धनगढी- ढुंगा, बालुवा, गिट्टी संकलन, अनुगमन तथा घाटगद्दी कैलाली समितिले कर्णाली नदीबाट सवारी साधन नियन्त्रणमा लिएको छ।
अनुगमन समितिले आइई प्रारम्भिक वातावरणीय परीक्षण नभएको र कतैबाट अनुमति इजाजत नलिएको क्षेत्रमा उत्खनन गरिरहेको एक जेसिबी र तीन वटा टयाक्टर नियन्त्रणमा लिएको हो।
से १ त ३८८३ को जेसिबी र से १ त ४२३२, से १ त ८९५४, भे १ त ५२३५ नम्बरको टयाक्टर घटनास्थलबाट नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय पहलमानपुरका सब डिभिजन अधिकारी दीपक ज्ञवालीले बताए।
अनुगमनमा गएको टोलीले घटनास्थलमा नियन्त्रणमा लिएको जेसिबी र टयाक्टरको मुचुल्का बनाएको छ। घटनास्थलमा राखेको नम्बर प्लेट नभएको जेसिबी र केही टयाक्टरको संख्या भने मुचुल्कामा उल्लेख गरिएको छैन। लुकाएर राखेका टयाक्टर र जेसिबीको जिल्ला वन कार्यालय पहलमानपुर वन रक्षकहरूले हावा फुस्काइदिएका थिए।
अनुगमन समिति कर्णाली नदीमा पुग्दा ढुंगा बालुवा गिट्टी उत्खनन गरिरहेकाहरु गाडी छोडेर भागेको लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले बताइन्। 'अहिलेसम्म ५ पटक अनुगमनमा आइसक्यौँ। हामी आउँदा भागीहाल्छन् र फेरि आएर काम सुरु गर्छन्,' उपप्रमुख थापाले भनिन्।
कानुन विपरित कार्य गर्नेहरुलाई कानुनी रुपमै कारबाही गर्नुपर्ने र कारबाहीको प्रकृया अगाडि बढाउने उनले बताइन्। अनुगमनमा गएका जानकी गाँउपालिकाका अध्यक्ष प्रदीप चौधरीले अनुमति नलिएरै ढुंगा बालुवा गिट्टी उत्खनन् गर्नु गलत भएको बताए।
आइई प्रारम्भिक वातावरणीय परीक्षण भएको इजाजत प्राप्त ठाउँबाट मात्र सम्झौता अनुसारको काम गर्नुपर्ने उनले बताए।
जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्य बहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला वन कार्यालय पहलमानपुरका डिएफओ दीपक ज्ञवाली, लम्कीचुहा नगरपालिकाका उपप्रमुख थापा, जानकी गाउँपालिकाका अध्यक्ष चौधरी, उपाध्यक्ष उमा महतो, लम्कीचुहा नगरपालिकाका ३ का अध्यक्ष भक्त बहादुर चलाउने, शसस्त्र प्रहरी नायब उपरिक्षक अमर ऐर, प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशी, अनुसन्धान अधिकृत उपेन्द्र शाही र सब डिभिजन कार्यालय लम्कीका पूर्ण लक्ष्मी रावल रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४