जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका कार्यालय भित्र त्रिपक्षीय भिडन्तको अवस्था उत्पन्न भएको छ। मेयरको कार्यशैली विरुद्ध वडा अध्यक्ष र वडा सदस्यहरु वडा उत्रिए पछि उपमहानगरपालिका कार्यालयमा त्रिपक्षीय भिडन्तको अवस्था उत्पन्न भएको हो। निर्वाचित जनप्रतिनिधिहरु नै एक अर्का विरुद्ध उत्रिएपछि जनकपुर नगर क्षेत्रभित्र विकास निर्माण प्रभावित हुने आशंका उब्जिएको छ।
जनकपुरका मेयर लालकिशोर साहले अधिकार कटौती गरेको भन्दै उपमहानगरपालिकाका २५ मध्ये १६ जना वडा ध्यक्षहरुले १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको एक दिन नबित्दै वडा अध्यक्षहरुले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए।
उपमहानगरपालिकाका वडा अध्यक्षहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आफूहरुलाई अधिकार प्रत्योजन नगरेको भन्दै वडा सदस्यहरुले ९ बुँदे माग अघि सारेका छन्।
उनीहरुले बुझाएको ज्ञापन पत्रमा विकास योजना बजेट, नीति र कार्यक्रम निर्धारण गर्दा वडा समितिको बैठकबाट पारित गराएरमात्र उपमहानगरपालिकामा पेश गर्नुपर्ने लगायतका माग राखेका छन्। यसैगरी वडामा भएका कामको गुणस्तरीयता परीक्षण गरी बिल भुक्तानी हुनुपर्ने, वडा सदस्यहरुको संयोजकत्वमा वडा समिति गठन हुनुपर्ने उनीहरुले माग गरेका छन्।
यसअघि मेयर साहको काम कारबाहीबाट असन्तुष्ट १६ जना वडा अध्यक्षहरुले संवैधानिक व्यवस्था अनुसार अधिकार प्रत्यायोजनको माग राख्दै १६ बुँदे ज्ञापन पत्र उपमहानगरपालिकामा बुझाएका थिए। ज्ञापन पत्र बुझाउने १६ जना वडाअध्यक्ष मध्ये ९ जना राजपा, ५ जना नेपाली कांग्रेस, १ जना तत्कालीन एमाले र १ जना स्वतन्त्रबाट निर्वाचित रहेका छन्। राजपाबाट मेयमा निर्वाचित साहविरुद्ध राजपाकै वडाअध्यक्षहरु उत्रिएको घटनालाई अर्थपूर्ण रुपमा लिइएको छ।
अधिकार प्रत्यायोजन गर्न माग अगाडी सारेपछि आफूहरु विरुद्ध नगरप्रमुखले वडा सदस्यहरुलाई उचालेको वडा अध्यक्षहरुले आरोप लगाएका छन्। वडा अध्यक्षहरुलाई अधिकार सम्पन्न हुन नदिन नगर प्रमुखले वडा सदस्यहरुलाई आफूहरु विरुद्ध उचालेको जनकपुरधाम उपमहानगरपालिका–४ का वडा अध्यक्ष सुदर्शन सिंहले दाबी गरेका छन्। वडा सदस्यहरुले उठाएका माग जायज रहेपनि वडा अध्यक्षहरुलाई स्वायत्त नबनाइए भविष्यमा द्वन्द्वको अवस्था उत्पन्न हुने सिंहले बताए। नगर प्रमुखले वडा सदस्यहरुलाई उचालेर द्वन्द्वको अवस्था सिर्जन गर्न खोजेको उनको आरोप छ।
यसैगरी वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहले कानुनमा उल्लेख भएअनुसार वडा सदस्यहरुले सबै अधिकार पाउँदै आइरहेपनि मेयरले षडयन्त्रपूर्वक वडा सदस्यहरुलाई आफूहरुविरुद्ध उचाल्न लगाएको दाबी गरेका छन्। मेयरको उकसाहटमा वडा सदस्यहरु वडा अध्यक्षविरुद्ध ज्ञापन पत्र बुझाएको उनको भनाइ छ। नगर प्रमुखकको कार्यशैली विरुद्ध वडा अध्यक्षहरु उतरेपछि आफूहरुलाई पाखा लगाउन वडा सदस्यहरुलाई उचालेको उनले बताए। यसरी त्रिपक्षीय द्वन्द्व चलिरहे विकास निर्माण कार्य प्रभावित हुने निश्चित रहेको वडा अध्यक्ष साहले बताए।
तर, अहिले उत्पन्न द्वन्द्वले उपमहानगरपालिका भित्र देखिएको समस्या अन्त्य हुने वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको बुझाइ छ। ‘वडा अध्यक्षहरु मेयरको कामकारबाहीबाट असन्तुष्ट देखिएका छन्,’ वडा अध्यक्ष जानकीरामले भने, ‘अहिले उत्पन्न विवादबाट कुनै निचोड निस्कने निश्चित छ। आफूहरुले यस विरोधलाई सकारात्मक रुपमा लिएका छौं।’ वडा सदस्यहरुको अधिकार कटौती गरिएको कुरामा कुनै सत्यता नहरेको उनको दाबी छ। अहिले उत्पन्न द्वन्द्वबाट विकास निर्माणमा कुनै प्रभाव नपरेपनि वडा सदस्यहरुबीच देखिएको गुनासो सामाधन हुने उनले विश्वास व्यक्त गरे।
मेयर, वडा अध्यक्ष र वडासदस्यहरु एक अर्काविरुद्ध उत्रिएपछि उपमहानगरपालिकाको विकास निर्माण कार्य प्रभावित हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४