बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्‍त्रिमण्डल फेरबदलको चर्चासँगै चलखेल : को को छन् डेन्जर जोनमा ?

मन्‍त्रिमण्डल फेरबदलको चर्चासँगै चलखेल : को को छन् डेन्जर जोनमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : एक महिना देखि नै मिडियामा मन्त्रिमण्डल पुनर्गठनकाे चर्चा निरन्तर चल्दै आएको छ। तर, अहिलेसम्म मन्त्रिमण्डल फेरबदलको सुरसार बालुवाटारबाट भएको छैन। विभिन्‍न माध्यमबाट चर्चा चलाएर आफू अनुकुलका पात्रहरूलाई मन्‍त्री बनाउन चलखेल सुरु भएको छ। 

यो एक महिनामा प्रधानमन्त्री केपी ओलीलाई भेट्ने धेरै नेता कार्यकर्ताले पनि मन्त्रिमण्डल फेरबदलबारे जिज्ञासा राखे । ओलीले समय आएपछि हुन्छ भन्दै हाँसेर टारे।फेरबदलको हल्ला चल्न थालेपछि जोखिम जोनमा रहेकाहरुको बालुवाटारदेखि प्रचण्ड निवाससम्म दौडधुप चल्यो र अहिले पनि त्यो जारी छ । बालुवाटार स्रोत भन्छ, प्रधानमन्त्रीजी ढिलो चाँडो आफ्नो टिमलाई रिसाइज र रिभाइज गर्नसक्नुहुन्छ। तर त्यसको गृहकार्य भइसकेको छैन।
 
मन्त्रिमण्डल फेरबदलको हल्ला चलाएर चलखेल गर्नेहरुप्रति ओली सचेत देखिएका छन्। यसबारेमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल पनि भइसकेको छ। बाहालवाला मन्त्रिहरुलाई हटाउँदा बाहिर जाने सन्देश, त्यसले पार्टीको आन्तरिक शक्ति संरचनामा पर्ने असर र सरकारमा पर्ने प्रभावबारे स्पष्ट भएपछि मात्र टिम फेरबदल गर्ने र हतार नगर्ने सहमति भएको छ। ओली अहिले नै टिम फेरबदल गर्ने मुडमा नभएको बालुवाटार स्रोतको दाबी छ। 

पार्टीका अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार साँझ अमेरिका जाने कार्यक्रमपछि मन्त्रिमण्डल फेरबदलको तयारी फेरि पर धकेलिएको छ।  उनले करिब दस  दिन अमेरिकामा बिताउने छन्। ओली प्रचण्ड पहिलानै सहमति भएको भन्दा बाहेक अब दस दिन मन्त्रिमण्डल विस्तार हुने छैन। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन हुने कुरा सार्वजनिक रुपमा अस्वीकार गरेका छन्। उनले रिक्त भएका ठाँउमा मन्त्रीहरु पूर्ति गर्ने संकेत गरेका छन्। संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि सो ठाउँ खाली छ।

ओली सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने भन्दै आएका छन्। आइतबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रिमण्डल हेरफेर गर्न सक्ने संकेत गरेका छन्। मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि बताए।

आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको र बसुन्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने आफ्नो योजना रहेको पनि बताए।

पुस १३ गते बसेको स्थायी समितिको बैठकमा सदस्यहरुले मन्त्रीहरुको क्षमता माथि प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री ओलीले सरकारको  कामको समीक्षा गर्ने भन्दै बैठकमा आश्वस्त पारेका थिए। सरकार पुनर्गठनको विषयमा प्रधानमन्त्री ओली स्पष्ट नभएको  स्रोतले बतायो। बालुवाटार स्रोतका अनुसार यस्ता विषयमा पहिला प्रचार नगरी अन्तिममा निर्णय गर्ने  ओली शैलीका कारण मन्त्रिमण्डल पुनर्गठनका विषयमा  एकीन हुन नसक्ने स्रोतले बतायो। 

को होला नयाँ पर्यटनमन्त्री 

हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ठाउँमा कसलाई मन्त्री बनाइन्छ भन्ने विषयमा नेकपा भित्र बहस भएको छ। सो ठाउँमा योगेश भट्टराईलाई नियुक्त गर्ने भनिए पनि  भट्टराईले आफु मन्त्री नहुने घोषणा गरेका छन्। त्यसपछि ओलीको नजरमा पहिलो नम्बरमा परेका छन् खगराज अधिकारी। त्यसैगरी पार्बत गुरुङ र यज्ञराज सुनुवारसमेत चर्चामा आएका छन्। 

कोको छन् डेन्जर जोनमा ?

स्रोतका अनुसार प्रधानमन्त्रीको नजरमा झण्डै आधा दर्जन मन्त्रीहरु डेन्जर जोनमा परेका छन्। प्रचण्ड र ओली दुबैको नजरमा गृहमन्त्री रामबहादुर थापा बादल डेन्जर जोनमा सबैभन्दा अगाडि छन्। ३३ किलो सुन प्रकरण , निर्मल हत्याकाण्ड, विवादित बढुवा प्रकरणलगायतका कारण उनी दबाबमा छन्।
 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत मन्त्रीहरुको कामकारबाहीलाई लिएर सामाजिक सञ्जालमा  विरोध भइसकेको छ। उनीहरु पनि प्रधानमन्त्री ओलीको डेन्जर जोनमा छन्।

वर्तमान मन्त्रिपरिषद्मा अर्थविद् डा. युवराज खतिवडालाई अर्थमन्त्रीका रुपमा सपथ गराउँदा मसिनो स्वरमा विरोध र चौतर्फी आशा पलाएको थियो। भन्सार नाकामा हुने गरेको राजश्व चुहावटलाई पनि उनले राम्रोसँग नियन्त्रण गरेर सुधारको संकेत देखाएका थिए।

जब उनले दुई तिहाइ सरकारको बजेट संसदमा पेस गरे, त्यो दिनदेखि उनको आलोचना राजनीतिक वृत्तमा मात्र चुलिएन, सेयर कारोवारीसम्मले राजीनामा मागे। उनी पनि विवादित बनेका छन् । निजी क्षेत्रले उनलाई खासै रुचाएको अवस्था छैन। व्यापारीहरुले त पटकपटक प्रधानमन्त्रीसमक्ष खतिवडा व्यवहारिक नभएको भन्दै गुनासो गरिसकेका छन् । अर्थमन्त्री खतिवडा यतिबेला ‘डेन्जर जोन’मा परेका छन्।

तत्कालिन माओवादीबाट धेरै मन्त्री बन्नेमा शक्तिबहादुर बस्नेतको नाम पनि अगाडि नै आउँछ। गृहमन्त्रीसमेत भइसकेका बस्नेत पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार भएका थिए। ओली सरकारमा उनी वन तथा वातावरणमन्त्री छन्।

वातावरण मन्त्री भएलगत्तै तीन महिनाभित्र काठमाडौंको धुलो अन्त्य गर्ने, एक वर्षमा एकहजार बढीलाई रोजगारी दिने घोषणा गरेका थिए। आफ्नै मन्त्रालयका कर्मचारीले समेत टेर्न छोडेको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ। राम्रो नतिजा दिन नसकेका मन्त्री बस्नेत पनि डेन्जर जोनमा परेका छन्।

त्यसैगरी कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनाल पनि सेफ जोनमा नभएको चर्चा चलेको छ। अहिलेसम्म विवादमा नपरेका भलाद्मी र स्वच्छ छविका खनालले पनि खासै नतिजा देखाउन नसकेको चर्चा पार्टी पंक्तिमा हुन थालेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।