शुक्रबार, वैशाख ७, २०८१

किन प्रभावकारी भएन जनप्रतिनिधिको काम ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- स्थानीय सरकारको एक वर्षको अवधिको लेखाजोखा गर्दा जनप्रतिनिधिमा जिम्मेवारी धेरै र कार्यानुभव कम भएकाले प्रभावकारी रूपमा काम हुन नसकेको पाइएको छ । 

एक संस्थाले डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरा, कर्णाली प्रदेशको सुर्खेत र ५ नम्बर प्रदेशको बाँके र बर्दियामा गरेको अनुसन्धानले यस्तो देखाएको हो । अध्ययनको तेस्रो आवधिक प्रतिवेदन आइतबार धनगढीमा सार्वजनिक गरिएको छ ।

स्थानीय तहले वास्तविककताको गहिरो अध्ययन र विश्लेषण नै नगरी निर्णय गर्दा असफल हुनुपरेको निष्कर्ष अध्ययनको छ । कानुन निर्माणका लागि प्रक्रियाका दृष्टिकोणले आवश्यक चरण पूरा गरिए पनि अत्यावश्यक कानुनमात्र बनाइएको पाइएको छ । कानुनी अस्पष्टता नै पहिलो कारण हो भने त्यसपछि कानुनी ज्ञान तथा विज्ञको अभाव, बनेका कानुन संघ र प्रदेशका कानुनसँग बाझिएमा खारेज हुनाले र कर्मचारी अभाव पनि कारणमा छन् । 

शिक्षासँग सम्बन्धित कार्यविधि विवादमा परेका छन् । बर्दियाको राजापुर नगरपालिकामा विद्यालय व्यवस्थापन समितिबारे र कैलालीको घोडाघोडी नगरपालिकामा विद्यालय समायोजन सम्बन्धमा बनेको कार्यविधि विवादमा परेका केही नमुना हुन् । घोडाघोडीमा विद्यालय गाभ्ने विषयमा अदातमा रिट परेपछि निर्णय रोकिएको छ । 

जिल्लास्तरका संघीय निकायको अख्तियार स्थानीय एकाइहरुमा हस्तान्तरणमा ढिलासुस्ती तथा दक्ष जनशक्ति र संरचना अभावले सेवा प्रदान गर्ने क्षमातामा नकारात्मक प्रभाव परेको पाइएको छ । जनप्रतिनिधिहरुले आवश्यक प्रक्रिया पालना गरेको दाबी गरे पनि स्थानीय योजना निर्माण क्रममा वडा तथा टोलस्तरमा जनसहभागिताको कमी भएको पाइएको छ । नागरिक तथा नागरिक समाजका प्रतिनिधिले बजेट निर्धारण तथा स्थानीय योजना कार्यान्वयनमा पारदर्शिताको अभावबारे चिन्ता व्यक्त गरेको पाइएको छ । 

उपभोक्ता समितिमार्फत आयोजना कार्यान्वयन, विकास योजनाहरूको अनुगमन तथा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइको अभ्यासमा जबाफदेहिताको अभावबारे व्यापक गुनासा सुनिएका छन् । आफैं बजेट विनियोजन गर्ने, आफैं कार्यान्वयन गर्ने र आफैं अनुगमन गर्ने भएकाले सबैभन्दा शक्तिशाली स्थानीय तह नै मानिएको छ । विकास निर्माणका योजनाको अनुगमन नतिजा कार्यान्वयनको कुनै प्रावधान नहुँदा अनुगमन संयन्त्र भए पनि संयन्त्रको खासै प्रभावकारिता नदेखिएको पाइएको छ । सार्वजनिक सुनुवाइ असारमा हुने हुँदा किसान खेतीपातीमा व्यस्त भएर सहभागिता जनाउन नसक्ने, सार्वजनिक सुनुवाइ पनि निश्चित व्यक्ति र बन्द हलमा हुने गरेको पाइएको छ ।  

जनप्रतिनिधि र स्थायी कर्मचारीबीचमा राजनीतिक तथा व्यक्तिगत असन्तुष्टि, पालिका प्रमुख र उपप्रमुखबीच कार्य विभाजन र सेवासुविधाबारे असहमतिजस्ता विवादले गर्दा स्थानीय सरकारको कार्यसम्पादनमा प्रभाव परेको छ । अनिवार्य कोटामार्फत निर्वाचित महिला तथा दलित महिला सदस्यहरू अभैm पनि निर्णय प्रक्रियाबाट बहिष्करणमा परेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारहरूलाई विभिन्न करहरु संकलनको अधिकार दिएकाले घट्ना दर्ता, सिफारिस, सम्पत्ति, जग्गाजमिन, प्राकृतिक स्रोतसाधन उपयोग आदिमा पनि कर लगाएर जनताको ढाड सेक्ने काम भएको पाइएको छ । जताततै करको विरोध भएको र कर नीतिमा भएको विविधताले तहहरुको बीचमा द्वन्द्व उब्जाएको छ । सूचना अधिकारी तोकिएको तर सूचना नभएको, सूचनाको हक प्रयोग गरेर सूचना माग्दा गोलमेटल पाइने वा नपाइने, प्रक्रियागत झमेलामा अल्झाइदिने गरेको पाइयो । 

केन्द्र सरकारले ऐनकानुन निर्माणको अधिकार प्रदेश र स्थानीय सरकारलाई दिए पनि विज्ञहरु भने आफैंसँग राखेकाले विज्ञताको कमीका कारणले ऐननियम निर्माण गर्न समस्या भएको पाइएको छ । 

अत्यावश्यक ठानिएका प्रदेश लोकसेवा आयोग, प्रदेश प्रहरीजस्ता विषयमा कामकारबाही अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचीमा रहेका विषयमा विधेयक तर्जुमाका लागि संघीय कानुनबाट स्पष्ट आधार र मापदण्डको पर्खाइमा रहेको पाइएको छ ।

प्रदेश लोकसेवा आयोगको व्यवस्था नहुँदा कर्मचारी अभावको खाडल पुर्न नसकेको र त्यसले गर्दा तर्जुमा गरिएका बजेट, योजना नीति तथा कार्यक्रम कार्यान्वयन हुन समस्या भएको पाइएको छ । दुवै प्रदेशमा पहिलो चौमासिकमा झन्डै दुई प्रतिशत बजेट मात्र खर्च हुन सकेको र त्यसको कारण खर्च गर्ने संरचना, आवश्यक कानुन र कर्मचारी अभावलाई मानिएको छ । 

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पर्याप्त बजेट र अधिकार दिनै नमान्ने गरेको औंल्याए । स्थानीय तहले वास्तविककताको गहिरो अध्ययन र विश्लेषण नै नगरी निर्णय गर्दा असफल हुनुपरेको, जनप्रतिनिधिमा जिम्मेवारी धेरै र कार्यानुभव कम भएकाले काम गर्न समस्या भएको सहभागीले बताए ।

तीनवटै तहका सरकारका कामकारबाहीले जनतामा निराशा पैदा गरेको प्रतिवेदनले उल्लेख गरेको छ । अंकलाल चलाउने र रेबिका गरुङले गरेको अध्ययनले तीनवटै तहका सरकारलाई विभिन्न सुझाव पनि दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।