शनिबार, वैशाख ८, २०८१

रेशम चौधरी अपराधी भए चुनाव लड्न किन दिएको ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
राजेन्द्र महतो मधेस आन्दोलनमा मात्र होइन, राष्ट्रिय आन्दोलनमा समेत स्थापित नाम हो। जनआन्दोलन २०६२/०६३ मा आन्दोलनरत सात दलमध्येको एक घटकमा थिए महतो। मधेस आन्दोलनका नेता गजेन्द्रनारायण सिंहलाई आदर्श व्यक्तित्व मान्ने महतो अहिले ६ मधेस केन्दित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीमा अध्यक्ष मण्डलका संयोजक छन् । कुनै बेला वर्तमान प्रधानमन्त्री केपी ओलीका आलोचक मानिएका महतो अहिले भने ओलीसँग नरम देखिएका छन्। संविधान संशोधनको माग अगाडि सारेको राजपा अध्यक्ष मण्डलका संयोजक महतोसँग नेपाल समयका लागि बालकुमार नेपाल र मित्र भण्डारीले गरेको कुराकानी :

राजपा अहिले के गर्दैछ ?

अहिले हामी ६ पार्टी एक भएर बनेको राजपाको महाधिवेशनको तयारीमा जुटेका छौं ।  पार्टी अहिले चक्रीय प्रणालीमा संयोजक रहेर सञ्चालन भइरहेको छ । ६ पार्टी एक हँुदा हामीले अपनाएको यो प्रणालीले सधैं पार्टी अगाडि बढ्न सक्तैन । त्यसैले हामीले आगामी वैशाख ७, ८ र ९ गते काठमाडौंमा महाधिवेशन मिति तय गरेका छौं । त्यसपछि पार्टी चुस्त र एक भएर अगाडि बढ्नेछ ।

तीनतीन महिनाको चक्रीय प्रणालीबाट पार्टी अगाडि बढाउन गाह्रो हुँदैन ?

काम गर्दा कहिलेकाहीं व्यावहारिक कठिनाइ आएको छ । तर पार्टी एकता गर्दा हामीले चक्रीय सूत्र बनाएका थियौं । ६ पार्टीका नेताहरूको अध्यक्ष मण्डल बनाउने र संयोजक जो भए पनि निर्णय सामूहिक अध्यक्षबाट गर्ने निर्णय भएकाले त्यतिसारो असर र अप्ठ्यारो परेको छैन । अबको चार महिना यही चक्रीय प्रणालीबाट चले पनि अधिवेशनपछि पार्टीमा यसको अन्त्य हुन्छ ।

चक्रीय प्रणालीमा नेतृत्व परिवर्तन हुँदा किन विवाद हुन्छ त ?

अध्यक्ष मण्डलमा त्यस्तो विवाद छैन । तत्कालीन संयोजक महन्थ ठाकुरको संयोजकत्वबाटै त्यस्तो प्रस्ताव आएको हो र त्यसलाई हामी सबैले स्वीकार गरेका हौं । तर बाहिरबाट केही साथीहरूले फरक मत राखेका हुन् । लोकतन्त्रमा परिवर्तनको चाहना नगर्नेहरूले आफ्ना विचार राखे । विचार राख्दैमा केही फरक पर्दैन ।  



मधेसका दुई पार्टी राजपा र फोरम एउटै एजेन्डा लिएर चुनावमा गए । एजेन्डा कार्यान्वयन गर्नुपर्ने बेलामा दुई पार्टी किन दुईतिर ?

तपाईंले ठिक कुरा उठाउनुभयो । सात पार्टी मिलेर आन्दोलन गर्‍यौं । हामीले ६ पार्टी मिलाएर राजपा बनायौं । एउटा पार्टी फोरम अहिले बाहिर छ । हामी एउटै एजेन्डा लिएर आन्दोलनमा गयौं । आन्दोलनमा हाम्रा कैयौं कार्यकर्ता सहिद भए । हाम्रो आन्दोलनको उपलब्धिका रूपमा दुई नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार छ । संविधान संशोधनलगायतका सबाल संघीय सरकारसँग थिए । अहिले हामीले संयुक्त रूपमा संघीय सरकारमाथि दबाब दिनुपथ्र्याे । तर त्यसो हुन सकेन । फोरम सरकारमा गयो । संविधान संशोधनको विषय अगाडि बढ्न नसकेका बेला उहाँहरू किन र कुन प्रयोजनका लागि सरकारमा जानुभयो त्यसको जबाफ फोरमले दिनुपर्छ ।

त्यसो भए फोरमले संविधान संशोधनको मुद्दा छोड्यो भन्न खोज्नुभएको हो ?

म त्यो पनि भन्दिनँ । उहाँहरूले आइतबार मात्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभयो भन्ने सुनेको छु । त्यसमा संविधान संशाधनको विषय समेटिएको समाचार आएको छ । विडम्बना !  सरकार बनेको १० महिना भयो तर संविधान संशोधनलागायत मधेसका जनताले उठाएको मुद्दा अहिलेसम्म सम्बोधन हुन सकेको छैन । आन्दोलनका एजेन्डा सरकारले गम्भीर रूपमा लिएर समाधान गर्छ भन्ने हाम्रो अपेक्षा थियो त्यो हुन सकेको छैन ।

फोरमले सरकारमा गएर तपाईंहरूलाई धोका दिएको हो त ? 

राजनीतिमा सरकारमा जानु र बाहिर बस्नु सामान्य कुरा हो । तर एउटै एजेन्डा लिएर लडेको पार्टी उद्देश्य पूरा नहँुदासम्म सँगै लडेको भए राम्रो हुन्थ्यो । तर त्यसो हुन सकेन । उहाँहरूले संविधान दिवस मनाउनुभयो । हामीले त्यो दिन संविधानको विरोध गर्‍यौं । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो बीचमा केही न केही गडबडी छ । यस्तो अवस्थामा उहाहरूँग सहकार्य गर्न समस्या छ ।
 
यो देशमा कांग्रेसले सशस्त्र आन्दोलन गरेको होइन ? माओवादी र एमालेले सशस्त्र आन्दोलन गरेका होइनन् ? माओवादीले १७ हजार मान्छे मार्‍यो । सबै आन्दोलनमा दुर्भाग्यपूर्ण रुपमा सर्वसाधारण र प्रहरी दुवै मारिएका छन् । तर उहाँहरूमाथि मुद्दा त लागेन ।

तपाईंहरूले सरकारलाई समर्थन गर्नुभएको छ तर तपाईंको दलका कार्यकर्तामाथिको मुद्दा फुकुवा भएको छैन । यो घटनाले मधेस आन्दोलनमै प्रश्न उठाउँदैन ?

सरकारलाई हामीले १० महिनासम्म सित्तैंमा समर्थन दिएका हैनौं । प्रधानमन्त्री ओलीले संसद्को रोस्टमबाट हामीले उठाएका एजेन्डा कार्यान्वयन गर्ने वचन दिनुभएको थियो । त्यसकै आधारमा हामीले सरकारलाई समर्थन गरेका हौं ।

हामीले उठाएको विषयमध्ये संविधान संशोधन, कैलालीबाट संघीय सांसद रेशम चौधरीको शपथ, मुद्दा फिर्ता, बन्दी रिहाइका माग हामीले राखेका थियौं । प्रधानमन्त्रीले पनि हामीले उठाएका मुद्दाको समाधान गर्ने वचन दिएपछि हामीले सरकारलाई समर्थन गर्ने निर्णय गरेका हौं । हामीले उठाएका विषय सम्बोधन गर्न प्रधानमन्त्रीलाई पटकपटक दबाब दियौं र अब हाम्रो धैर्यको बाँध टुट्यो भनेर हामीले सात दिनको अल्टिमेटम दिएका थियौं । उहाँले आठौं दिनमा रेशम चौधरीलाई शपथ खुवाउनुभयो । जनताको मतबाट निर्वाचित सांसदले शपथ खान पाउनु उसको अधिकार थियो । प्रमाणपत्र पाउनु उसको अधिकार थियो । 

टीकापुर हत्याकाण्डको मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सांसद पदमा गराएको शपथले कानुनकै उपहास गर्‍यो भन्ने चौतर्फी आवाज उठेको छ । उनको मुद्दा टुंगोमा पुर्‍याएर शपथ खुवाएको भए त हुन्थ्यो नि, यसमा राजपा चुक्यो होइन ?

तपाईंले उठाएको बाटो पनि ठिक हो । राज्यले त्यो बाटो पनि अख्तियार गर्न सक्थ्यो । म भन्न चाहन्छु यो मुलुकमा कुनै मुद्दा लागेको र प्रमाणित नभएको रेशम चौधरीमाथि प्रहरीले मुद्दा लगाइदिएको छ उनी योजनाकार भनेर । प्रहरीले मुद्दा लगाउँदैमा अपराधी हुन्छ ? त्यसो भए रेशम चौधरीलाई चुनाव लड्न किन दिएको ? देशबाहिर भएको व्यक्तिको वारिसनामाबाट नोमिनेसन गर्ने र जनताले अत्यधिक मतबाट जितेको व्यक्तिले शपथ पाउने कि नपाउने ? चुनाव लड्ने इजाजत दिएपछि जनताको अभिमतको कदर र सम्मान राज्यले गर्नुपर्छ । सरकारले उनको शपथ गरायो ।

तपाईंले भनेको बाटो अपनाएर सरकारले उनको मुद्दा टुंग्याएको भए पनि हुन्थ्यो । आन्दोलनकारीमाथि झुठा मुद्दा लगाइँदैन । यो देशमा कांग्रेसले सशस्त्र आन्दोलन गरेको होइन ? माओवादी र एमालेले सशस्त्र आन्दोलन गरेका होइनन् ? माओवादीले १७ हजार मान्छे मार्‍यो । सबै आन्दोलनमा दुर्भाग्यपूर्ण रुपमा सर्वसाधारण र प्रहरी दुवै मारिएका छन् । तर उहाँहरूमाथि मुद्दा त लागेन । आफ्नो पहिचान र अधिकारका लागि थरुहट आन्दोलनमा लागेका व्यक्तिमाथि मुद्दा लगाइदिने? जनाताले निर्वाचित गरे पनि जेलमा कोचेर राखिदिने ? आजसम्म भएको आन्दोलनमा कसैलाई मुद्दा नलाग्ने, कोही अपराधी नहुने तर त्यो थारूको बच्चा अपराधी हुने ? 



तपाईंहरूमाथि रेशम चौधरीलाई हैन, अपराध र अपराधीलाई शपथ खुवाएर राजनीतिमा अपराध संस्थागत गर्नुभयो भन्ने गम्भीर आरोप छ नि ?

यो मुलुकमा सुरक्षाकर्मी मार्नु अपराध हो भने त्यस्ता अपराधी प्रधानमन्त्री पनि भए त । यो कुरा कसले उठायो ? तपाईंको मिडियाले वा अरूले ? मैले पटकपटक भनिसकेको छु के थरूहट आन्दोलन पहिलो आन्दोलन हो ? मधेस आन्दोलन पहिलो हो ? चाहे कम्युनिस्ट चाहे कांग्रेस सबैले आन्दोलन गरेका होइनन् । सबैका आन्दोलनमा सुरक्षाकर्मी आन्दोलनकारी मारिँदा उहाँहरू क्रान्तिकारी हुने अनि थरूहट आन्दोलन गर्ने चौधरी अपराधी हुने ? यस्तो विभेद पनि हुन्छ । यस्ता दरिद्र मानसिकतका मानिसमाथि मलाई दया लाग्छ ।

यो मुलुकमा अपराधीलाई प्रधानमन्त्री बनाउने कोको हो ? आउनुपर्‍यो नि अगाडि । आन्दोलनमा मारिएका प्रति हामीलाई दुःख लागेको छ । टीकापुरमा सानो बालक मारिँदा हामीलाई दुःख लागेको छ । मधेस आन्दोलनमा चार वर्षीय बालक प्रहरीको गोलीबाट मारिए । आन्दोलनमा भएको क्षतिको दोष एक जनाको टाउकोमा हाल्न मिल्छ ? यो नश्लबादी चिन्तन हो । सबैलाई एक ढंगले व्यवहार गरौं अपराधी हो भने सबैलाई त्यही हिसाबले व्यवहार गरौं । नेपालमा मात्र हैन संसारमा आन्दोलनमा सुरक्षाकर्मी र आन्दोलनकारी मारिएका छन् । त्यसलाई अपराधसँग जोड्नु गलत हो ।
 
हामीले मधेसका जनतासँग जुन बाचा गरेका थियौं, त्यसमा हामी अहिले पनि प्रतिबद्ध छौं । आन्दोलन गर्दा जनता र आन्दोलनकारीलाई नै सास्ती हुन्छ । त्यसैले आन्दोलन गर्न नपरोस् भन्नेमा हामी सजग छौं । 

सरकारलाई दिएको समर्थन अब के हुन्छ ?

अब सरकार हाम्रा माग पूरा गर्न सक्रिय छ भन्ने आशा जगाएको छ । हाम्रा अन्य मागमा पनि सरकार जिम्मेवार र लचिलो हुने विश्वास छ । त्यसैले हामी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने पक्षमा छैनौं । 

अनि बेलाबेलामा किन समर्थन फिर्ता लिने चेतावनी दिनुहुन्छ त ?

सरकारले हामीलाई जस्तो व्यवहार गर्छ हामी पनि त्यस्तै व्यवहार गर्छौं । सरकारले अहिले हामीमाथि राम्रो व्यवहार देखाएकाले तत्काल सरकारविरुद्ध जाने हाम्रो कुनै सोच बनेको छैन ।

त्यसो भए सरकारप्रति तपाईंहरू सन्तुष्ट हुनुहुन्छ त ?

समग्रमा यो सरकारको काम गराइप्रति हामी सन्तुष्ट छैनौं । जनता सरकारप्रति सन्तुष्ट छैनन् । जनाताको काम सकारात्मक रुपमा गएको छैन । केही दिनअघि प्रधानमन्त्रीले संसद्मा एक घन्टा भाषण गर्नुभयो । यो पनि गरें त्यो पनि गरें भनेर उहाँले मात्र भनेर त भएन नि । उहाँले गरेको काम त जनताले भन्नुपर्‍यो नि । जनताले अनुभूति गर्ने गरी कुनै काम भएका छैनन् । सरकारका लागि यो ठूलो चुनौती हो । 



तपाईं पटकपटक सरकारमा बस्नु भएको छ । यो सरकारलाई कसैले काम गर्न नदिएको कि आफैं गर्न नसकेको हो ?

यो दुई तिहाइको सरकार हो । अल्पमतको वा मिलीजुली सरकार भएको भए पार्टनरले काम गर्न दिएन, यसो भयो उसो भयो भन्न मिल्थ्यो । हामीसँग बहुमत नै मिलेन, ताकतै पुगेन भन्ने अधिकार यो सरकारलाई छैन । यस्तो सरकारले कसैले काम गर्न दिएन भन्न पाउँछ ? 

आन्दोलन गर्नुपर्दा तपाईंहरू तराई जानुहुन्छ र आन्दोलन पनि गर्नुहुन्छ । कार्यकर्ता आन्दोलनमा घाइते हुन्छन्, मारिन्छन् र उनीहरूमाथि विभिन्न मुद्दा लाग्छन् तर तपाईहरू केन्द्रमा आएपछि त्यो बिर्सिनुहुन्छ । कारण के हो ?

मसहित राजपा अध्यक्ष मण्डल प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटर गएका थियौं । हामीले गम्भीरताका साथ संविधान संशोधनलगायत मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन उहाँलाई ध्यानाकर्षण गर्‍यौं । हामीले प्रधानमन्त्रीलाई भन्याैं, हाम्रो धैर्यको बाँध टुट्न लाग्यौ । अब हाम्रो बाटो चेन्ज हुन्छ है भन्याैं । यो कुरा मैले संसद्बाट पनि उठाएँ । त्यसपछि सरकारले चौधरीको शपथ गरायो । हामीले मधेसका जनतासँग गरेको जुन बाचा गरेका थियौं, त्यसमा हामी अहिले पनि प्रतिबद्ध छौं । आन्दोलन गर्दा जनता र आन्दोलनकारीलाई नै सास्ती हुन्छ । त्यसैले आन्दोलन गर्न नपरोस् भन्नेमा हामी सजग छौं । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।