काठमाडौं- दशक लामो सशस्त्र विद्रोहका माध्यमबाट सरकारसम्मको यात्रा तय गरे। माओवादीलाई एमाओवादी बनाए। एमाओवादीलाई नेकपा एमालेसँग मिलाएर नेकपा बनाए। विभिन्न खालका सहमति, समझदारी र सम्झौताहरूको लामो राजनीतिक शृंखला पार गरे। जनयुद्ध, वार्ता, जनआन्दोलन, अन्तरिम संसद्, अन्तरिम सरकार, संविधानसभा निर्वाचन, सरकारको नेतृत्व, नयाँ संविधानको निर्माणजस्ता अनेकौं महत्त्वपूर्ण घटनाक्रम पार गरे। तर पुष्पकमल दाहाल उर्फ प्रचण्डले सशस्त्र विद्रोहको धङधङी बिर्सन सकेनन्।
तत्कालीन माओवादी ‘जनयुद्ध’ मार्फत खडा भएका ‘स्थानीय जनसत्ता, जनअदालत, आधार इलाका’ आदि अंगहरूलाई विघटन गरे। आफैंले बनाएको ‘जनमुक्ति’ सेनालाई क्यान्टोनमेन्टमा ‘लक’ गरेपछि केही सीमित लडाकुलाई नेपाली सेनामा मिसाइदिए। तर पनि प्रचण्डको बोलीमा ‘हिंसाजन्य’ मादकता किन हटिरहेको छैन ? शान्तियात्राको यति धेरै वर्ष र पटकपटक सरकारको नेतृत्व सम्हालेका प्रचण्डले किन अझै माओवादी जन्मिने कुरा गर्छन् ? प्रचण्डको कथनी र करणीमा यस्तो अन्तर किन देखिन्छ ? उनको सिद्धान्त र व्यवहारमा विरोधाभासपूर्ण सम्बन्ध सधैं किन बाँकी रहिरहन्छ ? आज फागुन १ गते माओवादीको विगतको धङधङीप्रति प्रचण्डले आशक्ति जाहेर गर्नुको कारण के होला ?
केही दिनअगाडि प्रचण्डले अर्को माओवादी शक्ति जन्मिने र विगतको माओवादी विद्रोहभन्दा पनि ठूलो विद्रोह हुन सक्ने उद्घोष गरे। नेपालमा यस्तो प्रकारको कुनै न कुनै अलोकतान्त्रिक शक्ति उदाउने अचम्मको राजनीतिक वातावरण सदैव जीवित रहने गरेको छ। कुनै न कुनै प्रकारको गैरबहुलवादी अधिनायकवादको जन्म नेपाली राजनीतिको अभिसाप रहँदै आएको छ। विगतको यस्तो अभिसापमा प्रचण्डको पनि ठूलै भूमिका रहेको तथ्य सर्वविदितै छ। तत्कालीन नेकपा एमालेसँग एकता गरेपछि प्रचण्ड विगतको अभिसापबाट पूर्ण मुक्त भएको ठानिएको थियो।
तर एकाएक उनले आफूले विगतको धङधङीलाई नबिर्सिएको बरु शान्ति प्रक्रियाका बाँकी मामिलामा गम्भीर नभए पुनः त्यस्तै प्रकारको विद्रोह हुन सक्ने चेतावनी दिए। वास्तवमा माओवादी आन्दोलनलाई टुक्राटुक्रामा विभाजित गरेर एमालेमा विलीन भएका प्रचण्डले अर्को माओवादी जन्मिने कुरा गर्नु फगत एउटा धम्कीबाहेक केही होइन। स्मरण रहोस्, माओवादी आन्दोलनलाई धोका दिएको भन्दै प्रचण्डको नेतृत्व अस्वीकार गरेर आधा दर्जन पार्टीहरू गठन भइसकेका छन्।
डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन वैद्य, गोपाल किराँती आदि नेताहरूले प्रचण्डलाई धोकेबाजको संज्ञा दिँदै अलगअलग पार्टी निर्माण गरेका छन्। उल्लिखित दलमध्ये मोहन वैद्य र नेत्रविक्रम चन्दका दलहरू गैरबहुलवादी मान्यतामा आधारित छन्। नेत्रविक्रम चन्दको दलले विगतमा माओवादीले गरेको ‘जनयुद्ध’ सही रहेको र पुनः त्यसलाई दोहोर्याउने मान्यता राख्छ। यस्तो गैरबहुलवादी अधिनायकवादको आडमा सत्तामा पुग्ने अभिलाषा नेपालको इतिहासमा आजका सबै सत्तारूढ दलहरूले अपनाएको बाटो हो। फेरि उस्तै बाटोमा अर्को शक्ति जन्मिने कुरा प्रचण्डले आफ्नो राजनीतिक कुण्ठाका रूपमा बोलेका भए पनि नेपालमा यस्तो शक्ति बारम्बार जन्माउने तत्त्व भने बाँकी रहिरहेको आशंका गरिँदैछ।
लोकतन्त्रविरुद्ध जन्मिरहने यस्तो गैरबहुलवादी भँगालोलाई मलजल गर्ने विभिन्न खालका आन्तरिक र बाह्य शक्तिको राजनीतिक खेल देखिँदै आएको विषय हो। प्रचण्डको अभिव्यक्तिले यस्तो संकेत गरेको मात्र छैन, अधिनायकवादी वाम दलहरूको आडमा लोकतान्त्रिक शक्तिको चलखेल हुन सक्ने राजनीतिक वातावरणको आशंकासमेत गर्न थालिएको छ। एकातिर प्रचण्ड बहुमतको सरकारले कुनै उल्लेख्य काम गर्न नसक्नु र अर्कोतिर सत्तारूढ दलभित्र चुलिँदै गएको अन्तर्विरोधले यस्तो आशंकालाई झनै बल पुर्याइरहेको छ। नेपालका वामपन्थीहरूको एउटा हिस्सा जहिले पनि अधिनायकवाद ल्याउने कारक शक्तिका रूपमा रहँदै आएको इतिहासलाई सम्झने हो भने प्रचण्डको अभिव्यक्ति अर्को गैरबहुलवादी भँगालो निर्माण हुने दिशातिर उन्मुख छ। नेत्र चन्द ‘विप्लव’ तथा सिके राउतजस्ता गैरबहुलवादी भँगालाहरू निर्माण हुँदै गरेको पनि देखिन्छ।
नेपाली वामपन्थीहरूका निम्न तथा मध्यमवर्गीय अधैर्य नेतृत्व, व्यक्तिवादी तथा सामन्ती नोकरशाही कार्यशैली, अराजकतावादी सांगठनिक सञ्चालन प्रक्रिया तथा शीघ्र सत्तामा जाने नेतृत्वको लालसाजस्ता तत्त्वहरूले हिजो माओवादीले गरेजस्तै सशस्त्र विद्रोहको लालसा जन्माउँछ। गैरबहुलवादी शक्तिहरूमा त्यस्तो लालसा जन्मिनका लागि प्रचण्डको वर्तमान व्यक्तित्वले प्रमुख प्रेरणा र ऊर्जाको काम गरिरहेको छ। र, माओवादीभित्रका निम्न पुँजीवादी युवाहरूको आकर्षण विद्रोहप्रति रहिरहनेछ। नेकपाका रूपमा पार्टीको यात्रा अघि बढिसके पनि पूर्वमाओवादीहरू ‘जनयुद्ध’ दिवस र त्यसको धङधङीले नेकपाको भविष्य कतातिर उन्मुख हुनेछ भनेर ठम्याउन धेरैलाई गाह्रो परिरहेको छ।
बाहिरी जमातलाई मात्र होइन, नेकपाभित्रको नेतृत्व र कार्यकर्ता जमातलाई पनि प्रचण्डको अभिव्यक्तिले दोधारमा पारिदिएको तथ्य बुझ्न कठिन छैन। नेकपाले ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरिरहँदा पूर्वमाओवादी नेताहरूबाहेक पूर्वएमालेका शीर्ष नेताहरू उक्त जनयुद्ध समारोहमा उपस्थित नहुनुले धेरै कुराको संकेत गर्छ। पार्टी कार्यालयमा आयोजना गरिएको ‘जनयुद्ध’ दिवसमा पूर्वएमाले समूहबाट प्रधानमन्त्री केपी ओली, माधव नेपाल र झलनाथ खनालको समेत उपस्थिति रहेन। यसले नेकपाको एकीकरण र सैद्धान्तिक प्रस्थापनामा गम्भीर समस्या रहेको देखाउँछ। प्रचण्डको जनयुद्ध प्रेम र पूर्वएमाले पंक्तिको जनयुद्ध विरक्तिले नेकपा तेल र पानीको मिश्रणजस्तै देखिएको छ। के आजको नेकपामा सम्मिलित एउटा तप्कामा अलोकतान्त्रिक व्यक्तिवादको अधिनायकवादी आभा जिउँदै त छैन ?