सुर्खेत- नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको 'नेपाल कम्युनिस्ट पार्टी' को लालकिल्ला मानिने कालिकोटमा सुरक्षा चुनौती बढेको छ। सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै कालिकोटमा सुरक्षा चुनौती थपिएको हो। गाउँगाउँमा विप्लवप्रतिको जनलहर र थोरै सुरक्षाकर्मीका कारण जिल्लामा सुरक्षा चुनौती थपिएको गएको छ।
'केही दिनपहिले गाउँघरमा दैनिक सभा सम्मेलन हुन्थे', कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र कार्कीले भने, 'विप्लवका कारण यहाँ सुरक्षा चुनौती छ तर आजसम्म अराजक गतिविधि भने भएका छैनन।' विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला भएका कारण पनि कालिकोट सुरक्षा दृष्टिले निकै 'संवेदनशील' मानिन्छ।
'प्रतिबन्धपछि विप्लवका गतिविधि सेलाएका छन् तर हामीलाई पनि सुरक्षा चुनौती छ', कालिकोटका प्रहरी प्रमुख विनोद शर्मा भन्छन्, 'जिल्ला प्रहरीसहित पन्ध्र वटा युनिटमा ३ सय ५० जनाको मात्रै जनशक्ति छ।' थोरै जनशक्ति भएकै कारण सुरक्षा चुनौती रहेको प्रहरीको भनाइ छ। शर्माले भने, 'यो विप्लव निकै प्रभावित क्षेत्र हो, ऊसँग हतियार पनि त्यतिकै छन् भन्ने जानकारी आएको छ हामीले उनीहरुको खोजी गरिरहेका छौँ तर आजसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन्।'
विप्लवपछिको दोस्रो नेता प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका भएकाले कालिकोटलाई विप्लवले आफ्नो लालकिल्ला मान्दै आएको छ। नेकपामा कालिकोटबाट १३ जना केन्द्रीय सदस्य र १३ जना पोलिटब्युरो सदस्य छन्। जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सातवटा भ्रातृ संगठन पनि कर्णालीबाटै ब्युरो संयोजक रहेको विप्लव नेकपा स्रोतले बताएको छ।
जनता रिझाउन : सडक निर्माणदेखि श्रमदानसम्म
कालिकोटमा विप्लवले जनता रिजाउन सडक निर्माणदेखि विभिन्न ठाउँमा श्रमदानसम्म गरेको भेटिएको छ। सरकारले प्रतिबन्ध लगाउनुअघि उसले गाउँगाउँमा श्रमदान, संगठन विस्तार र जनसभालगायतका कार्यहरु गरेको थियो। प्रवत्ता विश्वकर्माको घर रहेको स्थान नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट उसले ७ किलोमिटर सडक निर्माण गरेको छ। खुलालुदेखि मालकोटसम्म १४ किलोमिटर सडक निर्माण थालेको विप्लवले केही महिनाअघिदेखि निर्माण कार्य रोकेको छ। मालकोट निर्माण गर्न लागेको २१०० वर्गफिटको सहिद स्मृति भवनमा पुग्न सडक निर्माण गरेको हो।
सरकारले प्रतिबन्ध लगाउनुअघि नै तेल र सामान बिग्रिएको कारण सडक निर्माणको सबै काम रोकेको कालिकोटका सेक्रेटरी रणदीपले बताए। सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढाको दुरीमा रहेको सडकका पार्टीका लागि नभई जनताको सुविधाका लागि निर्माण थालेको उनको दाबी छ। सवा करोड मूल्य पर्ने दुईवटा डोजरले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वंसशकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धको निर्णयसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारबाही थालेको छ। सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ।
बच्चादेखि वृद्धसम्मको झुकाव
कालिकोटमा बच्चादेखि वृद्धासम्म नेकपा विल्पवप्रति झुकाव देखिएको छ। विप्लवले गरेको हरेक कार्यक्रममा बच्चादेखि वृद्धसम्मको सहभागिता रहेको देखिन्छ। यहाँ हरेक घर विप्लव माओवादीका कार्यकर्ता छन्। 'विप्लवका कार्यकर्ता नभएको एउटा घर छैन,' प्रहरी स्रोतले भन्यो, 'सबैलाई पक्रने हो भने जेलले थाम्दैन।'
सरकारले प्रतिबन्धको निर्णय गर्नुअगाडि भएका आमसभा र कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो। कार्यक्रममा देखाइएका गतिविधि र जनसंगठन निर्माण गर्न गाउँगाउँमा पुगेका कार्यकर्ताको गतिविधिले द्वन्द्वकालको झल्को दर्शाउछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४