काठमाडौं – ‘होस्टल’ भन्नेबित्तिकै धेरैलाई लाग्न सक्छ, क्याम्पस–स्कुलमा विद्यार्थीको आवास गृह। जहाँ निश्चित नियम र परिधिभित्र विद्यार्थीलाई खानेबस्ने र पढ्ने सुविधा हुन्छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै अहिले ‘होस्टल’ ले व्यापकता पाएको छ। यो अब शिक्षण संस्थाको सीमाबाट फैलिएको छ। अध्ययन र कामका लागि बाहिरबाट सहरी क्षेत्रमा आउनेका लागि बसोबास गर्न होस्टेल पहिलो रोजाइ बनेको छ। त्यसैले सहरी क्षेत्रमा होस्टेल व्यवसाय फैलिएको छ। व्यवसाय सञ्चालन गर्ने मापदण्ड र सरकारी निकायबाट नियमन नहुँदा होस्टल सञ्चालकबाट धेरै विद्यार्थी ठगिइरहेका छन्।
बाहिरबाट राजधानीमा आएर डेरा लिएर बस्नु भन्दा होस्टेलमा बस्दा सहज हुन थालेको छ विद्यार्थीलाई। कला, वाणिज्य, इन्जिनियरिङ, लोकसेवा तयारी आदि विभिन्न विषय अध्ययन गर्ने विद्यार्थी बस्ने भएकाले होस्टल अहिले खुला विश्वविद्यालयजस्तै बनेको छ।
सुसिता अधिकारी र नेहा जोशी राजधानीको एक ‘गल्र्स होस्टल’ मा बस्छन्। होस्टलका अन्य साथीसँगै बिहान उनीहरूलाई ‘ब्रेक फास्ट’ दिइन्छ। एक पुरिया बिस्कुट दुई जनाले बाँडेर खानु उनीहरूको रहर होइन। इच्छा लागे पनि नलागे पनि होस्टलको भान्छामा जे पाक्छ त्यही खान बाध्य छन् उनीहरू। भनेजत्ति शुल्क तिर्दा पनि खाना र खाजाको उचित व्यवस्था नहुँदा उनीहरू आक्रोशित छन्।
धारमा पानी आउँदैन। नुहाउन र लुगा धुन पाइँदैन। पिउने पानी किन्नुपर्छ। कहिले त नुहाउन पनि जारकै पानी प्रयोग गर्नुपर्छ। नेहा भन्छिन्, ‘मासिक रूपमा पैसा तिर्दा पनि आफ्नो व्यक्तिगत पैसाले पानी किन्नुपरेको छ।’
यस्तै समस्यामा परेर होस्टल छाड्न बाध्य भए सारांश श्रेष्ठ। ब्लु बर्ड होस्टलमा दुई वर्ष बसेका उनले स्तरहीन खानाका कारण होस्टल छाडेका हुन्। एक्कासि होस्टलको वातावरणमा घुलमिल हुन निकै समस्या परेको थियो उनलाई। बिस्तारै घुलमिल भए पनि उनलाई होस्टलको खानपान र वातावरण मन परेन।
सिर्जना र मनोरञ्जनको भिन्नै आनन्द
होस्टेलमा देशका विभिन्न भूभागबाट आएका मानिस बस्छन्। पूर्वदेखि पश्चिमसम्मका मानिस बस्ने भएकाले सम्बन्धित ठाउँको चालचलन, रीतिरिवाज तथा संस्कृति नियाल्न पाइने बताउँछिन् सुसिता। होस्टेलमा बस्दा गितार बजाउने, गीत गाउने जस्ता सिर्जनात्मक सीप पनि सिक्न पाइन्छ।
बेलाबेला साथीहरूसँग जमघट हुन पाइने, ब्रेक फास्ट सँगै खान पाइने र खाना मीठो नभएको दिन चाउचाउ, पिज्जाजस्ता खानेकुरा फुत्त बाहिरबाट ल्याएर खाने पाइने रमाइला गतिविधि होस्टेलमा मात्र पाइने सुसिताको अनुभव छ।
के के छन् मापदण्ड?
नेपाल होस्टल एसोसिएसनका अध्यक्ष चेतबहादुर दाहालले होस्टल दर्ता प्रक्रियामा वडास्तरदेखि नै विशेष ध्यान दिने बताए। सरकारले होस्टलको श्रेणी निर्धारण (क, ख, ग) हुन सकेको छैन। होस्टल एसोसिएसन नेपाल स्थापना भएको ६ वर्ष बितिसक्दा पनि आधिकारिक रूपमा कुनै लिखित रूपमा मापदण्ड बन्न सकेको छैन। एसोसिएसनभित्रै भने सामान्य झारा टार्न केही मापदण्ड बनाइएको छ। त्यस्ता मापदण्डमा होस्टल सञ्चालक २५ वर्ष उमेर पुगेको व्यक्ति हुनुपर्छ भने एउटा होस्टलमा ३० जनाभन्दा बढी राख्न पाइँदैन। यस्तै होस्टलका लागि भिन्नै भवन हुनुपर्छ। सामान सुरक्षाका लागि लकर सुविधा र सिसी क्यामरा पनि व्यवस्था हुनुपर्ने मापदण्ड छ।
अहिलेसम्म यस्ता सामान्य मापदण्डले होस्टल चलिरहेका छन्। कतिपय व्यवसायीले भने यसलाई पनि मानेको पाइँदैन। प्रेम साई गल्स होस्टलकी सञ्चालक रीता रिजालले आफ्नो होस्टल तोकिएको मापदण्डअनुसार सञ्चालन भइरहेको बताइन्। ताज बोइज होस्टलका सञ्चालक गणेश रायमाझी पनि मापदण्डअनुसार सञ्चालन भइरहेको दाबी गर्छन्।
एसोसिएसन अध्यक्ष चेतबहादुर दाहालका अनुसार सञ्चालकहरुलाई थप व्यावसायिक बनाउन एसोसिएसनले तालिम दिने योजना ल्याएको छ। कर तथा मौद्रिक नीतिमा पारदर्शिता सम्बन्धमा पनि तालिमको व्यवस्था गर्ने योजना रहेको उनले बताए। एसोसिएसनले होस्टलहरु मापदण्डअनुसार सञ्चालन भइरहेका छन् कि छैनन् भन्ने विषयमा छिट्टै अनुगमन गर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४