काठमाडौं- आईएमई गु्रपका सञ्चालक चन्द्र ढकालले विदेशमा आफ्नो कुनै पनि कम्पनी नभएको दाबी गरेका छन्।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा आफ्नो पनि नाम जोडिएकोले गम्भीर ध्यानाकर्षण भएका उल्लेख गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म (आईसिआईजे) सँग उपलब्ध प्राडाइज पेपर, पानामा पेपर र स्वीस लिकमाआधारित भएको हाम्रो बुझाई छ। प्राडाइज पेपर, पानामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहिकतैबाट जोडिएको छैन्।’
आफ्नो कुनै पनि स्वीस बैंकमा खाता नभएको, कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको र कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको दाबी गरिएको छ।
कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामी माथि भ्रम सिर्जना गरि, हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा आफ्नो गम्भीर आपत्ति भएको विज्ञप्तीमा उल्लेख छ।
नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा आफूले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु गरेको समेत जनाइएको छ। नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४