काठमाडौं- काठमाडौं महानगरपालिकाको गैरजिम्मेवारपनले जताततै फोहोर थुप्रिएको छ।
मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसकी निरिहता देखाउँदा काठमाडौंमा फोहोरको डङ्गुर थुप्रिएको हो।
वर्षाका कारण फोहोर व्यवस्थापनमा कठिनाई भएको बहाना बनाउँदै काठमाडौं महानगरपालिकाले दुई हप्तादेखि फोहोर उठाएको छैन। जसले गर्दा जताततै दुर्गन्ध फैलिएको महानगरवासीले गुनासो गरेका छन्।
चाँडो फोहोर व्यवस्थापनका लागि पहल गर्नुको सट्टा मेयर शाक्यले फोहोर घरभित्रै व्यवस्थापन गर्न आग्रह गरिरहेका छन्। पछिल्लो समय परेको वर्षाका कारण सडक हिलाम्मे भएको र फोहोर व्यवस्थापन क्षेत्र नुवाकोठको सिस्डोलसम्म सवारी जान नसकेको मेयर शाक्यको बहाना छ।
दुई हप्तादेखि कोठामै फोहोर थुप्रिएर गन्हाउन थालेपछि कतिपयले त रातिराति चोक, सडक र नदी किनारमा फोहोर फाल्न थालेका छन्।
काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेकोमा अहिले त्यो फोहोर मानिसका कोठा तथा सडकमै थुप्रिएको छ।