काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि क्यान इन्फोटेक मेलामा विभिन्न नौला प्रविधि र प्रदर्शनीप्रति अवलोकनकर्ताको आकर्षण बढेको देखिन्छ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको ‘क्यान इन्फोटेक २०१९’ गत वर्षभन्दा भिन्न रहेको बताइएको छ। आयोजकका अनुसार दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासंघकी उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले जनाइन्।
उनका अनुसार मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ। ‘ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई-तीन ठाउँमा अध्ययन-अध्यापन गराउन सकिने लगायत प्रविधिको व्यावहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौं,’ उनले भनिन्, ‘त्यसकारण मेला विगतमा भन्दा भिन्न छ।’
मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन्। क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए। ‘यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘त्यस्तै इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ।’
बुधबारदेखि शुरु भएको मेलामा तीन दिनको अबधिमा डेढ लाखभन्दा बढीले अवलोकन गरेको उनको भनाइ छ। मेलाको तेस्रो दिन बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल, विद्यार्थी नेता नयन सिंह महर लगायत उच्च अधिकारी तथा नेताहरुले भ्रमण गरेको वताइएको छ।
रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको क्यानले जनाएको छ। मेला आइतबारसम्म चल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४