मोरङ- इटहरी बजारबाट महेन्द्र राजमार्ग हुँदै ११ किलोमिटरमा पुगिन्छ उत्तरी मोरङको विराटचोक बजार। त्यही बजारबाट २ किलोमिटर दक्षिण विराटनगर जाने भित्री सडकमा सोमबार ११ वर्षीया लक्ष्मी ढकाललाई टिपरले किचेर ज्यान गयो।
बिहान साढे ८ बजे टिपरले लक्ष्मीको टाउको छिन्नभिन्न हुने गरी किच्यो। थुप्रै स्थानीयले दुर्घटनाको तस्बिर अत्यन्तै बीभत्स भएको भन्दै हेर्न सकेनन्। ना ३ ख ३३५५ नम्बरको बालुवा बोकेर विराटनगर जाँदै गरेको टिपरले ढकाललाई किचेपछि स्थानीय आक्रोशित भए।
अनियन्त्रित र जथाभाबी कुदाएको भनेर आलोचित टिपरले तीन कक्षामा पढ्ने कलिली बालिकालाई आफ्नै साइटमा हुँदा किचेपछि स्थानीय अत्यन्तै आक्रोशित भए। उनीहरुले बालिका किच्ने टिपरसहित अन्य ६ वटा टिपर जलाए। वारुणयन्त्रलाई आगो निभाउनसमेत दिएनन्।
मंगलबार मध्याह्न १२ बजे लक्ष्मी ढकालको घरमा पुग्दा सन्नाटा थियो। लक्ष्मीको शवलाई उत्तरी मोरङकै मंगलबारे अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो। चिता बनाउन व्यस्त थिए लक्ष्मीका ठूलोबुबा लेखनाथ ढकाल र आफन्त। ठूलोबुबाको परिवार र आफन्तको सहयोगमा काम भइरहेका थियो।
लक्ष्मी घरकी एक्ली छोरी थिइन्। सुन्दरहरैंचा नगरपालिका १ कुमारगाउँ घर भएकी लक्ष्मीको परिवारमा पछिल्ला १० दिनमा एकएक गर्दै दुःख आए। कुमार गाउँमा घर भए पनि लक्ष्मी ठूलो बुबाको घर सुन्दरहरैंचा-९ को सिसौघारीमा बस्दै आएकी थिइन्।
५ माघ साँझ ७ बजे सलकपुरको चाँदनी पेट्रोल पम्प नजिक लक्ष्मीका बाबु चूडामणि ढकाल मोटरसाइकल दुर्घटनामा परे। दुर्घटनाले उनको खुट्टामा अत्यन्तै समस्या पर्यो। वैदेशिक रोजगारको तयारीका लागि भनेर वैशाखमै काठमाडौं हिँडेकी ढकालकी श्रीमती सबितालाई आफन्तले बोलाए। सामाखुसीका बसेकी उनी ६ गते आउने भनिन् तर आइनन्। लक्ष्मीका ठूलोबुबा लेखनाथ ढकालले निरन्तर फोन गरे। आउने आश्वासन आयो तर ढकाल आइनन्।
दुर्घटना भएको ठिक एक सातापछि माघ १२ गते शनिबार सविता ढकालले आफूले सम्बन्ध विच्छेद दिने बताइन्। ‘किन नआएको कुरा क्लियर गर भन्दा सविताले आफैं बुझ्नुस् भनिन’, लक्ष्मीका ठुलोबुबा लेखनाथ ढकालले भने, ‘डिभोर्स दिने भए देऊ न त आएर भन्दा नागरिकताको फोटोकपी पठाउँछु आफैं मिलाउनू भनिन्।’
यसरी १२ गते लक्ष्मीकी आमाले डिभोर्स दिइन्। त्यसको ठिक दुई दिनपछि लक्ष्मीलाई अनियन्त्रित गतिमा कुदेको टिपरले किचेर ज्यान लियो। ‘दिउँसो स्कुलको खाजाको लागि चटपटे बनाउन भनेर छिमेकी खनालको पसलमा जाँदै गर्दा टिपरले किचेर ज्यान लियो।’, घटना हुनासाथ देखेका ठूलोबुबा लेखनाथ ढकालले भने, ‘आफ्नै साइडमा हुँदा हातमा पैसा बोकेकै अवस्थामा टिपरले ज्यान लिएको हो।’
यो पनि,बालिकालाई किचेर ज्यान लिएपछि सात टिपरमा आगजनीआफ्नी छोरीलाई टिपरले किचेर ज्यान लिएको देखेपछि बाबु चूडामणी ढकाललाई बज्रपात पर्यो। खुट्टाको समस्याले विराटनगरको नोबेल अस्पताल लान तयारी भएकै बेला छोरीलाई टिपरले किचेपछि झनै तनावग्रस्त भएर ११ बजे एम्बुलेन्सबाट विराटनगर लगिएको दाजु लेखनाथ ढकालले बताए।
‘मेरो मोटरसाइकलमा लान खोजेको थिएँ, छोरीलाई टिपरले किचेपछि उसले आफूलाई थाम्न सकेन’, भावुक हुँदै दाजु लेखनाथ ढकालले भने, ‘अनि हामीले एम्बुलेन्सबाटै विराटनगरमा लग्यौँ। विराटनगरबाट पनि थप उपचारको लागी दिल्ली लग्नु भनेकाले झनै समस्या भएको ढकालले बताए।
लक्ष्मीलाई किचेको टिपर देख्नासाथ मोटरसाइकलमा हिँडेका युवाले पछ्याए। विराटचोकबाट दुई किलोमिटर दक्षिणमा बालिका किचेर भागेको टिपरका चालक थप १ किलोमिटर तल आएर गाडी रोकेर भागेको स्थानीय तारा निरौलाले बताए। निरौलाका अनुसार चाकलले गाडीलाई रूखमा ठोक्काएर भागेको थियो।
टिपर चालकले कानमा हेडफोन लाएर गीत सुन्दै हाँकिरहेको अवस्थामा दुर्घटनामा परेको सहचालकले बताएको निरौलाले जानकारी दिए। ‘ड्राइभर बिहानको हुस्सु छिचोल्दै आफैं बच्न चोर चोर भनेर बारीतिर भाग्यो’, निरौलाले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४