काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। बैठकले महासमिति बैठकबाट आएका सुझावहरुलाई समेटेर विधान पारित गर्ने जनाइएको छ।
सरकारले संसद्मा जवरजस्ती चिकित्सा शिक्षा विधेयक पेस गरेको आरोप लगाउँदै आएको कांग्रेसले बैंठकमा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम पनि तय गर्ने बताइएको छ। संसद्बाट विधेयक पारित भएपछि कांग्रेसले सडक र सदनमा आन्दोलन गर्ने जनाइसकेको छ। कांग्रेस सडकमा भातृसँगठन मार्फत आन्दोलन चर्काउने रणनीतिमा छ।
सरकारले कांग्रेसका तत्कालीन सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल विघटन गर्ने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ। सरकारले डा गोविन्द केसीसँग गरेको सहमती लत्याएर चिकित्सा शिक्षा विधेयक पास भएको कांग्रेसको आरोप छ। साथै बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशनका विषयमा पनि छलफल हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४