शनिबार, वैशाख ८, २०८१

बलिउडमा चम्किँदै जनकपुरका प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – उनी चाहेको भए चिकित्सा विज्ञान पढेर राम्रो डाक्टर बत्र सक्दथे। सानै उमेरदेखि पढाई लेखाइमा अब्बल रहेका उनले प्रवीणता प्रमाणपत्र उतीर्ण गरिसकेपछि डाक्टर पढ्ने अवसर नपाएका पनि होइनन्। तर, संगीतप्रतिको लगाव र रुचिले उनलाई डाक्टर बत्र दिएन। त्यही रुचिका कारण अहिले उनी बलिवुडमा चम्कि रहेका छन्।

जनकपुरधाम–४ क्याम्पस चोकका ३८ वर्षीय प्रवेश मल्लिकले थुप्रै बलिउड फिल्ममा संगीत भरिसकेका छन्। उनले केही फिल्मका गीतसमेत गाएका छन्। सानो सहरमा बस्ने एक युवकले बलिउडका चलचित्रहरुमा खुट्टा जमाउन सफल भएको देख्दा जनकपुरवासी खुशी छन्।

प्रकाश झाले निर्माण गरेको ‘जय गंगाजल’मा सहायक संगीतकारको भूमिका निर्वाह गरेका उनले गीतसमेत गाएका छन्। प्रवेशले पछिल्लो पटक बलिउडका स्थापित गायक उदित नारायण झा र अल्का याज्ञनिकको गीतमासमेत संगीत भरेका छन्। उदित र अल्काबाहेक उनको संगीतमा अरजित सिंह, रीचा शर्मा, बप्पी लहरी, नेहा कक्कर, दिव्य कुमारजस्ता भारतका चर्चित गायक गायीकाहरुले गीत गाइसकेका छन्।

क्षमता र संगीतको क्षेत्रमा अरुभन्दा केही फरक गर्ने उद्देश्य बोकेका  प्रवेशको कौशलताकै कारण सतिश कौशिकले निर्माण गरिरहेको ‘कागज’ नामक चलिचित्रमा संगीत भर्ने अवसर पाएका छन्। यसबाहेक ‘चकलापुर’, ‘द साइकल’, ‘अगम’जस्ता बलिउडको चलचित्रका गीतहरुलाई संगीतवद्ध गरिसकेका प्रवेश फेरी प्रकाश झाले निर्माण गर्न लागेको परीक्षा नामक चलचित्रमा संगीत दिँदै छन्।

हिन्दी र मैथिली भाषामा दर्जनौं एल्बम निकालेका प्रवेशलाई नेपाली गीत संगीतको पनि ज्यादै माया छ। उनले नेपाली चलचित्र ‘संरक्षण’ र ‘फाटेको जुत्ता’ मा संगीत दिएका छन्। ‘फाटेको जुत्ता’ चलचित्रको गीतहरुले नेपाली बजारमा निकै चर्चा कमाउन सफल भएको थियो।

तर, प्रवेशका लागि ठुला हस्तीको गढ बलिउडमा जम्नु चानचुने कुरा थिएन। मेडिकल पढ्ने अवसर पाएरपनि संगीत रोजेका उनी जनकपुरबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्रको पढाई सकेर भारतको राजधानी दिल्लीतर्फ लागे। त्यहिँबाट सुरु भयो उनको बलिवुडमा सांगीतिकको यात्रा।

प्रवेशले पाँच कक्षा पढिरहेकै बेला सांगीतिक मञ्चमा माइक समाइसकेका थिए। जिल्ला स्तरीय गायन प्रतियोगितमा उत्कृष्ट स्थान ल्याउन सफल भएपछि उनको झुकाव गीत संगीत तर्फ झनै बढेको थियो। बुबा कामेश्वर मल्लिकको चाहना थियो उनलाई डाक्टर बनाउने। तर, संगीतप्रतिको प्रवेशको लगाब र चाहनासामु उनको केही चलेन। 

‘पढाई लेखाइमा ठिकठाकै रहेकोले मलाई डाक्टर बनाउने बुबाको ठुलो इच्छा थियो,’ प्रवेश सम्झन्छन्, ‘तर मैले संगीतलाई रोजी सकेको थिएँ।’ ‘घरमा गीत संगीतको वातावरण पहिलेदेखि थियो। बुबा, दाइ सुनिल मल्लिकले गीत गाएको देखेर मलाइपनि गाउने इच्छा जाग्दथ्यो,’ उनले भने, ‘घरमा कोही नभएको बेला चोरेर हार्मोनियम बजाउने गर्दथेँ। तर, के बज्थ्यो थाहा हुँदैनथ्यो।’ ‘एकदिन रामनारायण ठाकुर दाइले हिन्दी गीत दिल दिवाना बिन पगला भन्ने गीतको धुन सिकाउनु भयो,’ प्रवेशले थपे, ‘त्यही गीतको धुन बजाइरहेको सुनेपछि बुबालाई संगीतको क्षेत्रमा यसले पनि केही गर्न सक्छ जस्तो लाग्यो। त्यसपछि मलाई नन म्युजिकल भत्रुहुने बुबाले संगीत सिक्न पठाउनु भयो।’

पढाइलाई निरन्तरता दिँदै जनकपुरकै गंगासागर नजिक शिवलाल गुरुबाट हार्मोनियम सिक्न सुरु गरेका प्रवेशले पछि भारत विहारको मधुबनीका लक्ष्मी नारायण दासबाट संगीतको शिक्षा लिए।

जनकपुर बसेर आधारभूत ज्ञान पाइसकेका प्रवेशलाई संगीतको दुनियाँमा ख्याती कमाउने भोकले दिल्लीतर्फ डोर्‍यायो। दिल्ली विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर र संगीत शिरोमणी गरेका उनले दिल्लीकै गन्धर्वबाट संगीत विसारतसमेत हासिल गरे। अहिलेपनि गुरु शिष्य परम्पराअनुसार पंडित मधुप मुदगलबाट संगीत सिकिरहेको प्रवेश बताउँछन्।

दिल्लीमा पचास हजार मासिक तलब छोडेर पाँच वर्षअघि सन् २०१३ मा बलिवुडमा भाग्य अजमाउन उनी मुम्बई पुगे थिए। तर, उनका लागि सोचे जस्तो सजिलो थिएन मुम्बईमा काम पाउनु। उनी भन्छन्, ‘मुम्बई पुगेपछि एकजना साथीले कोठा खोज्न सहयोग गर्‍यो तर काम केहि थिएन्। नाम चलेकाले मात्र काम पाउने त्यहाँ।’

तीन महिनासम्म कामबिनै बसेका उनको सम्पर्क निर्माता प्रकाश झासँग भयो र बलिवुडमा पहिलो ब्रेक पाए प्रवेशले। ‘गंगाजल’, ‘राजनीति’जस्ता सुपरहिट फिल्म बनाइसकेका प्रकाश झाले ब्रेक दिएपछि प्रवेशलाई अब केही सहज भएछ मुम्बईमा। ‘काम नहुँदा तीन महिनासम्म कोठामै बसे,’ आफ्ना संघर्षका दिन सम्झदै उनले भने, ‘मेरो काम देखेर केहि फिल्ममा काम गर्ने मौका पाएको छु। मात्र एक क्लिकको आवश्यक्ता छ। त्यो पनि छिट्टै हुन्छ मलाई विश्वास छ।’ 

नेपालमै संगीतको छुट्टै विश्विद्यालय भइदिए रुची राख्नेहरुलाई भारत जानुपर्ने बाध्यताको अन्त्य हुने प्रवेश बताउँछन्। जनकपुरमा संगीत अकाडमी खोल्ने उनको ठुलो रहर छ। समय र भाग्यले साथ दिए आफ्नो बुबाको नाउँमा संगीत एकेडेमी स्थापना गर्ने प्रवेश बताउँछन्।

जनकपुर क्षेत्रमा ‘मल्लिक घराना’ को नामले चिनिन्छ प्रवेशको घर। अवकाश प्राप्त प्रधानाध्यापक बुबा कामेश्वर मल्लिक गीत गाउन माहिर छन्। ठुला दाइ सुनिल मल्लिकले मैथिली गीत संगीतको क्षेत्रमा नेपालमात्र होइन भारतमा पनि ख्याति कमाइसकेका छन्। यसैगरी सुनिलकी जेठी छोरी नेहा प्रियदर्शनी, छोरा निशान्त र कान्छी छोरी निहारिकापनि गीत गाउँछन्। प्रवेशको काइँलो दाइ रमेश दिल्लीमा तबला बादक छन् भने कान्छो भाइ अमरेश साउन्ड रेर्कडिस्टको रुपमा दिल्लीमै काम गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्