जनकपुरधाम- कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई धनुषाबाट पक्राउ गरेको छ। धनुषाको सबैला नगरपालिका-१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खरिहानी बस्ने ३९ वर्षीय सतिश कापर र सोहि ठाउँ बस्ने ६६ वर्षीय चन्दर कापर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
सोमबार साँझ उमेशमाथिए खुकुरी प्रहार भएको थियो। नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका उमेशमाथि ८-१० जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी खुकुरी प्रहार गरेका थिए। उमेशमाथि खुकुरी प्रहार गर्ने व्यक्तिहरु नेकपा कार्यकर्ता रहेको बताइएको छ।
प्रहरीले बाख्राले गहुँ खाइदिएपछि दुईपक्षबीच विवाद हुँदा खुकुरी चलेको जनाएको छ। उमेशको बाख्राले खेतमा गहुँ खाएपछि सतिश, चन्दरलगायतका व्यक्तिहरुसँग विवाद हुँदा खुकुरी चलेको सबैला प्रहरीले जनाएको छ।
दुई पक्षबीच थप विवाद हुन नदिन घटनास्थल खरिहानीमा दई दर्जन सुरक्षाकर्मी परिचलान गरिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४