विराटनगर - प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आयोजित साउथ एसियन फुटबल फेडेरेसन (साफ) महिला च्याम्पियनसिपमा पाकिस्तानी टोली सहभागी नहुने भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका ८ देशमध्ये पाकिस्तानले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाउने भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने महिला साफमा पाकिस्तान सहभागी नहुने जानकारी अन्तिम समयमा आएको एन्फाका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक पंकजविक्रम नेम्वाङले बताए। यो सँगै अब प्रतियोगितामा नेपालसहित सात राष्ट्र सहभागी हुने भएका छन्। भारत, भुटान, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान, बंगलादेशका टोली पाहुना टोलीका रूपमा सहभागी हुने भएका छन्।
किन सहभागी हुँदैन पाकिस्तान?
सन् २०१० मा पहिलोपटक ढाकामा आयोजित महिला साफको पाँचौं संस्करण नेपालमा हुँदैछ। ढाकाको पहिलो संस्करण सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो संस्करणमा निरन्तर सहभागी भएको पाकिस्तान सन् २०१४ मा आफैं आयोजक बनेको थियो। त्यसयताका दुवै संस्करणमा पाकिस्तान सहभागी छैन।
सन् २०१६ मा भारतमा भएको महिला साफमा सहभागिता नजनाएको पाकिस्तानले नेपालमा मंगलबार सुरु भएको संस्करणमा पनि सहभागिता जनाएको छैन। विराटनगरमा आयोजित महिला साफमा पाकिस्तानको सहभागिता किन नभएको भन्नेमा एन्फाका पदाधिकारी केही जानकारी नभएको बताउँछन्। एन्फा पदाधिकारीले पाकिस्तान फुटबल फेडेरेसनमा समस्या भएकाले आन्तरिक कारणले पाकिस्तान नआएको तर्क गर्छन्।
भारत–पाक तनावको असर महिला साफमा
केही फुटबलका जानकारले भने राजनीतिक कारणले पाकिस्तान नआएको हुन सक्ने बताएका छन्। फेब्रुअरी १४ मा भारत प्रशासित कास्मिरको पुलवामा भारतको सिआरपिएफ फोर्सका ४० जना मार्ने आत्मघाती आक्रमणपछि जोडिएको भारत–पाकिस्तान तनावको कारण पाकिस्तान सहभागी नभएको अनुमान धेरैको छ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङ अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी नहुनु प्राविधिकभन्दा भूराजनीतिक कारण हुन सक्ने अनुमान गर्छन्। भारत-पाकिस्तानको राजनीतिक तनावका कारण पाकिस्तान महिला साफमा सहभागी नभएको जानकारहरूको भनाइ छ।
सन् २०१६ मा भारतको आयोजना गरेको महिला साफमा पाकिस्तान सहभागिता नहुनुमा सोही वर्षको कास्मिरमा भएको अतिवादीको उरी आक्रमण मुख्य कारण भएको जानकारहरू बताउँछन्। सन् २०१६ को सेप्टेम्बर १८ मा भारत प्रशासित कास्मिरको उरीमा अतिवादीहरूले आक्रमण गर्दा १८ सैनिक र ४ अतिवादीहरूको मृत्यु भएको थियो । पाकिस्तानमा केन्द्र बनाएर काम गर्ने जैसइ महोम्मदको अगुवाइमा आक्रमण भएको भन्दै भारतले पाकिस्तानलाई दोष लाएको थियो। सोही कारण सोही वर्षको २६ डिसेम्बरदेखि २०१७ जनवरी ४ सम्म भारतमा भएको चौथो महिला साफमा पाकिस्तानको सहभागिता भएको थिएन।
‘भारतीय सिमानामा जोडिएको विराटनगरमा भएको महिला साफमा सहभागिता नभएको हुन सक्छ’, तामाङ भन्छन्, ‘सार्कमा भारतको उदासीनमा साफमा पाकिस्तानबाहेकका दुई प्रतियोगिता र पछिल्लो समयमा बढेको भारत पाकिस्तानको दुरीले पाकिस्तानको सहभागिता नहुनुमा प्राविधिक कारण मात्रै छैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४