धादिङ- ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ ।
दैवी प्रकोप उद्धार समितिको बैठक बसेर संयुक्तरुपमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमार्फत उद्धार गर्ने निर्णय गरिएकोे थियो । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ । हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालयमा हेलिकोप्टरसहित आवश्यक उपकरण उपलब्ध गराउन माग गरिएको छ ।
गृहमन्त्रालयको आदेश पाएपछि सोमबार बिहानै घटनास्थल पुगेर उद्धार शुरु गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । उनुभयो । ओडारमा २०० भेडा र ५० बाख्रा पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले संयुक्त रुपमा उद्धार गर्ने तयारी गरिएको हो ।
दुई दिन अघिदेखि हिउँ परेर केही उघ्रिएकाले भेडाबाख्रा लिएर जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएका हुनसक्ने बताइएको छ ।
पहिरोले पुरिएपछि केही भेडा पहिरोमा चेपिएर मरेको देखिए पनि अन्य भेडा र मानिस कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएको र उनीहरु जीवितै हुनसक्ने भएकाले सुरक्षित उद्धार गरिनुपर्ने प्रदेशसभा सदस्य जगत सिंखडाले घटनास्थलबाट सदरमुकाम फर्केपछि बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४