धनगढी- कप्तानी करन केसी र अभिनास यादवको घातक बलिङको मद्दतले विराटनगर किङ्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा पहिलो जित निकालेको छ । आफ्नो पहिलो खेल गुमाएको विराटनगरले दोस्रो खेलमा धनगढी स्टार्सलाई २१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
यससँगै धनगढीको यो लगातार तेस्रो हार हो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको धनगढीले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो । खराव सुरुवात गरेको धनगढीका लागि सन्दीप रजालीले ३४ रन जोडे । उनले ३६ बल खेल्दै ४ चौकाको मद्दतमा ३४ रन जोडेका हुन् । त्यस्तै राजु रिजालले १५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
विराटनगरका लागि कप्तान करन केसीले र अभिनास यादवले समान चार विकेट लिए । त्यस्तै सुसान्त भारीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो । विराटनगरका लागि अभिनाश यादवले २७ र कप्तान करन केसीले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले धनगढीका बलर सामु खुलेर खेल्न सकेका थिएनन् ।
आसिफ सेखले १२ रन र साम्सद सेखले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । धनगढीका लागि सोमपाल कामी र विपिन कार्कीले समान तीन विकेट लिए । त्यस्तै रोबीन क्षेत्रीले दुई तथा सुनिल धमलाले एक विकेट लिए ।
बिहिबार हुने पहिलो खेल बिहान ९ बजे रुपन्देही च्यालेन्जर्सविरुद्ध सिवाइसी अत्तरिया मैदान उत्रिने छ भने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सको सामना गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४