एजेन्सी- बुधबार राति भएको स्पेनिस कोपा डेल रे फुटबलको पहिलो क्वाटरफाईनल लिगमा बार्सिलोना सेभियासँग पराजित भएको छ । नियमीत कप्तान लियोनल मेस्सी विना मैदान उत्रेको बार्सिलोना घरेलु टोलीसँग २-० ले पराजित भएको हो ।
बर्सिलोना पराजित गर्नका लागि सेभियाका पाब्लो साराविया र विसाम विन यडरले एक एक गोल गरे । यस खेलमा बार्सिलोना आफ्ना मुख्य तीन खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिप्पे कौटिन्होविना नै मैदान उत्रिएको थियो ।
खेल अवधिभर बार्सिलोनाले खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभियाले दुई गोल गरेको थियो ।
खेलको ५८औं मिनेटमा पाब्लोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६औं मिनेटमा विसाम विनले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए ।
बेन्चमा रहेका लुइस स्वारेज र फिलिप्पे कौटिन्होलाई दोस्रो हाफमा मैदानमा पठाएपनि टोलीको हार टार्न सकेनन् । जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ ।
दोस्रो लेगमा बार्सिलोनालाई रोक्न सके सेभिया अन्तिम चारमा प्रवेश गर्नेछ । बार्सिलोनालाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ । दोस्रो लेग अर्काे साता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४