जनकपुरधाम – राजपा अध्यक्षमण्डलले पार्टीको तर्फबाट मन्त्री, स्थानीय तहको प्रमुख/उपप्रमुख बनेकाहरुलाई आफ्ना सहकारीहरुसँग सहकार्य गरेर कामकारबाही गर्न निर्देशन दिएको छ।
१० फागुनदेखि सोमबारसम्म जनकपुरमा चलेको राजपा अध्यक्षमण्डलको बैठकले प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रतिनिधिसभा सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका अध्यक्ष/उपाध्यक्षलगायतका पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो।
बैठकपछि केन्द्रीय अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले जारी सोमबार साँझ जारी गरेको विज्ञप्तीमा आ–आफ्नो तह, स्तर, निकाय र मन्त्रालयमा आफू र आफ्नो सहकारीहरुसँग परस्पर सहयोग, समन्वय र सहकार्यमा कामकारबाही गर्ने र गराउने निर्देशन दिइएको छ।
बैठकमा सहभागी भएका जिल्ला अध्यक्षमण्डलका सदस्यहरुले पार्टीको तर्फबाट मन्त्री बनेका कतिपयले आफूहरुसँग सल्लाह नै नगरी योजना बनाउने गरेको भन्दै गुनासो पोखेका थिए। यसैगरी उनीहरुले पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभा सांसद, पालिकाका प्रमुख/उपप्रमुखहरुले एकलौटी निर्णय गरेको आरोप लगाएका थिए। बैठकको क्रममा प्रदेशसभा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट बसेका कतिपय मन्त्रीले जनअपेक्षाअनुसार काम नगरेको भन्दै फिर्ता बोलाउन माग गरेका थिए।
प्रदेश २ को जनकपुरमा बैठक भए झैं १४ फागुनमा विराटनगर, १६ फागुनमा भैरहवा र १७ फागुनमा नेपालगंजमा बैठक बस्ने राजपाले जनाएको छ।
‘चार दिनसम्म जनकपुर बैठकमा उठेका विषय, जिज्ञासा र प्रश्नहरुको सम्बन्धमा र बैठक हुन बाँकी रहेका प्रदेशहरुको बैठकमा उठ्नसक्ने यसै प्रकारको जिज्ञासाको सम्बन्धमा १७ फागुनपछि बस्ने केन्द्रीय अध्यक्षमण्डलको बैठकले विस्तृत निर्णय गर्ने,’ विज्ञप्तीमा भनिएको छ।
राजापा अध्यक्षमण्डलले प्रदेश सरकार, जिल्ला समन्वय समिति, पालिकाबाट भइरहेको विकास निर्माण, प्रगति, जनआकंक्षा र जनचाहनाबारे जात्र प्रदेश सरकारमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री, राज्यमन्त्री, संघीय सांसद, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख/उपप्रमुखलगातका जनप्रतिनिधिहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल पश्चात केन्द्रीय अध्यक्षमण्डलको बैठक बसेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४