कास्की- तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धाति दूरी पार गर्दै उनले उपाधिसहित नगद एक लाख पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो । त्यस्तै सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो स्थान हासिल गरे । दुई घण्टा ४० मिनेट २० सेकेण्डको समयमा लक्ष्य पूरा गरेका उनले ७० हजार पुरस्कार पाए ।
नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हासिल गर्दै ५० हजार पुरस्कार पाए । उनले दुई घण्टा ४१ मिनेटको समयमा निर्धारित दूरी पार गरेका थिए । सान्त्वना भएका सेनाका पूर्ण तामाङले सात हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिष्पर्धा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४