काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्। सोमबार राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका बुँदालाई अनर्थ नलगाउन आग्रहसमेत गरे। उनले राजनीतिक विषयमा जनमत संग्रह भएपनि राष्ट्रको अखण्डता, सार्वभौमिकतालगायतका विषयमा भने जनमत संग्रह हुन नसक्ने भएकाले यसलाई अतिरञ्जित नगर्न उनले आग्रह गरे। पृथकतावादको आवाज सानो भएपनि त्यो विषाक्त हुनसक्ने बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई सरकारले समाधान गरेको बताए।
सिके राउतसँग भएको सहमतिले केही व्यक्ति पानी विनाको माछा जस्तै भएको उनले आरोप लगाए। सहमतिलाई लिएर केही व्यक्तिहरुले आपत्ती जनाइरहेकोमा उनले भने, 'पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी विनाको माछा जस्तो भुटभुटिएका छन्।’ सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन नै समाप्त भएकाे ओलीले बताए। विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल धारमा रहने सहमति धेरै ठूलो कुरा हो भन्दै उनले वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको विरोध भएको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४