिस्टल भएको रङले छालामा असर पार्छ। क्रिस्टल र धुलोजन्य रङको प्रयोग नगर्नु धेरै राम्रो हुन्छ। धुलो र खस्रो रङ शरीरमा पर्ने बित्तिकै एलर्जी भइहाल्छ। होलीमा पूरै शरीर ढाक्ने हलुका खालको कपडा लगाउनुपर्छ।
खस्रो, धुलो र सस्तो रङमा अभ्रख मिसाएको हुन्छ। जुन दल्नेबित्तिकै एलर्जी देखाइहाल्छ। एलर्जीले पोल्ने र चिलाउने जस्ता समस्या देखा पर्छन्। धेरैलाई रङको कारण रुघाखोकी र जरोसमेत आउनसक्छ।
अप्रत्यक्ष असर
होली खेलिसकेपछि रङ पखाल्न बजारमा पाइने अनेक किसिमको साबुन र फेसवासको प्रयोग गरिन्छ । जसले रगड्दा छालाको माथिल्लो तहमा हानि गर्छ र पोल्न सुरु हुन्छ। यसले छालामा इन्फेक्सनको खतरा बढाउँछ।
रङ प्रयोग गरेपछि यसलाई पखाल्न पनि जान्नुपर्छ। नरम स्याम्पु, बेबी स्याम्पु र साबुनले हल्का धुनुपर्छ। त्यसपछि फेरि सफ्ट लोसन वा तेल लगाउनुपर्छ। धेरै रगड्दा एलर्जी, छाला सुख्खा र घाउ पाक्न सक्छ। कपालमा रङ लगाउँदा कपाल झर्ने समस्या, कान र आँखा रातो हुने र एलर्जी र घाउ हुने सम्भावना बढी हुन्छ।
होलीमा युवाले अनुहारमा लगाउने पेट्रोलियम डढेको मोबिलको प्रयोग शरीरका लागि झन् बढी खतरनाक हुन्छ। रङ र पानीको मिश्रणले छालामा छिटो रङ सोस्छ र असर पार्छ। त्यसैले सकेसम्म सुख्खा रङको प्रयोग गरी होली मनाउनु राम्रो हुन्छ।
होली खेल्नुअघि गहना, औंठी, नाकको फुली सबै खोल्नुपर्छ। यसले घाउ वा चोटपटक निम्त्याउने र रमाइलो गर्दा हराउने सम्भावना धेरै हुन्छ। होलीमा रङको मजा लिनकै निम्ति सेतो कपडा लगाउने चलन छ। अरु कपडामा भन्दा सेतो कपडामा विभिन्न रङको चमक देखिने कारण होलीमा सेतो कपडा लगाइन्छ।
होलीमा आएको फरकपन
डाक्टर कर्णका अनुसार पहिलेको होली आाक्रमक शैलीको थियो। पहिलेको होलीमा लोला र पानीको बढी प्रयोग हुन्थ्यो भने अहिलेको होलीमा रङको वढी प्रयोग हुन्छ। पहिले नचिनेका व्यक्तिलाई लोला हान्ने र सताउने गरिन्थ्यो। तर, अहिले साथीभाइ र परिवार एकापसमा मिलेर कसैलाई दुःख नदिई होलीमा रमाइन्छ।
समाजमा विकृति
विगतमा होलीको अवसरमा घरघरमा नाचगान हुन्थ्यो। तर, आजका मानिस ‘वर्क हार्ड पार्टी हार्डर’ भन्ने धारणा राख्छन्। आजका पुस्ताले दसदेखि पाँचसम्म काम गर्ने धारणा छोडिसके। चाडपर्वले समाजमा विकृति निम्त्याउनु राम्रो होइन। होली भनेको माया, सद्भाव र आदरको पर्व हो।
(छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णसँगको सम्वादमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४