काठमाडौं- नेपालको भुक्तानी सेवा प्रदायक इसेवा फोन पे प्रालि दशौँ वर्षमा प्रवेश गरेको छ। २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवा हाल मुलुकभर विस्तार भएको कम्पनीको दावी छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको कम्पनीको भनाइ छ।
दश वर्षको अवधिमा इसेवाका देशभर ४५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। इसेवाले सेवाग्रहीलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति गराएको जनाएको छ।
कम्पनीको अनुसार इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब १० लाख पुगिसकेको छ। देशभर रहेका जोन, पोइन्ट तथा मोबाइल बैंकिङमार्फत ७५ लाख बढीले इसेवाका सेवा पाइरहेकाछन्।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीको भनाइ छ।
‘मोबाइललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौँ,’ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘मोबाइल वित्तीय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले शुरूवात गरेका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४