शुक्रबार, वैशाख ७, २०८१

किन खोज्दैछ कांग्रेसले उत्तराधिकारी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हामी सबैले पढेको अनि सुनेकै कुरा हो- पहिलेपहिले गोरखामा दौड प्रतियोगिता हुन्थ्यो रे । बर्सेनि हुने त्यो दौड प्रतियोगितामा जसले छिटो गन्तव्य पार गर्‍यो उही एक वर्षका लागि त्यहाँको राजा हुन्थ्यो । घलेहरुका बीचमा दौड हुन्थ्यो र घले नै राजा हुने गर्थे । घले बाहुल्य चेपेघाटदेखि लिगलिग कोटसम्मको दौडमा द्रव्य शाह पनि सहभागी हुन पुगेछन् र दौड जितेछन् । त्यहीँका घलेहरुसंग मित्रता कायम गरी प्रथम हुन लागेका घलेलाई मारेर लमजुङका राजा नरभूपाल शाहका भाइ द्रव्य शाहले धोकाधडीबाट राजा भएका भन्ने पनि भनाइ छ । एक वर्षका लागि राजा बनेका द्रव्य शाहले सोझा घलेहरु भएको ठाउँमा दौड प्रतियोगिता अन्त्य गरेछन् । बाँचुञ्जेलसम्म आफैं राजा हुने र त्यसपछि आफ्ना सन्तति राजा हुने प्रथा लागू गरेछन् । तिनै द्रव्य शाहका सन्तति केही समयअघिसम्म नेपालमा राजकाज चलाउँदै थिए ।

पाकिस्तानमा आततायीहरुले बेनजिर भुट्टोको हत्या गरे । बेनजिर आफैं पूर्व राष्ट्रपतिकी छोरी थिइन् । बेनजिरले आफ्नो सम्भावित हत्या आँकलन गर्दै मृत्युपूर्व नै एउटा वसियतनामा लेखेकी रहिछन्- कथं कदाचित् मेरो मृत्यु भएमा हाम्रो पार्टीको अध्यक्ष मेरा पति हुनेछन् । त्यही कागजका आधारमा बेनजिरको मृत्युपछि उनको पार्टीको सर्वोच्च पदमा उनका पति आसीन भएका थिए ।
के कांग्रेस त्यस्तै राजनीतिक दल हो त ? महामानव बिपी कोइरालाले यो दलको परिकल्पना गर्दा द्रव्य शाह वा बेनजिरले जस्तै सोच राखेका थिए ? मेरा छोरा नाति मात्र यसको सभापति बनून् भन्ने मनसाय थियो होला त ? नेपालमा सबैभन्दा ठूलो लोकतान्त्रिक दलका रुपमा परिचित र इतिहास बनाएको कांग्रेसले यस्तो प्रवृत्ति अँगाल्न हुन्छ ? बिपीको सोचमा सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुले मलजल गरेका पार्टीभित्र यस्तै प्रवृत्तिको हावी होस् भनेरै हो त ? नेपाली कांग्रेसका पछिल्ला निर्णयहरु र नेताहरुका अभिव्यक्तिले यी प्रश्नहरु जन्माइरहेका छन् ।

केही महिनाअघि नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भयो । नेतृत्वहरुका बीचको ठूलो बेमेल र असमझदारीका माझ आरम्भ भएको सो बैठक एकताको सन्देश दिँदै आश्चर्यजनक रुपमा सहमतिका साथ एकाएक सम्पन्न भएको थियो । कांग्रेस सिद्धियो, कांग्रेसको पुनरुत्थान सम्भव छैन, नेपालमा अब कांग्रेसले कहिल्यै विजय हासिल गर्न सक्दैन जस्ता नकारात्मक टिप्पणी गर्नेहरुलाई मुखैभरिको जबाफ दिँदै सम्पूर्ण कांग्रेस एक भएर प्रतिपक्षीको मुकाबिला गर्ने प्रतिबद्धताका साथ प्रस्तुत भएको थियो । नेपालमा रहेका लोकतन्त्रवादीहरु र कांग्रेसीजनका मुहारमा मुस्कान ल्याउन सफल भएको थियो । विडम्बना ! त्यो खुसी एकाएक अहिले आएर नेताहरुले लुट्ने प्रयास गर्दैछन् । पुरानो वैमनस्य फेरि उजागर हुँदैछ । लोकतान्त्रिक पार्टीलाई फेरि अलोकतान्त्रिक छवि दिने प्रयासको आरम्भ संगै कांग्रेसीजनमा निराशा छाउन थालेको पाइन्छ ।
 
राजाको छोरो युवराज, छोरी अधिराजकुमारी, श्रीमती बडामहारानी भए जस्तै कांग्रेसमा उत्तराधिकारी बनाउने सोचको जन्म भइसकेको छ । यसका लागि कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रुपमा उभ्याइराख्न चेत भएका नेताहरुले कति संघर्ष गर्न सक्छन्, हेर्न बाँकी छ ।

महासमिति बैठकमा दुई तिहाइभन्दा बढी जिल्ला सभापतिहरुले केन्द्रीय नेताहरुसमेत तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव प्रस्तुत गरे । महासमिति बैठक निर्बाध सम्पन्न गर्नु थियो, सबैले माने । यो अत्यन्त लोकतान्त्रिक पद्धतिसमेत हो । एकपटक केन्द्रीय समितिमा पुगेको व्यक्ति सीधै महाधिवेशन प्रतिनिधि हुने भएपछि उसले कहिल्यै तल्लो तहका कार्यकर्ता र मतदातासँग सम्पर्क गर्नै नपर्ने अवस्था उत्पन्न हुन पुगेको छ । केन्द्रीय सदस्य या त चुनाव लडेर पुनः केन्द्रमा पुग्छ वा सभापतिको चाकडी गरेर सदस्य हुन्छ । गाउँस्तरमा रातोदिन संगठनको काम गरेका कार्यकर्ताहरुलाई आफूभन्दा निकै तलको देख्ने र उसमा तानाशाही प्रवृत्ति मौलाएको देख्न पाइन्छ  ती नेताहरुको जनतासंगको सम्बन्ध कमजोर बन्दै गएको छ र राजधानी, केन्द्रीय सभापति र यहाँको सुखसयल नै उसका लागि सबथोक हुन पुगेको छ । जसका कारण कांग्रेसका आजको अवस्था हुन पुगेको हो भन्दा अत्युक्ति हुँदैन । तल्ला तहका कार्यकर्ता र जनतासँग सम्बन्ध नभएका केन्द्रीय नेताहरु भएका पार्टीको अभ्युदय कदापि सम्भव हुँदैन । 

यसैका विरुद्ध जिल्ला सभापतिहरुले उठाएको आवाज कांग्रेसलाई सशक्त बनाउन सहयोगी सिद्ध थियो । केन्द्रीय नेताहरुले तल्लो तहका कार्यकर्ताहरुसँगको बसउठ बढाउन बाध्य हुनु पर्दथ्यो । यसबाट गाउँका जनतासँगको अन्तक्र्रियामा वृद्धि हुन्थ्यो अनि कांग्रेसको अवस्थामा सुधार आउने सम्भावना रहन्थ्यो । द्रव्य शाह वा बेनजिरको जस्तै सोच राखेका नेताहरु, आफू कहिल्यै केन्द्रीय समितिबाट तल झर्न नपरोस् भन्ने मनसाय राख्नेहरुले यो प्रस्ताव पारित हुन नदिने सम्भावना बढ्दै गएको देखिएको छ । चुनावसँग डराउनेहरुले भोलि नेपाली कांग्रेसलाई कसरी अग्र्रगति दिने हुन् भन्ने पिरलो सच्चा कांग्रेसीमा पलाएको सर्वत्र देखिन्छ ।



बारम्बार केन्द्रीय समितिमा पुगेकाहरुलाई पार्टीमा खासै योगदान नभएका आफ्ना श्रीमतीहरुलाई समेत केन्द्रीय सदस्य बनाउने सोच पलाउँदै गएको देख्न पाइन्छ । पार्टी सभापति भइसकेकाहरुलाई छोरा, छोरी, श्रीमतीहरुलाई आगामी नेतृत्व नै कसरी सुम्पने भन्ने चिन्ताले गाँज्न थालेका प्रस्टै देखिन्छ । जिल्ला सभापतिहरुको प्रस्ताव मान्ने हो भने एउटै वडाबाट आफू, छोरा, छोरी, श्रीमती सबैलाई जिताएर ल्याउन सम्भव हुने थिएन । राजाको छोरो युवराज, छोरी अधिराजकुमारी, श्रीमती बडामहारानी भए जस्तै कांग्रेसमा उत्तराधिकारी बनाउने सोचको जन्म भइसकेको छ । यसका लागि कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रुपमा उभ्याइराख्न चेत भएका नेताहरुले कति संघर्ष गर्न सक्छन्, हेर्न बाँकी छ ।

त्यस्तै अर्को प्रसङ्ग छ, समावेशी कोटाको । एउटै नेता बारम्बार समावेशी कोटामा निर्वाचित भइरहने र दबिएकाहरु दबिएको दबियै हुन पुगेका छन् । यस्तो अवसर भनेको एकजनाले एकपटक मात्र पाउनु पर्दछ भन्ने जोडदार आवाजहरु सुनिएका थिए र सुनिएकै छ । पटकपटक एउटै व्यक्तिले अवसर लिँदा नयाँ नेतृत्व विकास असम्भव हुन्छ । नयाँनयाँ नेताहरु जन्माउन नयाँ नयाँलाई मौका दिनैपर्छ । आरक्षणमा एकपटक अवसर लिएर पाँच वर्ष केन्द्रमा रहँदा समेत खुला प्रतिस्पर्धामा जान सक्दैन भने त्यस्तो व्यक्तिलाई नेतृत्व तहमा राखेर कांग्रेसले पालिरहनु पर्ने कुनै आवश्यकता हुँदैन । कहिल्यै खुलामा प्रतिस्पर्धा गर्न नसक्ने हो भने कार्यकर्ताबाट जय नेपालको अभिवादनको भोक त्यस्ता नेताले पाल्नै हुँदैन । तथापि कांग्रेसले यसमा पनि कुनै ठोस परिवर्तन गर्ने संकेत नदेखिँदा कार्यकर्ताहरुमा निराशाका रेखाहरु देखिन थालेका छन् ।

भारतीय भूमिमा प्रजातन्त्रवादीहरुलाई जम्मा पारेर नेपाली कांग्रेस जन्माउने बिपी कोइराला हुन् । जतिबेला कांग्रेस जन्मिएको थियो, त्यतिबेला टंकप्रसाद आचार्य नेपालको जेलमा थिए । आफूले दुःख गरेर स्थापना गरेको पार्टीमा आफैं अध्यक्ष बनेन् बिपी कोइराला । टंकप्रसाद आचार्यलाई सभापतिको आसनमा स्थापना गरे । आफैं सर्वेसर्वा होइन, आफूभन्दा मान्य अर्को पनि हुन सक्छ, अरुको योगदानको पनि कदर गर्न सक्नु पर्छ भन्ने सन्देश दिएका थिए कोइरालाले । अरुको योगदानको कदर आफूले गरेमा मात्र अरुले आफ्नो योगदानको कदर गर्दछन् भन्ने अभिप्राय थियो । ठिक उल्टो, कांग्रेसी नेताहरुमा म नै सबथोक हुँ, मेराभन्दा अरुको पार्टीमा कुनै योगदान छैन, मैले नै सधैं अवसर पाउनुपर्दछ भन्ने भावनाले जरा गाडेको पाइन्छ ।

जबसम्म यस्तो स्वार्थी प्रवृत्तिबाट कांग्रेसका नेताहरु माथि उठ्दैनन् तबसम्म नेपाली कांग्रेसको समुज्वल भविष्य परिकल्पना गर्न कठिन हुन्छ । नेपाल कम्युनिस्ट पार्टी त लोकतन्त्रप्रति कुनै पनि हालतमा प्रतिबद्ध छैन र उसको सिद्धान्त, आदर्श, चरित्र, लक्ष्य कुनै पनि लोकतन्त्रका लागि बनेका छैनन् । कांग्रेस पनि यसैगरी व्यक्तिगत स्वार्थमा लिप्त हुँदै गएमा आम लोकतन्त्रवादी निराश त हुन्छन् नै, जनताको रगत पसिनाले आर्जेको गणतान्त्रिक संघीयतासमेत सबल हुन निकै कठिन हुने देखिन्छ । लोकतान्त्रिक पार्टीका नेताहरुमा तानाशाही प्रवृत्ति कदापि सुहाउँदैन । सामूहिक आवाजलाई सम्बोधन गर्दै जनताका पक्षमा उभिनु नै नेपाली कांग्रेस जस्तो इतिहास रचेको पार्टीको धर्म हो । करिब हजार महाधिवेशन प्रतिनिधिले उठाएको हिन्दू धर्म सम्बन्धी मुद्दामा त कांग्रेसको कहिले उत्तर आउँछ, प्रतीक्षा गर्नैपर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।