जनकपुरधाम- सडक फराकिलो गर्न माग राख्दै स्थानीय बासिन्दाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घरअगाडि चक्काजाम गरेका छन्। जानकी मन्दिर–रामानन्द चोक सडक खण्ड साँघुरो भएको भन्दै स्थानीयवासीले रामानन्द चोकस्थित मेयर साहको घरअगाडि चक्काजाम गरेका हुन्।
जनकपुर अञ्चल अस्पताल तथा अधिकांश डाक्टरहरुको निजी क्लिनिकसमेत उक्त सडक खण्डमा रहेकाले फराकिलो गर्न माग राख्दै स्थानीयले बुधबार सडक अवरुद्ध पारेर आधा घन्टा प्रदर्शन गरेका छन्।
सवारीसाधनको चापअनुसार सडक कम फराकिलो हुँदा आवतजावत गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ । रामानन्द चोक–जानकी मन्दिर सडक खण्ड अति व्यस्त रहने गरेकाले सवारीसाधन र सर्वसाधारणको चापले पटकपटक जाम हुँदै आएको छ।
अहिले ४२ फिट चौडाइ कायम गरी निर्माण भइरहेको सडकलाई न्यूनतम ५२ फिट फराकिलो बनाउनुपर्ने उनीहरुले माग राखेका छन्। यसैगरी सडकमा उड्ने गरेको धुलोका कारण स्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै पानी छड्कन्समेत माग गरेका छन्।
बिमारी बोक्ने एम्बुलेन्सका साथै बाहिरबाट आउने पर्यटकसमेत सोहि सडक प्रयोग गरेर जानकी मन्दिरसम्म पुग्ने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४