काठमाडौं- नेकपा एमाले सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजनमा लाग्नु दुर्भाग्य भएको बताएका छन्।
'प्रतिनिधिसभा बिघटन विरोधी अभियान संसद्, संविधान र लोकतान्त्रीक प्रक्रिया बचाउनका लागि गरिएका थिए। पार्टी बिभाजनको लागि होइन', उनले सामाजिक सञ्जालमा लेखेका छन्। एमाले विभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धिहरूलाई कमजोर पार्ने र अग्रगमनको यात्रामा गम्भीर धक्का दिने उनले बताएका छन्।
'लोकतन्त्र/संविधान र स्थायीत्वलाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादीहरूको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो। यो तुरुन्तै फिर्ता गरीनु पर्दछ', उनले भनेका छन्।
पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन उनले सबै नेता तथा सांसदहरूलाई तथा विभाजन रोक्न भनि गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्वलाई अपिलसमेत गरेका छन्।
विभाजनले सबै न्यायप्रेमी जनतालाई दुःखित र प्रतिक्रियावादीहरूलाई खुसी पार्ने उनको दाबी छ। उनले पार्टी विभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको विरोध गर्न र पार्टी एकताको पक्षमा दृढतापुर्वक लाग्न सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायलाई अपिलसमेत गरेका छन्।