बिहीबार, वैशाख १३, २०८१

गाउँपालिकाको नक्‍सामा 'राजनीतिक काँटछाँट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - अछामको मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाह हुन्। उनको घर वडा नम्बर ८ को हात्तीकोटमा हो। जहाँ ठकुरी जातिको जनसंख्या अन्य जातिको भन्दा आधा छ। तर त्यही गाउँपालिकाले १५ लाख खर्च गरेर प्रकाशित गरेको पाश्र्वचित्रमा ठकुरी जातिको तथ्यांक छैन। राष्ट्रिय जनगणना २०६८ को स्रोत खुलाउँदै वडामा हुँदै नभएको नेवार जातिको जनसंख्या भने १० प्रतिशत उल्लेख छ।

वडा नम्बर ३ का वडा अध्यक्ष नै ठकुरी जातिका केशरबहादुर शाह छन्। वडामा ठकुरी जातिको बाहुल्य छ। तर पाश्र्वचित्रमा भने ठकुरी जातिको जनसंख्या शून्य प्रतिशत देखाइएको छ। एक जना पनि ब्राह्मण जातिको जनसंख्या नभएको त्यो वडामा १० प्रतिशत जनसंख्या उल्लेख गरिएको छ। जातीय जनसंख्याको तथ्यांक मात्र गलत छैन कि पाश्र्वचित्रमा समेटिएका अधिकांश तथ्यांक गलत छन् भने समेटिनुपर्ने कतिपय तथ्यांक समेटिएको छैन।

वडा नम्बर १ मा एकजना पनि ब्राह्मण जातिको बसोबास छैन तर त्यही वडामा पाश्र्वचित्रले ५० प्रतिशत ब्राह्मणको बसोबास रहेको उल्लेख गरेको छ। दलित जातिको बसोबास भए पनि उल्लेख छैन। 

एक ठाउँमा साँफेबगरलाई वडा नम्बर १ मा राखेर साँफेबगर पक्की विमानस्थल रहेको गलत सूचना राखिएको छ भने अर्को ठाउँमा साँफेबगरलाई वडा नम्बर २ मा राखेर दैनिक पाँच वटा बस सञ्चालन हुने उल्लेख गरिएको छ।

पाश्र्वचित्र नेकपाका गाउँपालिका संयोजकसमेत रहेका वडा नम्बर ६ निवासी हिरण्य भट्टराई अध्यक्ष रहेको संस्था प्रविधि विकास केन्द्र नेपालले तयार पारेको हो। पाश्र्वचित्रमा आवश्यक सूचनाहरु अत्यन्तै न्यून र त्यसमा पनि अधिकांश सूचना गलत समावेश गरिएका छन्। करिब साढे तीन सय पृष्ठको किताबमा चाहिने भन्दा नचाहिने उत्तरबिनाका प्रश्नहरुले भरिएको पाश्र्वचित्र गलत सूचनाको भण्डार नै छ। साविकको एउटा गाविस ऋषिदहलाई दुई वटा वडामा बिभाजन गर्दा हालको वडा नम्वर २ मा एउटा उपस्वास्थ्य चौकीसमेत छैन। तर पाश्र्वचित्रले भने तीनवटा जिल्ला स्वास्थ्य कार्यालय, तीनवटा स्वास्थ्य चौकी, चारवटा निजी अस्पताल र एउटा क्लिनिक रहेको गलत तथ्यांक उल्लेख गरेर जग हसाउने काम गरेको छ। वडा नम्बर २ मा मात्र होइन ६ मा पनि दुईवटा र ७ मा एउटा ३० शय्याको जिल्ला स्वास्थ्य कार्यालय रहेको गलत सूचना राखिएको छ। वडा नम्वर ६ मा एउटा बाल अस्पताल र वडा नम्बर ७ मा एउटा प्रसूतिगृह रहेको गलत सूचना समावेश छ। एक त सूचना गलत त्यसैमा सूचनाको स्रोत पनि गलत राखिएको छ। स्वास्थ्यका सूचनाको स्रोत जिल्ला शिक्षा कार्यालय उल्लेख छ।

छ सयभन्दा बढी घरधुरी संख्या रहेको सो वडामा जम्मा ६९ घरधुरी संख्या मात्र रहेको उल्लेख गरिएको छ। यतिसम्मको गलत सूचना कि सदरमुकाम मंगलसेनमा अवस्थित दुईवटा एफएम रेडियो पनि वडा नम्बर २ मा राखिएको छ। वडा नम्बर ३ का वडा अध्यक्ष केशरबहादुर शाहले पाश्र्वचित्रमा भएका तथ्यांकमा सही भन्दा गलतको संख्या बढी भएको बताए। उनले वडाको अधिकांश तथ्यांक छुटेको बताए। उत्तर बाजुरा जिल्ला र दक्षिण बान्नीगढी जयगढ गाउँपालिकाको बीचमा अवस्थित मेल्लेख गाउँपालिकाको भौगोलिक अवस्थिति नै गलत उल्लेख गरिएको छ। पाश्र्वचित्रले ठिक उल्टो उत्तरमा बान्नीगढी जयगढ गाउँपालिका र दक्षिणमा बाजुरा उल्लेख गरेको छ। अधिकांश ठाउँमा वडालाई गाविस भनेर उल्लेख छ भने प्रत्येक शीर्षकमा नगरपालिका भनेर पनि उल्लेख गरिएको छ। तालतलैया, मठमन्दिरजस्ता अधिकांश नाम पनि यता नभएका राखिएका छन्। वडा नम्वर ७ र ८ का अधिकांश सूचनाहरुको स्थान खाली छोडिएको छ।

पाश्र्वचित्रको आवरण, प्रयोग भएको कागज र छपाईको गुणस्तर, तथ्यांकको गुणस्तर, शुद्धाशुद्धि हेर्दा झारा टार्ने काम भएको उपाध्यक्ष धनबहादुर शाहले बताए। भट्टराईकै संस्थाले यसअघि अछामका ७५ वटै गाविसको पाश्र्वचित्र निर्माण गरेको थियो जुन अहिले प्रयोगविहीन छ।

विपक्षीहरुले भने पाश्र्वचित्रलाई तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको राजनीतिक दस्ताबेजको संज्ञा दिएका छन्। पाश्र्वचित्रको भूमिकामा नै भट्टराईले आफू संलग्न पार्टी तत्कालीन नेकपा एमाले र त्यो पार्टीका नेताहरुको बयान मात्र गरेका छन्। यसै गाउँपालिकाको वडा नम्वर ४ र ८ मा निर्माणाधीन २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना भीम रावल, शेरबहादुर कुँवर र कृष्णप्रसाद जैशीलगायतको पहलमा मात्र बन्न लागेको उल्लेख गर्दै अरु व्यक्ति तथा पार्टीको अपमान गर्ने काम गरेको कांग्रेस कार्यकर्ताले बताएका छन्। पाश्र्वचित्रले गाउँपालिकाको यथार्थ चित्रण गर्नुभन्दा गलत सूचना राखेकाले उल्टै गाउँपालिकाको बेइज्जत हुने काम भएको तत्कालीन जिविस सदस्य हेमराज शाहले बताए।

पारश्र्वचित्र हेरेपछि सबै वडा अध्यक्षहरुले उक्त कामप्रति असन्तष्टि जनाएको बुझिएको छ। वडा नम्वर ६ का अध्यक्ष नरपती रावलले गलत सूचना छापिएकाले सच्याउन भनिएको बताए। गाउँपालिकाले पारश्र्वचित्र निर्माणका लागि १० लाख खर्च गर्ने योजना बनाएको भए पनि प्रविधि विकास केन्द्रका अध्यक्ष भट्टराईले १५ लाख बजेटमा सम्झौता गराउन  आफ्नो पार्टीका ठूलै नेतामार्फत दबाब दिन लगाएको गाउँपालिका स्रोतले जनाएको छ। कुल २० लाख बजेट पाश्र्वचित्रका लागि बिनियोजित गरिएकोमा बाँकी पाँच लाख पनि भट्टराईकै संस्थालाई स्रोत नक्सांकनका लागि दिएको बुझिएको छ। यसबारे थप बुझ्न गाउँपालिका अध्यक्ष लोकबहादुर बोहोरालाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।