बिहीबार, वैशाख ६, २०८१

शिलान्यासकै दिन शिशु जन्मिएपछि यस्तो राखियो नाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बागलुङ – ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो। स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए।

आइतबार बिहानैदेखि देउरालीमा बेग्लै चहलपहल देखिन्थ्यो। पाहुनाको सत्कारदेखि कार्यक्रम व्यवस्थापनमा युवादेखि पाकासम्म सबै खटिएका थिए। स्वास्थ्यचौकी भवनको निर्माण शुभारम्भ गर्न मन्त्री नै आउने भएपछि प्रबन्ध त्यही किसिमको थियो । संयोग धम्जावासीले गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई मात्र स्वागत गरेनन् एक नवजात शिशुलाई पनि स्वागत गरे।

आइतबार बिहान ७ बजेर ६ मिनेट जाँदा पुरानो स्वास्थ्यचौकी भवनको प्रसूति कक्षमा स्थानीय जमुना भण्डारीले छोरालाई जन्म दिइन्। विसं २०२९ मा आफ्नै जिजु प्रेमबहादुर भण्डारीको अगुवाइमा खुलेको स्वास्थ्यचौकीमा ती शिशुले पहिलोपटक आँखा उघारे।

‘रातिदेखि नै व्यथा लागेको रहेछ, हामीले बिहानपख मात्रै थाहा पायौँ’', जमुनाका ससुरा हिराबहादुरले भने, '४ बजे स्वास्थ्यचौकीमा ल्यायौँ, ७ बजेर ६ मिनेट जाँदा बाबु जन्मियो।' स्वास्थ्यचौकीको आधुनिक भवन शिलान्यासकै दिन नाति जन्मिदा औधी खुशी लागेको उनको भनाइ छ।

कार्यक्रम स्थलमा भेला भएका आफन्त र गाउँलेले उनलाई अबिर र माला लगाएर बधाई, शुभकामना दिएका थिए। ‘बुबाको नेतृत्वमा स्वास्थ्यचौकी बनेको हो’ उनले भने, 'नयाँ भवन शिलान्यासकै दिन जन्मेकाले नातिको नाम पनि शिलान्यास राख्यौँ।' हिराबहादुरका बुबा प्रेमबहादुरको भने निधन भइसकेको छ।

जमुनाले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन्। छोरी आरुषा भर्खर २० महीना पुगेकी छिन्। जमुनाका पति हेमसागर अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका छन्। स्वास्थ्यचौकीका अनमी शारदा सापकोटा र कृष्णमाया पुनले जमुनालाई प्रसूति गराएकी थिइन्।

‘प्रसूति सहज रुपमै भयो’, अनमी कृष्णमायाले भनिन्, 'भवन शुभराम्भकै दिन जन्मेकाले हामीलाई पनि खुशी लाग्यो।' प्रसूतिलगायत अन्य सेवामा स्वास्थ्यचौकीले गाउँलेको मन जितेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले बताए। उनले नयाँ बन्ने भवनबाट थप स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा विश्वास व्यक्त गरे।

प्रसूति हुन आउनेको सङ्ख्या धेरै नभए पनि सेवाको गुणस्तरमा कुनै कमी नरहेको स्वास्थ्यचौकी व्यवस्थापनले जनाएको छ। शिलान्यासपछि बोल्दै मन्त्री बस्नेतले भवन समयमै सम्पन्न गर्न आफूले सक्दो पहल गर्ने बताए।

मन्त्री बस्नेतले आइतबारनै धम्जा, सायकटेरामा बहुउद्देश्यीय सामुदायिक भवन र असौजेमा आलु भण्डारण गृह निर्माणको शुभारम्भ गरेका थिए। रु एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।