धनगढी- तेस्रो संस्करणको जारी धनगडी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको दोस्रो दिनको पहलिो जारी खेलमा सिवाइसी अत्तरियाले आयोजक टोली धनगढी स्टार्सलाई ९६ रनको सामान्य लक्ष्य सुम्पेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन मात्र जोड्न सक्यो । अत्तरियाका लागि सन्नी पटेलले ३५ रन तथा जय किसन कोल्सवालाले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
सन्नीले २८ बल खेल्दै २ चौका र २ छकका प्रहार गरे । त्यस्तै कोल्सावालाले २६ बल खेल्दै १ चौका र एक छक्का प्रहार गरे । अन्य खेलाडी प्रेम तामाङले १२, कप्तान दिपेन्द्र सिंह ऐरी ११, सुभेन्दु पाण्डेय ३, सन्दीप जोरा २ रनमा पेभिलियन फर्किए ।
स्टार्सका लागि रोहन मुस्तफाले दुई विकेट लिए । त्यस्तै बिपिन खत्री, कप्तान सोमपाल कामी, आमिर हायातले एक विकेट लिए । स्टार्सले आफ्नो पहिलो खेल काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो । यता अत्तरिया भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४